कुवेत । युवा शक्ति कुवेतको आयोजनामा कुवेतमा सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

युवा शक्ति कुवेतका संयोजक नवराज विश्वकर्माकाअनुसार यही २६ डिसेम्बरमा “सकिन्छ राम्रो गरौं, सकिँदैन नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा सार्वजनिक स्थानहरूमा फोहोर संकलन, स्वच्छ वातावरणको महत्वबारे सचेतना र युवाहरूको सामूहिक सहभागितामार्फत सकारात्मक सामाजिक सन्देश प्रवाह जस्ता गतिविधिहरू सम्पन्न गरिएका थिए।

कार्यक्रममा कुवेतमा रहेका नेपाली युवाहरूको उल्लेखनीय सहभागितासँगै स्थानीय बासिन्दाहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।

जसले सामाजिक जिम्मेवारी र स्वच्छ वातावरणको महत्वलाई अझ प्रभावकारी रूपमा उजागर गरिएको संयोजक विश्वकर्माको भनाइ छ ।

संयोजक विश्वकर्माले कार्यक्रमको उद्देश्य कुनै राजनीतिक वा व्यावसायिक लाभ नभई सामाजिक उत्तरदायित्व, एकता र सकारात्मक सोचको प्रवर्द्धन गर्नु भएको बताएका छन् ।

उनका अनुसार युवा शक्ति कुवेत कुवेतमा रहेका नेपाली युवाहरूको एक सामाजिक अभियान हो, जसले समाजप्रति सकारात्मक योगदान पुर्याउने उद्देश्यले विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

