News 24 Television
गगन नेतृत्वको काँग्रेस आधिकारिक, संस्थापन पक्ष रूष्ट

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा निर्वाचन आयोगले शुक्रबार निर्णय  दिएको छ । विशेष महाधिवेशन पक्षधरलाई नै आधिकारिक काँग्रेसको मान्यता दिएपछि संस्थापन पक्ष रुष्ट भएको छ  । 

दुवै पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन र आवश्यक विवरण बुझाएका थिए । गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हालै सम्पन्न विशेष महाधिवेशन कानुनी र विधानसम्मत रहेको ठहर गर्दै आयोगले त्यसबाट चयन भएका पदाधिकारीहरूको विवरणलाई काँग्रेस पार्टीका रुपमा अद्यावधिक गर्ने निर्णय गरेको हो । 

आयोगको यो निर्णयसँगै गगन–विश्व समूहको कार्यसमितिले आधिकारिकता पाएको छ भने शेरबहादुर देउवा नेतृत्वको पुरानो (संस्थापन) कार्यसमिति स्वतः अमान्य भएको छ । यद्यपि असन्तुष्ट संस्थापन पक्षलाई सर्वोच्च अदालत जाने बाटो भने बाँकी नै छ ।

आयोगको निर्णयपछि देउवा पक्षले आपत्ति जनाएको छ । आयोगको निर्णयलाई ‘षडयन्त्रपूर्ण’ र ‘त्रुटिपूर्ण’ भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आपत्ति प्रकट गरेका छन् । पुरानो निर्वाचित सभापतिसँग कुनै परामर्श नगरी आयोगले एकपक्षीय निर्णय गरेको आरोप लगाउँदै उनले यस निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने चेतावनी दिए । साथै उनले देशभर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update