काठमाडौं । फागुन २१ मा हुने आमचुनावमा जेनजी उम्मेदवारको न्युन सहभागिता देखिएको छ । भ्रष्ट्राचार न्युनिकरण, सुशासन र बुढ््यौली नेतृत्वको विदाई जस्ता एजेण्डामा आन्दोलन सफल भएपनि सहभागिता कमजोर देखिएको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवार सुचिमा २५ देखि ३५ बर्ष उमेर पुगेका युवाको संख्या ५ सय ८३ मात्रै छ । बरु जेजनीका नाममा मन्त्री बनेकाहरु सरकारबाट फुत्त निस्किएर उम्मेदवार बनेका छन् । यसले जेनजी आन्दोलनको बलमा हुन लागेको निर्वाचनमा जेनजी प्रतिनिधत्व न्यून हुने देखिएको छ ।
मुलुक ताजा जनादेशको संघारमा छ । फागुन २१ का लागि तय गरेको निर्वाचनको प्रत्यक्षतर्फ मनोनयन पनि सकिसकेको छ । अब उम्मेदवारहरुले निर्वाचना चिन्ह पाएपछि चुनावी मैदानमा उत्रिनेछन् । राजनीतिक दलहरु र स्वतन्त्र उम्मेदवारहरुले उल्लासपूर्ण ढंगले मनोनयन गरेसँगै मुलुक चुनावमय बनेको छ । तर निर्वाचनमा जेनजीको सहभागिता कमजोर देखिएको छ । देशभर फाट्टफुट्ट उम्मेदवार मात्रै बनेका छन् ।
राजनीतिक दलहरुबाट जेनजी उम्मेदवार न्यून छ । यसले जेनजी आन्दोलन औचित्यले कसरी सार्थकता पाउला ? प्रश्न उठेका छन् । राजनीतिक दलहरुले स्थान नदिए पनि केही जेनजीहरुले स्वस्फूर्त रुपमा स्वतन्त्र उम्मेदवारी दिएर दलका नेताहरुलाई चुनौती दिएका छन् । शहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रहरु पनि जेनजीहरुले ठूला दलका उम्मेदवारहरुलाई चुनौति दिएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मनोनयन दर्ता हुने उम्मेदवारलाई चार समुहमा विभाजन गरी सूची सार्वजनिक गरेको छ । जसमा सबैभन्दा कम जेनजी उमेर समुहका रहेका छन् । २५ देखि ३५ बर्ष उमेरका ५ सय ८३ जना उम्मेदवारले मात्रै मनोनयन दर्ता गरेका छन् । यसले जेनजी आन्दोलनको मर्म र भविष्यबारे समेत प्रश्न उठेको छ ।
भदौँ २३ र २४ को जेनजी आन्दोलनको उद्देश्य थियो, भ्रष्ट्राचार नियन्त्रण र सुशासन । यी दुबै महत्पूर्ण मुद्धा जेनजीका माग हुन् । हुनत जेनजी आन्दोलन हाइज्याक भएको विश्लेषण पनि नभएका होइनन् । यद्यपि चुनाव पछिको नयाँ सरकारले जेनजीको मर्मलाई आत्मसाथ गर्ने गर्ने विश्वास गरिएको छ । जेनजी आन्दोलनपछि देश चुनावमय हुँदा केहि जेनजी समुह भने सडक आन्दोलनमा छन् । चुनावी बाटोतर्फ जाँदा त्यसले सम्भावित दुर्घटना निम्त्याउन सक्ने भन्दै मिराज ढुंगाना लगायतको समूह निर्वाचन बहिस्कार भनिरहेका छन् ।
मनोनयन दर्तामा जेनजी युवाको सहभागिता किन कम ?
–जेनजी राजनीतिक दलको छहारीमा जानु
–संगठित नहुनु
–एजेण्डामा एकरुपता नहुनु
–निर्णय क्षमताको कमी
–बौद्धिकता र नेतृत्वको कमी
जेनजी आन्दोलनपछि परम्परागत राजनीतिक शक्तिमा भने भुकम्प नै गएको छ । नेपाली कांग्रेसमा विद्रोह गर्दै गगन थापाले पार्टी नेतृत्व नै आफ्नो पक्षमा पारेका छन् । कांग्रेस भित्रको यस परिर्वतनमा पनि जेनजी विद्रोहको ठुलो असर परेको प्रस्टै छ । तर उनीहरुले पनि जनेजी युवालाई समेट्न सकेका छैनन् ।
जेनजी आन्दोलनको स्टेकहोल्डर रास्वपा ?
जेनजीको अगुवाई गरिरहेको दल रास्वपाले भने जेनजीका अगुवालाई पार्टीमा भित्राउनेदेखि प्रत्यक्ष र समानुपातिकको उम्मेदवार बनाएको छ । यसले रास्वपा माथि प्रश्न र आशंका उब्जिएका छन् ।
जेनजी आन्दोलनको स्टेक होल्डर रास्वपा त होेइन ? भन्ने आशंकाहरु उब्जिएका छन् । रास्वपाबाट सुदन गुरुङ गोर्खा १ को उम्मेदवार बन्दा पुरुषोत्तम यादव समानुपातिकका कोटामा छन् । जेनजी आन्दोलनकै बलमा सुशीला कार्की नेतृत्वको सरकारमा गएका चार मन्त्री राजीनामा दिएर निर्वाचनमा होमिएका छन् । स्वतः स्फुर्त रुपमा भएको भनिएको जेनजी आन्दोलनले पछिल्लो समय राजनीतिक दलको रंगमा बदलिन थालेपछि गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।
