काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन शाहबीच ७ बुँदे सम्झौतासँगै एकता तय भएपछि यसले प्रमुुख दलहरुमा प्रभाव पक्कै पनि पर्छ । मुलुक संसदीय निर्वाचनको संँघारमा रहँदा रवि, बालेन, कुलमान लगायत जनतामा लोकप्रिय शक्तिहरु एकता प्रक्रियामा अघि बढेका छन् । यो आफैमा प्रमुख भनिएका दलहरु काँग्रेस–एमालेलाई चुनौती हो । तर पछिल्लो रवि–बालेन एकता सम्झौताले ती दुई दलमा खासै प्रभाव नपरेको नेताहरुको प्रतिक्रिया छ ।
काँग्रेस उपसभापति धनराज गुरुङले लामिछाने र बालेनबीचको मिलन कुनै अनौठो नभएको प्रतिक्रिया दिएका छन् । आइतबार उनले राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्ने कुरा काँग्रेसलाई चासोको विषयको नभएको बताए । उनले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने तर्क गरे । साथै राजनीतिमा सबैखाले चुनौती आउने भन्दै हरेक चुनौतीको सामना गरेर आएको काँग्रेसका लागि यो घटना सामान्य रहेको उनको भनाइ छ । काँग्रेसकै अर्का नेता किशोर सिंह राठौरले अहिले रवि–बालेन मिल्दा कुनै फरक नपर्ने भन्दै १० वर्ष एकीकृत पार्टी चलाएर देखाउन चुनौती दिए । उनले केही वर्षअघि मात्रै खुलेका जनमत, रास्वपा, नागरिक उन्मुक्ति पार्टीहरुको उदाहरण दिँदै उनले १० वर्ष राम्रोसँग पार्टी चलाएर देखाउन चुनौती दिएका हुन् । काँग्रेस–एमाले लगायतका दलहरुले जनताको अधिकार र विकास दिएको दाबी गर्दै उनले ‘सहकारी ठग’ र ‘गँजेडी’हरुले देश चलाउन नसक्ने टिप्पणी गरे ।
नेकपा एमालेका नेताहरु पनि रवि र बालेनको एकताले खासै अर्थ नराख्ने प्रतिक्रिया दिएका छन् । एमालेका नेता मानवीर राईले रवि र बालेनको मिलन वा विमिलनको कुनै विशेष अर्थ नरहेको बताए । उनीहरूको राजनीति नेपाली जनतामा आधारित नदेखिएको भन्दै राईले त्यसले वर्तमान नेपाली राजनीतिक परिवेशमा खासै महत्व नपाउने दाबी समेत गरे । नेता राईले २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन निर्वाचित हुँदा जनतामा ठूलो आशा र अपेक्षा रहेको भए पनि उनका पछिल्ला गतिविधिले ती अपेक्षा पूरा गर्न नसकेको आरोप लगाए । बालेनले विकास निर्माणका कार्य अगाडि बढाउन नसकेको भन्दै उनले मकै पोलेर जीविकोपार्जन गर्नेहरूलाई लखेट्ने बाहेक अरु काम नगरेको दाबी गरे । बालेनले ‘स्टन्टबाजी’ मात्रै गरेको आरोप लगाउँदै जेन–जी आन्दोलनमा भएको आगजनी तथा हिंसात्मक घटनाका बेला समेत उनको भूमिका ठीक नरहेको राईको आरोप छ ।
एमाले उपमहासचिव योगेश भट्टराईले रवि–बालेनको एकता कुनै नौलो कुरा नभएको बताए । एजेण्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई समान्य रुपमा लिनुपर्ने बताउँदै उनले लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरु मिल्ने र विभाजन हुने कुरा अनौठो नभएको प्रतिक्रिया दिए । उनले भदौमा भएको जेन–जी आन्दोलनलाई रास्वपा र बालेनले सत्तास्वार्थको लागि हाईज्याक गर्न खोजेको भन्दै जेन–जी अगुवाहरुलाई सजक रहन आग्रह समेत गरे ।
उता मधेसवादी दल जसपा नेपालका नेता मनिष सुमनले रवि–बालेनबीचको सम्झौता स्वाभाविक भए पनि संघीयता र धर्मनिरपेक्षता जस्ता विषयमा मौन रहनुले आशंका उब्जाएको बताए । जेन–जी आन्दोलनका माग र यथास्थितिबाट देश परिवर्तन गर्नुपर्ने आम जनताको चाहनाअनुसार दुई शक्तिबीचको सम्झौता स्वाभाविक भएको उनको ठहर छ । बालेनजस्तो चर्चित व्यक्तित्व रास्वपाको कार्यकर्ता बन्न तयार हुनु रास्वपाका लागि सौभाग्यको विषय भए पनि रास्वपाको नीतिगत अवस्था ठिक नभएको उनको तर्क छ । रास्वपा संघीयता विरोधी गतिविधिमा संलग्न रहेको कारण थप आशंका उत्पन्न भएको उनले बताए ।
यसरी, रवि–बालेनबीचको एकता सम्झौताले परिवर्तन खोजिरहेका जनता र युवावर्ग उत्साहित देखिए पनि राजनीतिमा दशकौँको उपस्थिति बनाएका दल तथा नेताहरुलाई भने नौलो लागेको छैन । उनीहरु रवि–बालेनका एजेन्डा र आगामी कदमहरुले नै तिनको भविष्य देखाउने बताउँछन् ।
