News 24 Television
तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची

काठमाडौँ । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् । 

आयोगका अनुसार आईतवार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेश गरेका छन् । तीनवटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूचि आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार आईतवार र सोमवार बन्दसूची पेश गर्ने समय तोकिएको छ । आयोगले समानुपातिकको बन्दसूची पेश गर्ने कामलाई दुई चरणमा गरिरहेको जानकारी दिए । पहिलो चरणमा सम्बन्धित दलहरुले सिफारिस गरेको उम्मेद्वारको नाम मतदाता नामावलीमा नाम रहे/नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उनले बताए । निस्सा लिएपछि बन्दसूची पेश गर्नको लागि दर्ता गरिने उनको भनाई छ । 

प्रवक्ता भट्टराईले भने, ‘निर्वाचन आयोगको समानुपातिक तर्फको पूर्वनिर्धारित कार्यक्रमअनुसार पौष १३ र १४ गते दुई दिन बन्दसूचि पेश गर्ने समय तोकिएकोमा आज यतिबेलासम्म ३ वटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसूचि यहाँ भेरिफाइड भइसकेको छ । निस्सा लिएर बन्दसूचि पेश गर्ने चरणमा उहाँहरु हुनुहुन्छ । आज र भोलि समय तोकिएको हुनाले भोलिसम्म सबै आइसक्ने अनुमानसहित हामी सेवा प्रवाहको लागि तयारी अवस्थामा रहेका छौँ ।’ 

उनले विभिन्न समूहहरुको प्रतिनिधित्व गराउने कानूनी व्यवस्थाअनुसार दलहरुले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गरे । आयोगले त्यसको लागि राजनितिक दलहरुलाई अभिमुखिकरण पनि गरेको उनको भनाइ छ । संशाेधन गर्नुपर्नेमा पुस २१ देखि २७ गतेसम समय दिनेगरी निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको पनि उनले जानकारी दिए ।

उहाँका अनुसार पुस १५ देखि २० गतेसम्म नामावलीको भेरिफाई गरेर कानूनअनुसार मिले/नमिलेको हेरेर मिलाउनुपर्ने भएमा २० गते सूचना दिइने छ । 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update