काठमाडौँ । आगामी स्थानीय तहको निर्वाचनमा फेरि कम्युनिष्ट गठबन्धनको हुने संकेत देखिएको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा निर्वाचन हुने भएमा स्थानीय तह तथा प्रदेशको निर्वाचन आउन अब करिब ५ महिना मात्रै छ । यो निर्वाचनको लागि कम्युनिष्ट एकता हुने संभावना प्रवबल रुपम बढेको छ । नेकपा एमाले तथा नेकपा नेताहरुले नै खस्किँदो जनमतलाई उक्साउन अब वाम गठबनधन गर्नुपर्ने विषय उठाउन थालेका छन् । पछिल्लो समय वाम घटकहरुको नेतृत्व गरिरहेका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली तथा नेकपा संयोजक प्रचण्डसँग जनमत विकर्षित छ ।
पटक पटक सत्तामा पुगेर पनि जनभावना अनुसार काम गर्न नसकेको भन्दै पछिल्लो समय युवा पङ्तिसमेत उनीहरुको विपक्षमा उभिएका छन् । जसको परिणामस्वरुप गत फागुन २१ को निर्वाचनमा जनमत रास्वपाप्रति प्रकट भयो । तर अब यही निर्वाचनको हारबाट पाठ सिक्दै ओली प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबनधन गर्दै पार्टी एकताको तयारीसम्म पुग्ने जुक्ति निकालेका हुन् । यो विषय नेतृत्व तहबाट अभिव्यक्त नभएपनि पार्टीका नेता तथा कार्यकर्ता तहमा यही गृहकार्य भइरहेको देखिन्छ ।
उता एमालेकै शिर्ष नेताहरुलेसमेत आगामी निर्वाचन पपुलिष्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्षको रुपमा व्याख्या गरिरहेका छन् । आफूलाई लोकतान्त्रिक शक्ति र रास्वपा लगायतका अन्य दललाई पपुलिष्ट मान्ने एमाले तथा नेकपाले स्थानीय र प्रदेशको निर्वाचनलाई राष्ट्रपति तथा राष्ट्रियसभाको निर्वाचनसम्मलाई जोडेर हेरिरहेको छ । यो कारण पनि माथिल्लो तहमा प्रभाव राख्नेगरी एमाले र नेकपाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निश्चित देखिन्छ ।
आगामी वर्ष नै राष्ट्रियसभा तथा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यही निर्वाचनमार्फत राष्ट्रियसभा तथा राष्ट्रपति निर्वाचनमासमेत कम्युनिष्टको बर्चश्वलाई कायम गर्न पुराना एमाले र नेकपा ध्रुवीकृत हुन बाध्यात्मक अवस्थामा पुगेका हुन् ।
नेकपा प्रवक्ताले नै भने– ‘वाम एकता हुने निश्चित’
कार्यकर्तासहित तल्लो तहमा आगामी निर्वाचनमा पगठबन्धन गर्ने चर्चा चल्दा नेकपा प्रवक्ता प्रकाश ज्वालाले पनि दुई दलबीच सहकार्य निश्चितजस्तै भएको बताएका छन् । बुधबार सल्यान पुगेका प्रवक्ता ज्वालाले सहकार्यसँगै एकतालाई पार्टीले मुख्य प्राथमिकतामा राखेको विषय कार्यकर्तालाई ब्रिफिङ गरे । उनले नेकपाले पार्टी एकताका लागि समेत वार्ता टोली गठन गरेको जनकारी दिएका छन् । भावि एकता र सहकार्यका लागि भन्दै नेकपा र नेकपा एमालेले हाल सबै प्रदेशमा गठबन्धन गरिसकेका छन् ।
पछिल्लो समय मधेशमा समेत काँग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन एमाले र नेकपाले फिर्ता लिएर समान धारणा निर्माण गर्ने प्रयास गरेको देखिन्छ । दुई दलले यसरी एकता र सहकार्यको प्रयासलाई जारी राख्दा एमाले अध्यक्ष केपी शर्मा ओली भने प्रमुख बाँधा पर्ने खतरा पनि उत्तिकै छ । यी दुई पार्टीले विगतमा पनि एकता र सहकार्य गर्दा प्रचण्ड र केपी ओलीकै टकरावले पार्टी विभाजन भई सरकार नै ढल्न पुगेको थियो ।
त्यसयता पनि एमालेमा ओलीको विकल्प खोजिनुपर्ने आवाज अझै उठ्दैछ । अर्कोतर्फ नेकपामा पनि ओली एमालेको नेतृत्वमा रहिञ्जेल एकता असम्भव रहेको भन्ने पंति बाक्लै छ । यसकाराण हालको वाम गठबन्धनको प्रयास कतिसम्म सफल होला ? यो प्रश्न भने अझैसम्म जिवित देखिन्छ ।


