अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (NRNA) पश्चिमी अष्ट्रेलियाको आयोजनामा पर्थस्थित वेलिङ्गटन स्क्वायर (Wellington Square) मा आयोजित 'नेपाल फेस्टिभल पर्थ २०२६' भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कला, संस्कृति, र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त फेस्टिभलमा १०,००० भन्दा बढी दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

आयोजक गैरआवासीय नेपाली संघ (NRNA) पश्चिमी अष्ट्रेलियाका अनुसार कार्यक्रममा अष्ट्रेलियाली सरकारी अधिकारीहरू, विभिन्न मन्त्री, सांसद, तथा बहुसांस्कृतिक (CaLD) समुदायका प्रतिनिधि र अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो।
फेस्टिभलमा नेपाली मौलिक संस्कृति, परम्परागत खानाका परिकार, तथा बालबालिकाका लागि विशेष 'किड्स जोन' प्रमुख आकर्षणका रूपमा रहेका थिए। साथै, नेपालका चर्चित गायक प्रमोद खरेल, गायिका रचना रिमाल तथा परम्परा ब्यान्ड (Parampara Band) को जोसिलो सांगीतिक प्रस्तुतिले उपस्थित दर्शकहरूलाई दिनभर मन्त्रमुग्ध बनाएको थियो।

अष्ट्रेलियामा नेपाली संस्कृतिको प्रवर्द्धन, पहिचान र बहुसांस्कृतिक भाइचारा अभिवृद्धि गर्न यो फेस्टिभल ऐतिहासिक र अत्यन्तै सफल सिद्ध भएको आयोजक NRNA पश्चिमी अष्ट्रेलियाले जनाएको छ।


