News 24 Television
देउवाको हठ र सुशीलको त्यो भविष्यवाणी, अन्ततः सग्लो रहेन काँग्रेस

काठमाडौँ । नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि सुशील कोइरालाले चेतावनी दिएका थिए— “देउवाको हातमा गए पार्टी सग्लो रहँदैन।” २०६७ असोज ६ गते कांग्रेस सभापति निर्वाचित भएपछि पनि देउवाप्रति सुशील कोइरालाको शंका मेटिएको थिएन।

गिरिजाप्रसाद कोइरालाका शब्द सापटी लिँदै सुशीलले बारम्बार भन्ने गर्थे— “कांग्रेसविरुद्ध ग्र्यान्ड डिजाइन छ।” २०६४ सालमा शेरबहादुर देउवा मूलधारमा फर्किए पनि २०५९ सालको कांग्रेस विभाजनको डोब मेटिएको थिएन।

सानत, सरल र सादगीपूर्ण नेता सुशील कोइरालाले १५ वर्षअघि गरेको यही भविष्यवाणी २०८२ पौष ३० गते आएर प्रमाणित भयो। जीवनको अन्तिम चरणसम्म पनि हठ त्याग्न नसकेका देउवाकै कारण देशको अग्रणी लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस पुनः विभाजनको स्थितिमा पुगेको छ। कांग्रेस विभाजनका कारणहरू बहुआयामिक छन्, जुन क्रमशः सतहमा आउनेछन्।

यसपटक देखिएको कांग्रेसको संकटलाई अघिल्ला विभाजन वा अन्य दलका विभाजनसँग तुलना गर्न सकिए पनि अवस्था फरक छ। कारण— यो विशेष महाधिवेशन हो।

भदौ २३–२४ मा उत्पन्न परिस्थितिपछि पार्टी रूपान्तरणको माग गर्दै ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरे। विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउन बाध्यकारी अवस्था थियो। तर सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले महाधिवेशन बोलाउन इन्कार गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरे।

विशेष महाधिवेशन उद्घाटनको दिनसम्म पनि देउवा अन्योलमै रहे। ‘छ भाइको जन्जीर’ बाट बाहिर निस्कन नसकेका देउवा तब मात्रै ब्युँझिए, जब महाधिवेशन नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गर्‍यो। तर त्यतिबेला धेरै ढिला भइसकेको थियो। त्यसैमाथि उनको हठले परिस्थितिलाई अझ जटिल बनायो।

अब कांग्रेस विवादको निरूपण निर्वाचन आयोग र अदालतबाट हुनेछ। देउवा समूहले सरकारी कार्यालय बन्द हुने बेला गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाहीको घोषणा गर्‍यो। उता भृकुटीमण्डपमा गगन र विश्व सभापति तथा उपसभापतिको शपथ लिइरहेका थिए।

कारबाहीको निर्णयअघि नै पत्र बनाएर निर्वाचन आयोगमा पठाइएको थियो। गगन–विश्वलाई कारबाहीको पत्र बोकेर निर्वाचन आयोग पुग्ने पात्र बनेका छन्— बद्री पाण्डे।

आफूमाथि कारबाही घोषणा भएपछि भृकुटीमण्डपबाट गगन थापाले भने— “सधैँ सेटिङ चल्दैन। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिन्छ। कांग्रेस यहीँ छ, रूख यहीँ छ, झण्डा यहीँ छ।”

गगन–विश्वसँग देश बनाउने एजेन्डा

कांग्रेस विभाजनपछि कुन समूहले आधिकारिकता पाउँछ भन्ने प्रश्न अब निर्वाचन आयोगको हातमा पुगेको छ। आयोगले निर्णय दिन नसके यो विवाद सर्वोच्च अदालत पुग्नेछ। २०५९ सालमा देउवाले पहिलोपटक कांग्रेस विभाजन गरेपछिको विवाद पनि सर्वोच्च अदालतबाटै टुंगिएको इतिहास अझै ताजा छ।

संविधानविद्हरू स्पष्ट रूपमा भन्छन्— विशेष महाधिवेशनले गरेको निर्णय वैध हुन्छ। उनीहरूको तर्क छ, “पार्टीको सर्वोच्च निकाय महाधिवेशन हो, जसले नीति र नेतृत्व दुवै परिवर्तन गर्न सक्छ।”

वैधता जसले पाए पनि गगन–विश्वसँग जनतामा जाने एजेन्डा छ, देशको समस्या समाधान गर्ने रोडम्याप छ र सबैभन्दा ठूलो कुरा— जनविश्वासको पुँजी छ। कार्यकर्तामा उत्साह थपिएको छ।

कारबाहीपछि बन्दसत्रमा विश्वप्रकाश शर्माले भनेका थिए— “कांग्रेसको नेतृत्व गर्न र देश बदल्न सक्ने दह्रो मान्छे गगन थापा हुन्।”

गगन–विश्वका लागि मुख्य चुनौती भनेको प्रतिनिधिहरूलाई होल्ड गर्न सक्नु हो। निर्वाचन आयोग वा सर्वोच्च अदालतले सनाखतका लागि बोलाएमा भौतिक उपस्थिति गराउनुपर्ने चुनौती उनीहरूसामु रहनेछ। यो अवधिमा प्रतिनिधि तानातानका अस्वस्थ खेल हुनसक्ने सम्भावना पनि छ, जसमा देउवा समूह माहिर मानिन्छ, किनभने पार्टी र राज्यसत्ताको स्रोत उनीहरूसँग छ।

तर जनतासँग मुख देखाउने साहस देउवामा अब बाँकी छैन।

दोस्रोपटक कांग्रेस विभाजनतर्फ धकेलेर देउवाले राजनीतिक र नैतिक दुवै रूपमा पराजय व्यहोरेका छन्। प्रजातन्त्र दरबारमा बुझाएको र पार्टी विभाजन गरेको पुरानो कलंकमाथि उनले अर्को उपाधि थपेका छन्— दोस्रोपटक कांग्रेस विभाजन गराउने नेता।

“पार्टी मैले होइन, गगन–विश्वले फुटाए” भनेर उम्किने छुट देउवाले पाउने छैनन्। कांग्रेस विभाजन देउवाको हठकै परिणाम हो भन्ने बुझ्न राजनीति शास्त्रका ग्रन्थ पल्टाउनुपर्दैन। तीन महिनापछि अनिवार्य अवकाशमा जानुपर्ने थाहा हुँदाहुँदै पार्टी विभाजनतर्फ लैजानु देश र पार्टीप्रति गरिएको धोका हो।

आज देउवाको हातमा न त राजनीतिक एजेन्डा छ, न त जनतामा जाने आत्मविश्वास। बाँकी छ— औचित्य गुमाइसकेको पुरानो केन्द्रीय समितिको बहुमत, जसको कुनै अर्थ छैन।

देउवासँग अझै देश, जनता र कांग्रेसप्रति इमान्दारिता छ भने गगन–विश्वमाथि गरिएको कारबाही फिर्ता लिएर पार्टी रूपान्तरणमा योगदान गर्नुपर्छ।

पार्टी विभाजन गरेर देउवाले केही उपलब्धि हासिल गरेका छैनन्। केही गुट र गिरोहबाहेक कसैले ‘देउवाले पार्टी बचाए’ भनेर धन्यवाद दिने छैन। बरु विभाजनको अपजस मात्र उनको भागमा पर्नेछ।

ढिलो–चाँडो कांग्रेस फेरि एक ठाउँमा आउनैपर्छ। पार्टी एकता बिना सुख छैन। अस्तित्व जोगाउन साना दलहरू एक हुँदै गएको अवस्थामा ठूला दल फुट्नु देशलाई अस्थिरतामा धकेल्ने काम मात्र हो।

देउवाले नगरे पनि, उनको जन्जीरबाट मुक्त भएपछि कुनै न कुनै नेताले कांग्रेस एकताको पहल गर्नेछ। कांग्रेस विभाजनका कारण सम्भवतः फागुन २१ गतेका लागि तोकिएको निर्वाचन समेत प्रभावित हुने देखिन्छ।
 

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update