काठमाडौँ । नेकपा (एमाले) आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि संगठनात्मक रूपमै होमिएको छ । वर्तमान सरकारले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सक्दैन भन्दै निर्वाचनको विरोध गर्दै आएका एमाले नेताहरु अन्ततः निर्वाचन तयारीमा जुटेका हुन् । मंगलबार बसेको एमाले सचिवालय बैठकले निर्वाचनलाई लक्षित गर्दै दुईवटा महत्वपूर्ण कमिटीहरू गठन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा शीर्ष नेताहरू सम्मिलित ‘घोषणापत्र मस्यौदा समिति’ गठन गरिएको छ, जसले आगामी निर्वाचनका मुख्य एजेन्डाहरू तय गर्नेछ । उक्त समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञावली र विष्णु रिमाल सदस्य रहनेग निर्णय गरिएको छ ।
त्यसैगरी, निर्वाचनलाई व्यवस्थित रूपमा परिचालन गर्न एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा ‘निर्वाचन परिचालन कमिटी’ गठन गरिएको छ । उक्त कमिटीमा नेता विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिष्म अधिकारी सदस्य रहने निर्णय भएको छ । यो कदमसँगै एमाले निर्वाचनको चुनावी अभियानमा औपचारिक रूपमा प्रवेश गरेको देखिएको छ । निर्वाचन नै हुन नसक्ने भनिरहेका एमाले अध्यक्ष ओलीले सचिवालय बैठकमा भने देशभर एकैपटक प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुन नसक्ने बताए । ओलीले नेताहरुलाई बिफ्रिङ गर्दै खण्ड–खण्डमा निर्वाचन हुनसक्ने भन्दै त्यसबारे पनि मनोवैज्ञानिक रुपमा तयार रहन निर्देशन दिए । ओलीको भनाइ उद्धृत गर्दै एमालेका उपमहासचिव लेखराज भट्टले बाह्य रुपमा निर्वाचनको माहोल बनिसकेको र त्यसको तयारी गर्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएको बताए । निर्वाचनमा कसरी जाने भन्नेबारे नेतृत्वको बीचमा छलफल भइरहेको बताउँदै भट्टले आगामी निर्वाचनलाई एक आन्दोलनकै रुपमा लिनुपर्ने ओलीको तर्क रहेको सुनाए ।
निर्वाचन भइहालेमा पूर्व सत्ता सहयात्री दल नेपाली काँग्रेससँग गठबन्धन वा निश्चित ठाउँमा तालमेल गर्नेबारे समेत एमालेले रणनीति बनाइरहेको छ । प्रतिनिधिसभा निर्वाचनअघि माघ ११ गते राष्ट्रिय सभाका १ तिहाइ सदस्यको निर्वाचन हुँदैछ । एमालेले राष्ट्रियसभा निर्वाचनदेखि नै काँग्रेससँग तालमेल गर्ने तयारी गरिरहेको छ । एमालेले प्रत्येक प्रदेशमा १÷१ जना उम्मेद्वार एमालेबाट रहनेगरी काँग्रेससँग सहकार्य गर्नेबारे सचिवालय बैठकमा छलफल गरेको एमालेका उपमहासचिव भट्टले जानकारी दिए । काँग्रेससँग गठबन्धनको सिट टुंगो लगाउने र उम्मेद्वार छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ । काँग्रेससँगको छलफल टुंगोमा नपुगेकोले थप छलफल गर्नका लागि ओलीलाई जिम्मा दिने निर्णय गरिएको हो ।
बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीका पार्टीका पदाधिकारी र केन्द्रिय सदस्यहरुलाई परिचालन गर्ने निर्णय समेत गरेको छ । नवनिर्वाचित युवा केन्द्रिय सदस्यलाईहरुलाई परिचालन गर्ने निर्णयअनुसार प्रदेश र निर्वाचनको संयोजक रहनेगरी कोशीमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, राजधानीमा डा. राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा गणेश ठगुन्ना, संगठन विभागमा भानुभक्त ढकाल, प्रचारमा विभागमा मिनबहादुर शाही र निर्वाचन विभागमा रमेश बडाललाई जिम्मेवारी दिइएको छ ।
