काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको नीतिगत समस्याको कारण बढ्दो युवा पलायन रोक्न नसकेको टिप्पणी गरेका छन् । बिहीवार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
पछिल्ला २० वर्षमा विदेश जाने प्रक्रियामा नियन्त्रण गर्ने प्रयास भए पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको उनको भनाइ छ । उनले विमानस्थलको ढोका थुनेर मात्र बढ्दो विदेश पलायन रोक्न नसकिने भन्दै राज्यले स्टार्टअप लगायतका क्षेत्रमा सहयोग गर्न जरुरी रहेको बताए । उनले अध्यागमन नीतिमा बारम्बार बुँदा फेरबदल हुँदा लागत मात्र बढेको र अध्यागमन प्रणालीको समग्र ‘इकोसिस्टम’ले लय गुमाएको समेत बताए ।
महानिर्देशक तिवारीले भने, ‘सरकारले बनाएका नीतिमा सधैं बुँदा फेरेको देखिन्छ । हामीले पछिल्लो २० वर्षमा विदेश जाने नेपालीलाई कसरी रोक्ने र छोड्ने भन्ने अभ्यास गरेछौँ र लागत बढाएको बढाएै गरेछौँ । कहिले अध्यागमनले कहिले एयरलाइन्सले गरेर १५० भन्दा बढी मान्छे रोकेछौँ तर एकदुई महिना अडियो होला कोही पनि नेपालमा अडिएनछ । विमानस्थलमा ढोका थुनेर कोही अडिँदो रहेनछ । हामीले युवाहरुलाई अस्टार्टअप लगायतका क्षेत्रमा सहयोग नगरिकन कुनैपनि युवालाई रोकेर मात्र हुँदैन । यसले नेपालको अध्यागमनको इकोसिस्टले लय गुमाएको अवस्था थियो,छ ।’
उनले सरोकारवाला निकायहरुले विदेशी नागरिकहरुले नेपालमा रहँदा गर्ने क्रियाकलापबारे ध्यान नदिएको कारण मुलुकको सांस्कृति र तथा शान्ति-सुव्यवस्था पनि खल्बलिएको बताए ।
