भक्तपुर । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले आ.व. २०८३\०८४ को बजेटमा समावेश सूर्यविनायक नगरपालिका तथा बागमती प्रदेशभित्रका पर्यटन र धार्मिक, सांस्कृतिक पूर्वाधारसम्बन्धी योजनाहरूको कार्यादेश तत्काल जारी गरी कार्यान्वयन गर्न माग गरेको छ।
नगर समितिले बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाज्यूसमक्ष ध्यानाकर्षणपत्र बुझाउँदै मन्त्रालयको पुनर्संरचना, पर्यटन विकास आयोजनाको कार्यालय स्थानान्तरण तथा प्रशासनिक र प्राविधिक प्रक्रियामा भएको ढिलाइका कारण बजेट विनियोजन भएका योजनाहरूको कार्यान्वयन प्रभावित भएको जनाएको छ।
समितिले योजनाहरूको कार्यादेश तत्काल जारी गर्न, रोकिएका प्रशासनिक तथा प्राविधिक प्रक्रिया शीघ्र सम्पन्न गर्न, सम्बन्धित मन्त्रालय र कार्यालयबीच आवश्यक समन्वय गरी स्पष्ट समयतालिका निर्धारण गर्न तथा प्राविधिक जनशक्ति, लागत अनुमान र खरिद प्रक्रिया समयमै पूरा गर्न माग गरेको छ।
त्यसैगरी, कार्यान्वयनमा देखिएका अवरोध पहिचान गरी हटाउन मन्त्रालयस्तरबाट आवश्यक निर्देशन र नियमित अनुगमनको व्यवस्था गर्न तथा विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुने सुनिश्चितता गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ।

नगर समितिले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र विकासमा ढिलाइ हुँदा स्थानीय समुदाय प्रभावित हुनुका साथै पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासका कामसमेत पछि पर्ने भएकाले योजनाहरूलाई उच्च प्राथमिकतामा राखी तत्काल कार्यान्वयन प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका सभापति ई। विशु राम थापाद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा मन्त्रालयको पुनर्संरचना वा प्रशासनिक व्यवस्थापनका कारण जनताका विकासका योजना प्रभावित हुन नदिन मुख्यमन्त्रीसमक्ष आवश्यक निर्देशन र समन्वयका लागि अनुरोध गरिएको छ।


