काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नयाँ कदमको संकेत गरेका छन् । आईतबार राति सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘सबैलाई सुभकामना, हामी आउँदैछौँ ।’ बालेनको यो स्टाटसले मुख्यतः वर्तमान राजनीतिक परिस्थितिमा दुई अर्थ दिन्छ, पहिलो, भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि गगन थापा र विश्वप्रकाश शर्मालाई सुभकामना ।
दोस्रो, आगामी फागुन २१ को निर्वाचनमा एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग झापा क्षेत्र नम्बर ५ मा चुनाव लड्ने तयारी । किनकी आईतबार नै काँग्रेसको संस्थापन पक्षको इच्छाविपरित गगन–विश्वले काठमाडौंमा भव्यरुपमा विशेष महाधिवेशन उद्घाटन गरेका छन् । अर्कोतर्फ आईतबार नै बालेनले झापामा केपी शर्मा ओलीसँग चुनाव लड्ने चाहना अनुसार नै रास्वपा झापा कमिटिका पदाधिकारीहरुसँग भेटघाट गरे । बालेनको स्टाटस पनि यही दुई घटनाक्रमसँगै सम्बन्धित देखिन्छ । हुन पनि बालेन शाह आगामी निर्वाचनपछि प्रधानमन्त्री नै बन्ने तयारीमा रहँदा उनको स्टाटस आगामी कदम र भावी राजनीतिको सन्दर्भसँगै केन्द्रीत रहेकामा दुई मत छैन ।
के बालेनले ओलीसँगै प्रतिस्पर्धा गर्लान् ?
बालेन आगामी निर्वाचनमा कहाँबाट उठ्छन् ? यसको जवाफमा उनी आँफैले भन्ने गरेका छन्, ‘काठमाडौं–२, जन्मजिल्ला महोत्तरी वा केपी शर्मा ओलीकै निर्वाचन क्षेत्र झापा – ५ मध्येबाट उठ्न सक्छु ।’
बालेनले उनको सचिवालयको टिमसँग सँधै यही चाहना राख्दै आएको बताइन्छ । तर पछिल्लो सयम उनले मुख्यतः काठमाडौं र महोत्तरीलाई छाडेर केपी ओलीसँगै निर्वाचन लड्ने हुटहुटी व्यक्त गरिरहेका छन् । भावी प्रधानमन्त्री बन्ने घोषणा नै भइसकेको अवस्थामा केपी ओलीलाई नै नहराई निर्वाचनको मज्जा नै नहुने भनेर बालेनले आफू निकटहरुलाई भन्नेगरेको बताइँदै आएको छ । यो अर्थमा पनि बालेन अब झापा – ५ बाटै उठ्नेमा लगभग निश्चितजस्तै भएको छ ।
यही प्रयोजनका लागि बालेनले आईतबार रास्वपा झापा कमिटीका पदाधिकारीहरुसँग छलफल गरे । उनले ज्वागलमा रास्वपा झापाका सभापतिसहित अन्य प्रतिनिधिसँग आईतबार भेटवार्ता गरेको हुन् । जुन छलफलमा पनि बालेनले ओलीसँगै प्रतिस्पर्धा गर्ने चाहना राखेका थिए ।
साथै उक्त प्रतिनिधि टोलीले बालेनलाई झापा – ५ मा रास्वपाका जुनै कार्यकर्ता उठेपनि ओलीलाई हराउन सकिने रिपोर्ट नै निकालिएको बताएको थियो । बालेनको भावी तयारी र कार्यकर्तासँगको भेटघाटले उनी झापामै चुनाव लड्ने संभावना बढ्दै गएको देखिन्छ । माघ ४ गते महानगरको मेयरबाट राजीनामा दिएर माघ ५ मा प्रतिनिधिसभा सदस्य मनोनयनका लागि बालेन तयार नै भइसकेका छन् ।
ओली–बालेन पुरानै टकराब !
काठमाडौं महानगरका मेयर बालेन र केपी शर्मा ओलीबीचको टकराब नयाँ होइन । स्थानीय तहको निर्वाचनमा पनि बालेन ओलीसहितका पूराना नेता तथा दलका शैली र चरित्रमाथि प्रश्न नै गरेर अप्रत्याशित जित निकालेका पात्र हुन् । मेयर रहँदा पनि उनले सँधै मुख्य दल र सत्ता नेतृत्वमाथि नै प्रश्न गरिरहे ।
तत्कालीन सत्ता नेतृत्व तथा ओलीसँगै पनि बालेनको टकराव चलि नै रह्यो । सुकुम्बासी बस्तीमा डोजर चलाउँदा होस् वा न्यू रोडको फुटपाथ बढाउँदा नै किन नहोस्, ओली–बालेनबीच सँधै टकराब चलि नै रह्यो । यही बखत बालेनले ओलीलाई झापाकै गिरिबन्धु टि–स्टेट जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोप नै लगाए । यसरी ओली–बालेन टकराब सामाजिक संजाल र कार्यसम्पादनकै शीलशीलामा पनि प्रत्यक्ष अप्रत्यक्ष संघर्ष चल्दै आएका थिए । तर यदी अब बालेनले झापा – ५ बाटै चुनाव लडेमा उनीहरुबीच वास्तविक भिडन्त हुने नै देखिन्छ ।
नतिजामा पूर्वानुमान कठिन
बालेन–ओली दुई पक्षिय भिडन्त भएमा कस्ले जित्ला ? भन्ने पूर्वानुमान गर्न कठिन छ । यो क्षेत्रमा लामो समयदेखि ओलीकै राज चल्दै आएकाले उनलाई पराजित गर्न बालेनलाई सहज भने छैन । तर पछिल्लो बदलिँदो राजनीतिक परिवेश र मतदाताका चेतनाका कारण विगतको परिणाम उल्टिन नसक्ने संभावना पनि उत्तिकै छ । आफ्नो संसदीय यात्रामा ओलीले झापा–५ मा एक पटक मात्रै हार व्यहोरेका छन् ।
पछिल्लो पटक ०७९ सालमा भएको आम निर्वाचनको मत परिणाम हेर्ने हो भनेपनि ओली ५२ हजार ३ सय १९ मतसहित भारी मतले निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतान्तरले पराजित गरेका थिए । यही आडमा उभिएर ओलीले नयाँहलाई नै लक्षित गर्दै अझै २० वर्ष उनीहरुले चुनाव नजित्ने दावी गर्ने गरेका छन् ।
तर ओलीकै पक्कड मानिएको यो क्षेत्रमा रास्वपा पनि कमजोर भने छैन । ०७९ कै निर्वाचनमा पहिलो पटक निर्वाचनमा सामेल भएको रास्वपाका उम्मेदवारले यो क्षेत्रमा ११ हजार सात सय ४९ मत पाएका थिए । पहिलो पटकको निर्वाचनमै रास्वपाले ल्याएको यो मतलाई पनि साधारण मान्न सकिन्न, तसर्थ पछिल्लो समयको परिवर्तित राजनीति र मतदातामा आएका चेतानाले बालेनप्रति पनि आकर्षण बढाएको छ । यसकारण पनि झापा – ५ मा ओली वा बालेनमध्ये यसैले जित्छ भनेर अहिलेनै निर्क्यौल गर्नु हतारो हुनेछ ।
