काठमाडौं । परम्परागत गढ, जोखिमपूर्ण उम्मेदवारी र नयाँ राजनीतिक अनुहारहरूबीच फागुन २१ को निर्वाचन देशको भावी राजनीतिक दिशा तय गर्ने निर्णायक क्षण बन्दै गएको छ । प्रतिनिधिसभा निर्वाचन अब केवल संवैधानिक औपचारिकतामा सीमित रहेन । यसले नेपालको राजनीतिक संरचना, नेतृत्वको विश्वसनीयता र मतदाताको बदलिँदो मनोविज्ञानलाई एकैसाथ परीक्षण गर्ने चरणमा प्रवेश गरिसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारकै प्रवक्ता चुनाव लड्ने योजनामा छन् भने राष्ट्रिय सभा सदस्यदेखि स्थानीय तहका प्रमुखहरु धमाधाम राजीनामा दिएर टिकटको खोजीमा छन् ।
फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा देशको राजनीतिक तापक्रम बढेको छ । यो निर्वाचन अब मतपेटिकाभित्र सीमित प्रतिस्पर्धा मात्र नभई चर्चित नेता, विवादस्पद पात्र र उदीयमान राजनीतिक अनुहारहरूको खुला शक्ति परीक्षणको मैदान बन्दै गएको छ । को–कसले कहाँबाट उम्मेदवारी दिनेछन् भन्ने प्रश्नसँगै किन त्यही क्षेत्र रोजियो भन्ने राजनीतिक सन्देशले पनि बहसलाई तीव्र बनाएको छ । परम्परागत गढ जोगाउने रणनीति र प्रतिद्वन्द्वीको बलियो किल्लामै चुनौती दिने साहसी कदमबीचको द्वन्द्वले निर्वाचनलाई थप रोचक बनाउने देखिएको छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्ष निर्वाचन हुने १ सय ६५ क्षेत्रका लागि माघ ६ गते मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका छ ।
चर्चित अनुहारः को–कहाँबाट मैदानमान उत्रिदै छन् ?
काठमाडौँ महानगरका नगर प्रहरी प्रमुखबाट राजीनामा दिएका राजुनाथ पाण्डे, राष्ट्रियसभाबाट राजीनामा दिए वामदेव गौतम, र नारायणकाजी श्रेष्ठ, गठबन्धनसहित मैदानमा उत्रिएका लालवीर चौधरी, पार्टी फेरेर सुरक्षित टिकट खोजेका वीरेन्द्रकुमार कनौडियादेखि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल चर्चाको केन्द्रमा छन् । सबैभन्दा चासोको केन्द्र बनेको झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको गढमै नयाँ चुनौती उभिँदै छ ।
बालेनका ‘सारथि’ राजुनाथ पाण्डेः प्रशासनबाट राजनीतितर्फ
काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएसँगै उनी राजनीतिक वृत्तको केन्द्रमा आएका छन् । महानगरमा मेयर बालेन शाहका ‘एक्सन ओरिएन्टेड’ सारथिका रूपमा चिनिएका पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन् । २०७९ भदौमा तत्कालीन प्रमुख धनपति सापकोटालाई हटाएर बालेनले पाण्डेलाई नगर प्रहरी प्रमुख बनाएका थिए । कडा स्वभाव र निर्णय क्षमताका कारण चर्चामा रहेका पाण्डे काठमाडौँ–४ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा जुटेका छन् ।
वामदेव गौतमः पुरानो किल्लामा पुनरागमन
नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता वामदेव गौतम फेरि एकपटक पुरानै राजनीतिक मैदान बर्दिया–१ फर्कँदै छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएपछि उनले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिने भएका छन् । २०४८ सालदेखि बर्दिया–१ लाई आफ्नो राजनीतिक आधार बनाएका गौतम २०७४ मा कांग्रेस नेता संजयकुमार गौतमसँग पराजित भएका थिए । त्यसपछि यो क्षेत्रबाट चुनाव नलडेका गौतमको पुनरागमनलाई अन्तिम शक्ति परीक्षणका रूपमा लिइँदै छ ।
नारायणकाजी श्रेष्ठः राष्ट्रियसभाबाट प्रतिनिधिसभातर्फ
नेकपा नेता नारायणकाजी श्रेष्ठ पनि फागुन २१ को निर्वाचनमा सर्लाही–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन् । राष्ट्रियसभाको कार्यकाल सकिन लाग्दा उनी सिधै जनप्रतिनिधि बन्ने आकांक्षासहित मैदानमा उत्रिएका हुन् । अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट एमालेका हरिप्रसाद उप्रेती विजयी भएका थिए । प्रतिस्पर्धात्मक क्षेत्र रोज्नुले श्रेष्ठको राजनीतिक आत्मविश्वास देखाउने विश्लेषण भइरहेको छ ।
लालवीर चौधरीः स्वतन्त्रबाट गठबन्धनसम्म
बर्दिया–२ मा नेकपाबाट रेशम चौधरीका बुवा लालवीर चौधरीको उम्मेदवारी पक्का भएको छ । यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका चौधरीले गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतले पराजित गरेका थिए । २६ हजार ५२० मतसहित विजयी भएका चौधरी रेशम पिता रञ्जिता श्रेष्ठका ससुरा हुन् । उनको उम्मेदवारीले बर्दियाको राजनीति फेरि तातेको छ ।
वीरेन्द्रकुमार कनौडियाः पार्टी फेरेर ‘सुरक्षित टिकट’
नेपाली कांग्रेसका पूर्वमन्त्री वीरेन्द्रकुमार कनौडिया एमाले प्रवेशसँगै कपिलवस्तु–३ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै उनलाई टिकट दिएका हुन् । कांग्रेसबाट प्रदेशसभा सदस्य र संसदीय दल नेता भइसकेका कनौडिया व्यवसायिक पृष्ठभूमिका प्रभावशाली नेता मानिन्छन् । पार्टी परिवर्तन गरेर सुरक्षित क्षेत्र खोज्नु उनको रणनीतिक कदमका रूपमा हेरिएको छ ।
जगदीश खरेलः मन्त्री पदसँगै उम्मेदवारीको संकेत
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । यद्यपि उनले पार्टी र क्षेत्र खुलाएका छैनन् । तर ललितपुर–२ बाट चुनाव लड्ने चर्चा छ । मन्त्री खरेलको गृह जिल्ला दोलखा भएकाले उनी त्यहीँबाट उठ्न सक्ने अनुमान पनि गरिएको छ । राजनीतिक वृत्तमा उनी नेपाली कांग्रेस वा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्ये एकबाट उम्मेदवार बन्न सक्ने चर्चा छ ।
झापा–५ः ओलीको गढमा नयाँ चुनौती
झापा–५ यसपालि सबैभन्दा चासोको केन्द्र बनेको छ । नेकपाले यहाँबाट रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ । तामाङ अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् । यो क्षेत्र एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो र यसपालि पनि ओली नै उम्मेदवार हुने पक्का छ । त्यसमाथि राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई उम्मेदवार बनाउने चर्चा चलिरहेकाले झापा–५ त्रिकोणात्मक प्रतिस्पर्धाको सम्भावित केन्द्र बन्दै गएको छ ।
समग्रमा, फागुन २१ को निर्वाचन जित हारको सामान्य गणितभन्दा माथि उठिसकेको छ । यो निर्वाचनले मतदाताले पुरानै अनुहारलाई अन्तिम अवसर दिने कि नयाँ विकल्प खोज्ने भन्ने स्पष्ट संकेत दिनेछ । साथै, आन्दोलनपछिको संक्रमणकालीन राजनीतिमा जनता कति विश्वस्त छन् भन्ने प्रश्नको उत्तर पनि यही निर्वाचनले दिनेछ । मतपेटिकाबाट निस्कने निर्णयले केवल सरकार मात्र नभई आगामी वर्षहरूका लागि नेपालको राजनीतिक दिशा, नेतृत्वको चरित्र र लोकतान्त्रिक भरोसासमेत निर्धारण गर्नेछ ।
