भैरहवा । हरेक आन्दोलनमा उद्योग ब्यवसायीहरु नै मारमा परेका हुन्छन् । ठूला राजनीतिक परिवर्तन होस्, वा सानो तिनो आन्दोलन, हरेक आन्दोलनमा ब्यवसायमाथि नै प्रहार हुने हुँदा उद्योग, ब्यवसायीहरु आफूलाई असुरक्षित ठानिरहेका छन् । पछिल्लो समय नवयुवाको आन्दोलनमा पनि उद्योग ब्यवसायीमाथि आक्रमण हुँदा अर्बौंको क्षति हुन पुग्यो । त्यसैले औद्योगिक तथा ब्यवसायिक क्षेत्रलाई बन्द हड्ताल निषेध गर्नुपर्ने माग उद्योग ब्यवसायीहरुले गरिरहेका छन् ।
उद्योगी व्यवसायीले औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई बन्द हड्ताल निषेध घोषणा गर्न माग गरेका छन् । हरेक आन्दोलनमा निजी क्षेत्रलाई लक्षित गरी क्षति पुर्याउने गरिएको भन्दै चिन्ता समेत व्यक्त गरेका हुन ।
शनिबार भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६७ औं वार्षिक साधारण सभाका बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई बन्द हड्ताल निषेधित क्षेत्र भनि घोषणा गराउन महासंघले सरकार समक्ष माग गरेको र यसबारेमा चाँडै नै निर्णय हुने विश्वास व्यक्त गरे ।
मुलुकमा ठूलो संख्यामा रोजगारी, राजश्व संकलनको स्रोत र विकासका पूर्वाधार औद्योगिक तथा व्यवसायिक क्षेत्रबाट हुने गरे पनि जहिले पनि बन्द हड्तालको चपेटामा यो क्षेत्र पर्ने गरेको भनाइ उनको छ ।
उद्योगी व्यवसायीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थललाई नियमित सञ्चालनका लागि पनि सरकारसँग माग गरेका छन् । भैरहवा नाकाबाट नेपाल भित्रिने बिदेशी पर्यटकलाई भीसा लगायतका सुविधा भन्सार बिन्दुबाटै उपलब्ध गराइनु पर्ने, भैरहवा लगायतका सिमावर्ती नेपाली सहरमा रात्रीकालिन बजार सहितको ‘मनोरञ्जनात्मक सहर’ बनाइनु पर्ने, निजी क्षेत्रको मनोबल उकास्नु पर्ने, भैरहवामा निर्माणाधीन आईसीपीलाई रेलवेसँग जोड्नुपर्ने, विशेष आर्थिक क्षेत्र (सेज)लाई व्यवस्थित गर्नुपर्ने, बैंक तथा वित्तीय संस्था थप लचिलो बन्नु पर्ने, पर्यटन र कृषिलाई पहिलो प्राथमिकता राख्नुपर्ने उनीहरुको माग छ ।
उद्योगी व्यवसायीले नाका व्यवस्थापन, चोरीतस्करी नियन्त्रण, स्थानीय उत्पादनको प्रयोग, विकास निर्माणका कामहरू समयमै सम्पन्न गर्नुपर्ने, राज्यले आर्थिक गतिविधि चलायमान हुने अनुकूल वातावरण तत्काल सिर्जना गर्नुपर्ने लगायतका माग ब्यवसायीहरुको छ ।
