News 24 Television
गगन–विश्वप्रकाश कस्सिए, विशेष महाधिवेशन होला ?

काठमाडौँ । नेपाली काँग्रेसमा पछिल्ला केही महिनायता महाधिवेशनको विवाद बल्झिँदै गएर संकटको रुप धारण गरेको छ । गत भदौको जेनजी विद्रोहपछि नेतृत्व हस्तान्तरण तथा पार्टी रुपान्तरणको प्रश्न अहं रुपमा उठेको छ– काँग्रेसभित्र । विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेनजी विद्रोहको भावना तथा युवापुस्ताको माग बमोजिम पार्टीमा रुपान्तरणको प्रश्नलाई तीव्र रुपमा अघि बढाएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनअगावै सके नियमित महाधिवेशन, नसके विशेष महाधिवेशन गरेर पार्टीको नेतृत्व चयन गर्नुपर्ने बहुसंख्यक काँग्रेसजनको मागमा सभापति शेरबहादुर लगायत संस्थापन पक्ष गम्भीर नभएपछि अहिले यसैको विवादले उग्र रुप लिएको छ । 

चौतर्फी दबाबका बीच काँग्रेस संस्थापन पक्ष यही पुसभित्र नियमित पार्टीको १५औँ महाधिवेशन गर्न तयार भएको थियो । निर्वाचनपछि मात्र महाधिवेशन गर्ने अडानमा रहेको संस्थापन पक्षले पुस २६ देखि २८ गतेका लागि निर्धारित १५औँ महाधिवेशनको कार्यतालिका तय गरेको थियो । तर त्यसको कार्यान्वयन पक्षमा ध्यानै नदिएर पुनः पछाडि धकेल्न खोजिएपछि अहिले महामन्त्री थापा र शर्माले अब विशेष महाधिवेशन अगाडि बढाउने बताएका छन् । बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले कार्यतालिका अनुसार नियमित महाधिवेशन प्रक्रिया अघि नबढेको भन्दै स्थगित भएको घोषणा गरे । वर्तमान परिस्थितिमा अब नियमित महाधिवेशन सम्भव नरहेकाले यसलाई स्थगित गरिएको र अबको विकल्प ‘विशेष महाधिवेशन’ मात्र भएको उनीहरुको भनाइ छ । 

गत मंसिर १५ को केन्द्रीय कार्यसमिति बैठकले तय गरेको कार्यतालिका अनुसार यसबेला तल्लो तहमा महाधिवेशन प्रक्रिया अघि बढिसकेको हुनुपथ्र्यो, तर त्यो नहुँदा समग्र कार्यतालिका प्रभावित भइसकेको छ । थापा र शर्माले अब पुस २७ देखि २९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने तयारी सुरु गरिसकेका छन् । महामन्त्री थापाले यसअघि पटकपटक काँग्रेसका लागि विशेष महाधिवेशन निर्विकल्प र अनिवार्य जिम्मेवारी भइसकेको बताउँदै आएका थिए ।

विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशनको तयारी थाल्न महामन्त्रीहरुलाई तीव्र दबाब दिँदै आएका थिए । पार्टी सभापति देउवाले यही पुस २८ गतेसम्म महाभिवेशहन गरिसक्नुपर्ने विधानतः बाध्यकारी व्यवस्था समेत लत्याउन खोजेको कारण विशेष महाधिवेशनको तयारी अघि बढाइएको केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले बताएका छन् । उनले बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरेर केन्द्रिय कार्यालयमा बुझाएको स्मरण गराउँदै सोहीअनुसार महाधिवेशन गरेर पार्टीको नीति, नेतृत्व र कार्यदिशा तय हुनुपर्ने बताए । महाधिवेशन रोक्नकै लागि क्रियाशील सदस्यबारे नियतवश विवाद सिर्जना खडा गरिएको भन्दै उनले १५ औँ महाधिवेशनमा समेत १४औँ महाधिवेशनका प्रतिनिधिहरुमार्फत नेतृत्व चयन गरिने बताए । महामन्त्री गगन थापा विशेष महाधिवेशनका लागि प्रतिवेदन लेखनको तयारीमा लागिसकेको जानकारी दिँदै उनले सबैलाई मिलाएर प्रक्रिया अगाडि बढाइने बताए । 

विशेष महाधिवेशन पक्षधर नेताहरुले शुक्रवार पत्रकार सम्मेलन गरी पार्टी विधानले तोकेअनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन् । विशेष महाधिवेशन पक्षधरका नेता सुवास पोखरेलले असोज २९ मा दर्ता भएको विशेष महाधिवेशनको माग अझै जीवित रहेको र यसको कार्यान्वयन पार्टीको अनिवार्य कर्तव्य भएको बताए । काँग्रेससँग अब विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प नभएको उनको भनाइ छ । 

काँग्रेसको १४ औं महाधिवेशनमा रहेका ४ हजार ७४३ जना प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्ण खड्कालाई हस्ताक्षर बुझाएका थिए । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले एजेण्डासहित विशेष महाधिवेशनको माग गर्नसक्ने विधानको व्यवस्था छ । यसअनुसार विशेष महाधिवेशन माग भएको ९० दिन अर्थात् तीन महिनाभित्र गर्नैपर्ने बाध्यता रहेको कानुनविद्हरु बताउँछन् । किनभने विधानको व्यवस्था बाध्यात्मक (म्यान्डेटरी) हो र यसमा अन्यथा सोच्न नपाइने उनीहरुको तर्क छ । यद्यपि सभापति देउवाले शीर्ष नेताहरुसँग भेटघाट बढाएका छन् भने विशेष महाधिवेशनले पार्टी फुट्ने तर्क गर्दै रोक्नुपर्ने बताएका छन् । यसरी संस्थापन पक्षको आलटाले प्रवृत्ति र विशेष महाधिवेश पक्षधरको एक्सनले काँग्रेस अहिले संकटको डिलमा उभिएको आभास भएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update