News 24 Television
चुनाव लड्ने कुलमानको प्रष्ट सन्देश, भन्छन्– नयाँ शक्तिहरूलाई मिलाएर लैजान्छौँ

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन गराउने प्रमुख कार्यादेशसहित बनेको अन्तरिम सरकारमा सक्रियता र चर्चाका पर्याय बनेका मन्त्री कुलमान घिसिङ यतिखेर राजनीतिक कारणले समेत चर्चामा छन् । उनले आफू मन्त्री रहेकै बेलामा ‘उज्यालो नेपाल’ नामक पार्टी दर्ता गराएर आगामी निर्वाचनको तयारी समेत राम्रै गरिरहेका छन् । गैरदलीय नागरिक सरकारमा मन्त्री बनेर पार्टीगत राजनीतिक गतिविधिमा सक्रिय हुन थालेको भन्दै कुलमानको आलोचना समेत हुने गरेको छ । ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासजस्ता तीन मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री घिसिङले बुधबार आफ्नो १०० दिने कार्यकालका उपलब्धि सार्वजनिक गरे । एक्सन लिनमा चर्चित मन्त्री घिसिङ मिडिया प्रचारमा समेत अगाडि रहेको भन्दै टीका–टिप्पणी हुने गरेको छ । उनले मन्त्री बनेको १०० दिनमा तीनवटै मन्त्रालयमा गरी १०१ वटा काम गरेको पत्रकार सम्मेलनमा दाबी गरेका छन् । 

मन्त्री घिसिङले सुशासन र पारदर्शीताको मामिलामा कतै कम्परमाइज नगरेको बताउँदै आगामी दिनमा पनि भ्रष्टाचारविरुद्ध निरन्तर लागिरहने बताए । सुशासन र पारदर्शीतालाई कठोरतापूर्व लागू गरिएको बताउँदै उनले सबै मन्त्रीले समयमै सम्पत्ति विवरण बुझाइसकेको तर प्रधानमन्त्रीले सार्वजनिक नगरेको बताए । घिसिङका अनुसार सबै मन्त्रीले साढे दुई महीनामै सम्पत्ति विवरण बुझाएका थिए, तर सार्वजनिक गर्ने÷नगर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हो ।

मन्त्री घिसिङले आफू राजनीतिबाट अब ब्याक नहुने स्पष्ट पार्दै आगामी प्रतिनिधिसभा निर्वाचन लड्ने संकेत समेत गरेका छन् । उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका घिसिङले चुनावको उम्मेदवारी मनोनयन दर्ता गराउने बेला आफूले मन्त्रीबाट राजीनामा दिनसक्ने संकेत गरेका छन् । उम्मेदवारी मनोनयन गर्ने समयसम्ममा आफूले मन्त्री पदबाट राजीनामा दिनेबारे ठोस निर्णय लिने उनको भनाइ छ । अहिले मन्त्रीको रूपमा आफ्नो जिम्मेवारी पूरा गरिरहेको बताउँदै उनले उपयुक्त समय आएपछि मात्र निर्वाचनमा जाने वा नजाने भन्ने ठोस निर्णय गर्ने बताए । उनका अनुसार आगामी चुनावमा नयाँ शक्तिहरु र प्रगतिशील शक्तिहरु एकजुट भएर जानुपर्छ । परिवर्तनलाई संस्थागत गर्न र आगामी चुनावबाट नयाँ सक्षम नेतृत्व ल्याउनका लागि सबै नयाँ शक्तिलाई मिलाएर लगिने उनको भनाइ छ ।

मन्त्री घिसिङले १०० दिने उपलब्धिभित्र शहरी विकास मन्त्रालयमार्फत बञ्चरेडाँडामा फोहोर विसर्जन रोकिँदा राजधानी अस्तव्यस्त हुने समस्या समाधान गरेको, मेलम्चीको पानी काठमाडौं ल्याउनमा भएको अवरोध हटाएको तथा तातोपानी–कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गरिएको, मनसुनी वर्षातले क्षति पु¥याएको वीपी राजमार्गलाई समयमै अस्थायी रूपमा सञ्चालनमा ल्याई जनजीवन सहज बनाएको लगायत रहेका छन् । यस्तै, ऊर्जामन्त्रालयतर्फ बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी तय गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको, अप्पर अरुण जलविद्युत आयोजनाको समेत वित्तीय ढाँचा तयार भएको, भारत र बंगलादेशमा १९ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात भएको लगायत उपलब्धिलाई १०१ कामको सूचीमा समावेश गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयतर्फ कोटेश्वर चोक सुधारमा जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन बराबर ऋण सम्झौता, वीपी राजमार्गको पुनर्निर्माणको कामलाई गति दिएको लगायत ४० वटा रुग्ण आयोजनाका ठेक्का सम्झौता तोडिएको र केही तोड्ने प्रक्रियामा रहेको लगायत कामलाई १०१ कामको सूचीमा राखेका छन् । मन्त्री घिसिङले गत भदौ ३० गते मन्त्रीको कार्यभार सम्हालेका थिए । 
 

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update