News 24 Television
रास्वपाको संकट पार : मिल्यो समानुपातिक सूची, एजेण्डा र भागबण्डा !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई राजनीतिक रुपमा थप बलियो र शक्तिशाली बनाउँदै लगेको छ । रास्वपाले बालेन शाह, कुलमान घिसिङ तथा विवेकशीलबाट समाहित भएका नेताहरुलाई पनि जिम्मेवारी दिलाएसँगै पार्टी अझै वृहत्त र शक्तिशाली बनेको हो । आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले अन्य दलहरु तथा विभिन्न अभियानबाट आएका नेताहरुलाई पद मिलान गरेसँगै पार्टी अझै सशक्त बन्ने देखिन्छ । आईतबारको केन्द्रिय समिति बैठकले पार्टीमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक सहप्रवक्तासहितका पद थपेर उज्यालो नेपाल पार्टी र बालेन्द्र शाहसँग पद मिलान गरेको छ । थपिएका सबै पदहरु बालेन र कुलमान पक्षकै नेताहरुलाई जिम्मेवारी दिएको हो । यस्तै पार्टी समायोजनपछि विवेकशीलसँगै आएका ७ जना नेतालाई पनि केन्द्रीय समितिमा मनोनयन गराएको छ । 

रास्वपामा बालेन वरिष्ठ नेता

शक्ति सन्तुलनका लागि रास्वपाले पद मिलान गरेको छ । पद मिलानमा अब बालेन शाह पार्टीको दोस्रो शक्तिशाली नेतामा कायम भएका छन् । उनी एकतामा सामेल हुँदा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा पार्टीमा भित्रिएका थिए । एकताका बेला प्रधानमन्त्रीको उम्मेदवार बन्नुबाहेक कुनै जिम्मेवारी नतोकिएपनि सोमबारको केन्द्रीय कमिटि बैठकले बालेनलाई वरिष्ठ नेतामा मनोनित गरेको हो । यो सँगै पार्टीमा शक्ति सन्तुलन कायम हुने अपेक्षा गरिएको छ । यसअघि पार्टीको नेताहरुको व्यवस्थापन र सैद्धान्तिक बहसले पार्टीमा असन्तुलन पैदा हुने खतरा पैदा थिए । यद्यपि पार्टीको मिलानमा भागबण्डाकै शैलीले भने रास्वपाप्रति आलोचना रोकिएको छैन ।

संकट पार

मुख्यतः उज्यालो पार्टी नेपाल रास्वपासँगको एकतामा आउँदा पार्टीको एजेण्डा, सिद्धान्त र सविधानको सम्बन्धमा विमत्ति देखिएका थिए । खासगरी एकतामा आउँदा कुलमान पक्षकै नेताहरुले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र पहिचानका मुद्दाबारे रास्वपाको स्पष्ट धारणा र प्रतिबद्धता मागेका थिए । यही विषयका कारण रास्वपा र कुलमान पक्षको एकता भाँडिनेसम्मको आशंका उब्जिएको थियो । यद्यपि शनिबार बालेन–कुलमान–रविले संयुक्त रुपमै बैठक बसेर वर्तमान संविधान र यसले ल्याएका परिवर्तनलाई स्वीकार गर्ने सझदारी गरेसँगै रास्वपा विभाजनको खतरा टरेको हो ।  यस्तै उक्त बैठकले नै उज्यालो पार्टी नेपालबाट सिफारिस भएका १४ समानुपातिक सङ्ख्या पनि सच्याउने निर्णय गर्यो । यसअघि रास्वपासँगको एकतामा उज्यालो पार्टी नेपाललाई १८ समानुपातिक संख्या दिइने भएपनि सिफारिमा १४ जनामात्रै परेका थिए । 

यसपछि पार्टीभित्र असिन्तुष्टि चुलिएको थियो । तर यो त्रुटीलाई सच्याउँदै रास्वपाभित्रबाट उज्यालो नेपालालाई अब १८ समानुपातिक संख्या नै दिइने भएको छ । शीर्ष स्तरका नेताहरुबीच नै भएको छलफल र सहमतिले पार्टीको समानूपातिक सूची र नेताहरुको जिम्मेवारी नै  बाँडफाँट गरिसकेकाले हाललाई पार्टी एकजुट भएको देखिन्छ । जसले वैकल्पिक शक्तिका रुपमा उदाउँदै गरेको रास्वपा अब निर्वाचनमा एक ढिक्का भएर जानेमा विश्वस्त देखिन्छ । 

यद्यपि वैकल्पिक शक्तिका प्रमुख घटकहरु बालेन र कुलमानलाई रास्वपाले औपचारिक रुपमै पार्टी कार्यालयमा स्वागत भने गरिसकेको छैन । तर उनीहरु सार्वजनिक पदको जिम्मेवारीमा रहेकाले रास्वपाको औपचारिक गतिविधिमा नरहेको टिप्पणी गरिँदै आएको छ । तर पछिल्ला केही छलफल, सहमति र निर्णयले भने उनीहरुलाई रास्वपाकै नेताका रुपमा चित्रित गर्न थालिसकेको छ । रास्वपाभित्र बालेन, कुलमान र रविको एकतालाई आम जनतालेसमेत ठूलै अपेक्षाका रुपमा लिएका छन् । तर यो एकताको चुनावी प्रतिफल कस्तो आउला ? यो भने प्रतिक्षाको विषय बनेको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update