News 24 Television
जेनजीसँगै हातेमालो गर्दै रवि, भदौ २३-२४ को आन्दोलनलाई समर्थन !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कारागारबाट रिहा भएपछि राजनीतिक सक्रियता बढाएका छन् । रविले शुक्रबार रिहा भएलगत्तै शनिबार चितवनमा सम्बोधन गरे । यसपछि त्यसैदिन रवि काठमाडौं आएर जेनजी आन्दोलनका घाइते र शहित परिवारका आफन्तहरुसँग भेट गरेका छन् । यस्तै आईतबारबाट पार्टीको आधिकारिक जिम्मेवारीमा आएका रविले वृहत्त राजनीतिक सक्रियता बढाउने संकेत गरेका छन् । 

जेनजी आन्दोलनलाई पूरापूर समर्थन

रास्वपा सभापति रवि लामिछानेले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई स्पष्ट रुपमै समर्थन गर्ने संकेत गरेका छन् । कारागारबाट रिहा भएपछिको उनको क्रियाकलाप र गतिविधिले जेनजी आन्दोलनलाई पूरापुर समर्थन गर्ने देखिन्छ । यस्तैमा उलने जेजनीहरुसँग सहकार्यको संकेतसमेत गरेका छन् । हुनतः रवि रिहा हुनुमा जेनजी आन्दोलन र जेनजीहरुको माग पनि सहयोगी हिस्सा बनेको छ । रविमाथि अघिल्लो सरकारले प्रतिशोध साँधेको र अनावश्यक मुद्धाको उल्झन ल्याएको भन्ने आरोप छ । 

यस्तैमा चलेको जेनजी आन्दोलनले उक्त सरकार ढालेको छ भने रवि पनि कारागारमुक्त भएका छन् । यसैपछि रविले पनि जेनजी आन्दोनको मागमा समर्थन र उनीहरुसँगको सहयकार्यका लागि तयार भएको उद्घोष गरेका हुन् । यस्तैमा रविले जेनजी आन्दोलनको कुनै पनि मागमा कमी नगर्न सरकारलाई चेतावनी दिएका छन् । 

रविले पछिल्लो समय स्थापित नयाँ दलहरुसँगको सहयर्काका लागि पनि तयार भएको संकेत गरिरहेको छ । जेनजी आन्दोलनपछि अस्थित्वमा आएको नयाँ राजनीतिक दल उज्यालो नेपाल पार्टी तथा काठमाडौं महानगरका मेयर बालेन शाह पक्षसँग पनि एकता र सहकार्यको संभावना रहकेो उनले संकेत गरेका हुन् । 

संसद पुनर्स्थापनाको मागमा आपत्ति

अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन गराउने म्याण्डेट पाएपनि मुख्य राजनीतिक दलहरु नेपाली काँग्रेस तथा नेकपा एमाले भने संसद पुनस्र्थापनको मागमा दृढ छन् । सरकारले निर्वाचनको आवश्यक तयारी थालिसकेको अवस्थामा पनि उनीहरुले संसद पुनस्र्थापनको मुद्धा नै बोकेर सर्वोच्चमा निवेदन दिएका छन् भने, उनीहरु पुनस्र्थापनाकै लागि बहुमत संसदको हस्ताक्षर बुझाउने तयारीमा समेत देखिन्छन् । तर काँग्रेस एमालेको यो तयारीका विषयमा भने रास्वपा सभापति रविले विमत्ति राखेका छन् । उनी संसद पुनस्र्थापनाका लागि विपक्षमा उभिँदै निर्वाचनको विकल्प नरहेको जिकिर गरिरहेका छन् । 

प्रधानमन्त्रीसँग भेट र चुनावी दबाव 

रविले निर्वाचनको विकल्प नरहेको भनिरहेको बेला उनले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेटवार्ता गरेका छन् । सभापति रवि लामिछाने तथा रास्वपाको केन्द्रीय नेताहरुले प्रधानमन्त्रीसँग भेट गरेर निर्वाचन निर्धारित मितिमै हुनुपर्ने तथा भयरहित वातावराणमा गराउने सम्बन्धमा सरकारको ध्यानकर्षण गराएका  छन् । पुराना दलहरुले निर्वाचनालाई अहिलेको अवस्थामा अपरिहार्यता मानिनरहेको अवस्थामा रविले भने कारागारबाट रिहाइलगत्तै प्रधानमन्त्रीलाई भेटेर दिएको दवाबलाई अर्को महत्वपूर्ण पक्षका रुपमा लिइएको छ । यसले निर्वाचनको तयारीका लागि सरकारलाई थप बल मिल्ने निश्चित छ । 

पूराना राजनीतिक दलहरुप्रति बढेको वितृष्णा र आक्रोशलाई रास्वपा र रविको यो सक्रियताले जनताको निरासालाई केही हदसम्म भएपनि निर्मूलन गर्ने संभावना देखिन्छ । रविको सहकारी मुद्धा, हिरासत बसाई र जेनजी आन्दोलनपछिको राजनीतिक सक्रियतापछि उनको राजनीतक भविष्य कस्तो रहला ? यो भने प्रश्नकै विषय बनेको छ । यद्यपि उनको यो सक्रियता र अभिव्यक्तिलाई भने आमजनताले ध्यानपूर्वक हेरिरहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update