काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाले पक्राउ गरेपछि विश्व राजनीति तरंगित छ । मदुरो पक्राउकै विषयलाई लिएर संयुक्त राष्ट्रसंघले पनि अन्तराष्ट्रिय रुपमा कानूनको उल्लङ्घनका रुपमा आलोचना र प्रश्न उठाएको छ । आफ्नै निवासबाट अमेरिकी सेनाको कब्जामा परेका मदुरोलाई यतिबेला न्यूयोर्कमा पु¥याइएको छ । मदुरो पक्राउपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गर्दै अब भेनेजुएलाको शासन संचालन अमेरिकाले नै गर्ने घोषणा गरे । ट्रम्पले आफूहरुले सुरक्षित, उचित र संक्रमण कालीन अवस्थासम्मका लागि देश चलाउने दावी गरेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथ लगायतका शिर्ष अधिकारीहरूले भेनेजुएला चलाउन मद्दत गर्न एक टोलीसँग मिलेर काम गर्ने भनिसकेका छन् । संक्रमणकालमा भेनेजुएलामा अमेरिकी सैन्य उपस्थितिको सम्भावनाको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले आफूहरु तेलसँग सम्बन्धित विषयमा भेनेजुएलामा उपस्थित हुने बताएका छन् । यसका अलावा ट्रम्पले अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएलाको ऊर्जा पूर्वाधार कब्जा गर्न र लगानी गर्न अनुमति दिने तथा देशका लागि पैसा कमाउन शुरु गर्ने योजना रहेको उल्लेख गरेका छन् ।
राष्ट्रिपति र उनकी पत्नीलाई नै पक्राउ गरी न्यूोर्क पुर्याएपछि भेनेजुएलामाथि थप आक्रमण हुने संभावना भने कम देखिन्छ । अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले विदेश मन्त्री मार्को रुबियोसँगको टेलिफोन संवादबारे जानकारी गराउँदै थप आक्रमण नहुने प्रष्ट्याएका हुन् । रुबियोकाअनुसार निकोलस मदुरो अमेरिकी हिरासतमा रहेकाले अब भेनेजुएलामा थप कारबाहीको आवश्यकता रहने छैन । बरु मदुरोले अब संयुक्त राज्य अमेरिकामा फौजदारी अभियोगमा अदालती सुनुवाइको सामना गर्नुपर्नेछ ।
मदुरोलाई अमेरिकामा मुद्दा !
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले शनिवार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ परेपछि चाँडै अमेरिकी अदालतहरूमा मुद्दाको सामना गर्ने बताएका छन् । बोन्डीले सामाजिक सञ्जालमा निकोलस मादुरो र उनँकी पत्नी सिलिया फ्लोरेस विरुद्ध न्युयोर्कको दक्षिणी जिल्ला अदालतमा अभियोग दर्ता गरिएको बताएका छन् । मादुरोमाथि लागुऔषध–आतंकवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिन गन र विनाशकारी उपकरणहरू राखेको, तथा संयुक्त राज्य अमेरिका विरुद्ध ती हतियार प्रयोग गर्ने षड्यन्त्र गरेको जस्ता गम्भीर आरोपहरू लगाइएको छ ।
भेनेजुएला तरङ्ग नेपालमा !
शुक्रबारको भेनेजुएला आक्रमण र राष्ट्रपतिलाई नै नियन्त्रण गरेर अमेरिका पु¥याएको विषयले नेपाली राजनीति पनि तरंगित बनेका छन् । अमेरिकाको उक्त आक्रमणलाई नेपालका सबैजसो दल तथा संगठनले अमेरिकी साम्राज्यवाद र दादागिरीका रुपमा व्याख्या गरेका छन् । यही सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमनत्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलाको सार्वभौम सत्तामाथि ठाडो उल्लंघन गर्दै अन्तराष्ट्रिय कानूनको खिल्ली उाएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘यो भेनेजुएलाको सार्वभौम सत्ताको ठाडो उल्लंघन हो, अन्तर्राष्ट्रिय कानुनलाई खिल्ली उडाउने कार्य हो र अत्यन्त लज्जास्पद ढङ्गले गरिएको घोर अपराधपूर्ण कार्य हो ।’ उनले मदुरोको सकुशल रिहाइको माग पनि गरेका छन् । यस्तै नेकपा एमालेले पनि अमेरिकी कदमको घोर भत्र्सना गरको छ ।
पार्टी महासचिव शंकर पोखरेलले फेसबुकमा स्टाटस लेख्दै संयुक्त राष्ट्रसंघ लगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी भेनेजुएलामाथि अक्रमण गरिनु दुखद र खेदजनक भएको उल्लेख गरेका छन् । उनले भनेका छन् ‘जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन हो । यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन ।’
उता प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि एक विज्ञप्ति जारी गर्दै भेनेजुएलामाथि अमेरिकाले चालेको कदम गलत भएको भन्दै यसकाविरुद्धमा आवज उठाउन सरकारलाई आग्रह गरेको छ । प्रलोपाले भनेको छ, ‘अमेरिकी सरकारको यो कदम सार्वभौम सम्पन्न भेनेजुएलाका आमजनताको आत्मनिर्णयको अधिकारको बिल्कुलै विपरीत छ । सार्वजनिक अन्तराष्ट्रिय कानुन विरुद्धको यो कदमविरुद्ध आवाज उठाउन नेपाल सरकारलाई आग्रह गर्दै प्रलोपा भेनेजुएलाका सार्वभौमसत्ता सम्पन्न आमजनतासँग दृढ ऐक्यबद्धता व्यक्त गर्दछ ।’
यही वक्तव्यलाई सामाजिक संजालमा शेयर गर्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि अमेरिकी कदमको घोर विरोध जनाएका छन् ।
यस्तै पूर्वमन्त्री एवं प्रलोपा नेता जनार्दन शर्माले पनि भेनेजुएलाको आन्तरिक राजनीतिक मामलामा सैन्य बल प्रयोग गरी राष्ट्रपतिलाई नै देशबाहिर पु¥याइनु अत्यन्तै गम्भीर र चिन्ताजनक भएको टिप्पणी गरेका छन् । यो कदमले देशको सार्वभौमिकता र जनताको जनादेशमाथि प्रश्न मात्रै नउठाएको भन्दैअन्तर्राष्ट्रिय सुरक्षा, लोकतान्त्रिक मूल्य र राज्यहरूबीचको मर्यादालाई समेत जोखिममा पारेको जनार्दनको दावी छ ।
अमेरिका र भेनेजुएला विवाद प्रकरणले विश्व समुदाय नै तरंगित छ । यस्तैमा नेपालका धेरैजसो दल तथा नेताहरुले भने भेनेजुएलाको सार्वभौमिमता र राष्ट्रियताको पक्षमा बोलेका छन् । दलहरु र तीनका नेताहरुले यो धारणा राखिरह पनि नेपाल सरकारले भने अहिलेसम्म कुनै पनि औपचारिक धारणा राखिसकेको छैन ।
