News 24 Television
सबैभन्दा बढी एकता गर्ने दल नेकपासँग किन जोडिएनन् कुलमान ?

काठमाडौँ । रास्वपासँग पार्टी एकताको सहमति गरेर मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङ प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा जाने चर्चा थियो । तर उनले हालसम्म नेकपामा जानेबारे कुनै संकेत दिएका छैनन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष रहेका घिसिङले आफ्नो पार्टी र नवगठित नेकपाबीच एकता हुन लागेको भनी फैलाइएका चर्चा भ्रामक रहेको भनी पूर्ण रूपमा अस्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उनले यस्ता समाचारलाई ‘भ्रामक र असत्य’ भनेका छन् । घिसिङका अनुसार उज्यालो नेपाल पार्टी कुनै पनि अन्य दलसँग विलीन नभई आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढ्ने अडानमा रहेको छ । उनको यो स्पष्टीकरणले घिसिङको आगामी राजनीतिक गन्तव्यबारे भइरहेका अड्कलबाजीहरूलाई नयाँ मोड दिएको छ । बरु उनले साना र नयाँ पार्टी एवं समूहलाई आफ्नो साथमा लिएर जाने संकेत गरेका छन् । 

रास्वपासँगको एकताबाट ब्याक भएसँगै कुलमानको पार्टीले समानुपातिक उम्मेदवार समेत गुमायो । पुस १४ मा भएको सातबुँदे सहमतिअनुसार उज्यालो नेपाल पार्टीका १८ उम्मेदवार रास्वपाको चुनावचिह्नबाट बन्दसूचीमा सामेल गरिएका थिए । एकता भङ्ग भएपछि रास्वपाले निर्वाचन आयोगमा निवेदन दिई कुलमान पक्षका अधिकांश नाम हटाएको छ भने रास्वपामै रहने निर्णय गरेका रिमा विश्वकर्मा र अभिषेकराज सिंहलगायतलाई पनि कुलमानले गुमाएका छन् । रास्वपाले आफूहरूलाई अल्मल्याएर धोका दिएको आरोप लगाउँदै कुलमानले अब देशका सबै १६५ निर्वाचन क्षेत्रबार्ट आफ्ना प्रत्यक्षतर्फका उम्मेदवार उठाउने घोषणा गरेका छन् । यद्यपि संगठन विस्तार नभएको र नयाँ दल रहेकाले चुनावी तालमेलबिना देशभरि उम्मेदवार उठाउन सम्भव देखिन्न । चुनावसम्म उनी नेकपा या अन्य कुनै दलसँग तालमेलमा जान सक्ने सम्भावना जीवितै छ । 

उता नेकपाले भने ससाना पार्टी र समूहलाई आफूमा समाहित गरेर देशकै पहिलो दल बन्ने सपना बुनेको छ । बुधबारसम्म नेकपामा २० वटाभन्दा बढी कम्युनिस्ट घटक दल वा समूह एकीकृत भइसकेका छन् । मंगलबार एकीकृत नेकपाका शीर्ष नेता लगायत २ हजार ४९९ सदस्यीय जम्बो केन्द्रीय समितिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । सो क्रममा संयोजक प्रचण्डले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक संस्कारले मात्रै मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न नसकिने बताए । नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै वर्तमान राजनीतिक संकटको सामना गर्न सकिने उनको भनाइ थियो । सबै राजनीतिक दलहरूले विगतका कमजोरीबारे आत्मसमीक्षा गर्न आवश्यक रहेको बताउँदै मुलुकको विद्यमान विषम परिस्थितिमा राष्ट्रिय एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधिनतालाई मजबुत बनाउने उद्देश्यसहित विभिन्न पार्टीहरुबीचको एकता प्रक्रियालाई अगाडि बढाइएको बताए । 

बुधबार मात्रै नेकपासँग थप एक समूहले एकता गरेको छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)का संयोजक सुमन सायमीलाई प्रचण्डले नेकपामा प्रवेश गराएका हुन् । सायमी चर्चित गुठी आन्दोलनका नेता हुन् भने उनले काठमाडौंमा विभिन्न खालका सामाजिक जागरण अभियानको पनि नेतृत्व गर्दै आएका छन् । राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँग भ्रष्टाचार नियन्त्रण, गुठी आन्दोलन, सहकारी आन्दोलनको मर्मअनुसार अघि बढने संकल्पसहितको समझदारी गरिएको नेकपाले जनाएको छ ।

आगामी निर्वाचनलाई लक्षित गरी सबैभन्दा बढी पार्टी वा समूहबीच एकता गर्ने दल बनेको छ नेकपा । अन्य पार्टीहरु समेत चुनाव लक्षित ध्रुवीकरणमा गइरहँदा कुलमान नेतृत्वको उज्यालो पार्टीले पनि ‘राष्ट्रिय परिवर्तन पार्टी’ लगायत नयाँ साना दल र समूहसँग सहकार्य अघि बढाएका छन् । यद्यपि उनी आफ्नो पार्टीको नाम र चुनाव चिह्नसँग कसैसँग सम्झौता गर्ने पक्षमा छैनन् । विगतमा कुलमान प्रचण्ड नेतृत्वकै माओवादी पार्टी निकट मानिन्थे, तर वर्तमानमा अलग दल र अभियान चलाएर उनले आफू स्वतन्त्र रुपले अघि बढ्न खोजेको सन्देश दिएका छन् । 


 

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update