काठमाडौं । संसद कानून निर्माण गर्ने मुख्य थालो हो । त्यही संसदमा पुग्नका लागि आगामी फागुन २१ गते प्रतिननिधिसभाको निर्वाचन हुन लागेको हो । उक्त कानून निर्माण गर्ने थलोमा पुग्नका लागि किसिम किसिममा ब्यक्तिहरु चुनावी प्रतिष्पर्धामा छन् । जसले मतदातालाई आकर्षण गर्न भन्दै अनेक प्रपञ्च गरिरहेका छन् । मतदातासँग भोट माग्दै गरेका ती उम्मेदवारहरुले अनेक थरिका चटक देखाएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी तापक्रम चुलिएको छ । तर यसपटक चुनावको लडाइँ केवल मञ्च, माइक र घोषणापत्रमा सीमित छैन ।
राजनीति अब चिया पसल, भान्सा, गल्ली, खेतबारी, मोबाइल फोनदेखि सामाजिक सञ्जालसम्म फैलिएको छ । उम्मेदवारहरू भाषणभन्दा जीवनशैली, नाराभन्दा अनुभूति र वाचा भन्दा प्रत्यक्ष सम्पर्कमा विश्वास गर्न थालेका छन् ।
कतै उम्मेदवार ढोगेर भोट मागिरहेका छन्, कतै साइकल चलाउन सिक्दै, कतै जेरी पकाउँदै, कतै फोहोर उठाउँदै, त कतै मोबाइलमार्फत बाबुआमा र हजुरआमालाई सम्झाउँदै । भोटकै लागि मतदाता सामु उम्मेदवारहरुले देखाएको चटक विचित्रको छ । चुनाव अब दलहरूको मात्र प्रतिस्पर्धा नभई शैली, छवि र जनतासँग जोडिन सक्ने क्षमताको पनि लडाइँ जस्तो बनेको छ ।
झापा–५
सत्ता र परिवर्तनको आमनेसामने
झापा क्षेत्र नम्बर–५ यसपटक देशकै सबैभन्दा बढी चासोको निर्वाचन क्षेत्र बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका ‘फेस’ बालेन्द्र शाह (बालेन) एकै ठाउँबाट मैदानमा उत्रिएका छन् । ओली सत्ता, अनुभव र राज्य संयन्त्रको प्रतिनिधि हुन् । बालेन परिवर्तन, असन्तोष र नयाँ पुस्ताको आवाज । दुवैका लागि यो चुनाव जित मात्र नभई प्रतिष्ठाको लडाईँ बनेको छ ।
बालेन
भाषणभन्दा मौन, नाराभन्दा सुन्ने राजनीति
बालेनले दमक–५ मा एउटा साधारण घर भाडामा लिएर त्यहीँ बसेर मतदाता भेटिरहेका छन् । उनले परम्परागत घरदैलो छाडेर मतदाता आफैँ आउने अनौठो रणनीति अपनाएका छन् । बुधबार बिहानदेखि बेलुकासम्म उनको डेरा युवा, वृद्ध, महिला, जिज्ञासु नागरिक र आफ्ना गुनासा बोकेका आम मानिसहरू भीडले भरिएका थिए । कोही बेरोजगारीको कथा सुनाउँदै त कोही स्थानीय समस्या, कोही राजनीतिप्रति निराशा । बालेन धेरै बोल्दैनन् । उनी सुन्छन् । बाटोमा हिड्दा पनि उनको स्टाइल हात हल्लाउने, नागरिकका कुरा सुन्ने, हात मिलाउने, फोटो खिच्न चाहानेसँग पोज दिने र नमस्कार गरेर हिड्ने रहेका देखिन्छन् बालेन ।
ओली
विकास र अनुभवी नेतृत्वको दाबी
उता ओली भने आफ्नो पुरानै, तर परीक्षित शैलीमा चुनावी मैदानमा छन् । उनी दिनहुँ चिया पसलदेखि सभा–सम्मेलनसम्म कार्यकर्ता र मतदातासँग भेटघाट गरिरहेका छन् । उनका भाषण र संवादको केन्द्रमा दमक, कमल, गौरादह, गौरीगञ्जमा भएका सडक, अस्पताल र पूर्वाधारका काम छन् । उनी आफूलाई ‘काम गरेर देखाएको नेता’ का रूपमा प्रस्तुत गर्दै राष्ट्रियता, स्थायित्व र युवाको भविष्यको मुद्दा जोडेर जनमत बनाउने प्रयासमा छन् । ओली भदौ २३ र २४ गतेको आन्दोलनलाई विध्वंस भन्दै आपराधिक कृयाकलापमा संलग्नहरू कानुनी दायरामा आउने चेतावनी दिइरहेका छन् ।
रौतहटमा जेरी र आरा, धरानमा झाडु र गीत
झापामा मात्र सीमित छैन नयाँ चुनावी शैली । रौतहट–४ मा पत्रकार ऋषि धमलाको चटक पनि विचित्रको छ । कहिले आरा समाएर काठ चिर्दै, कहिले पसलमा भान्साको काम गर्दै, कहिले जेरी पकाउँदै, कहिले खेतमा उखु बोक्दै भोट मागिरहेका छन् । उनका यी दृश्यहरू सामाजिक सञ्जालमा भाइरल छन् ।
धरानमा हर्क साम्पाङको अभियान झन् उर्जाशील छ । उनका समर्थकहरू गीत बजाउँदै गल्ली–गल्ली पुग्छन्, बोरा बोकेर सरसफाइ गर्छन् र मत पनि माग्छन् । चुनावी प्रचारभन्दा बढी यो सामाजिक आन्दोलनजस्तो देखिन थालेको छ । त्यस्तै, गुल्मी–१ मा रास्वपाका सागर ढकालले ‘घर फोन गर महाअभियान’ सुरु गरेका छन् । समर्थकलाई बाबुआमा, हजुरबुवा–हजुरआमा र आफन्तलाई फोन गरेर आफ्नो पक्षमा सम्झाउन आग्रह गरिएको छ ।
यसले चुनावलाई गाउँको बैठकदेखि खाडी र कोरियासम्म पु¥याएको छ । रास्वपाका अन्य उम्मेदबारहरूले पनि यही शैली अपनाएका छन् । त्यस्तै हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक तथा आफूलाई जेनजी अगुवा दाबी गर्ने सुदन गुरुङ गोरखा–१ ः मतदाता रिझाउन भारी बोक्दै हिडेका छन् ।
चुनावको नयाँ अनुहार
ढोग, सेल्फी, जेरी, झाडु र फोन कल अब आधुनिक नेपाली राजनीतिका चुनावी हतियार बनेका छन् । मतदाता अब केवल भाषण सुन्ने दर्शक होइन राजनीतिमा प्रत्यक्ष सहभागी बन्न थालेका छन् । मतदाताले भाषणभन्दा व्यवहार, नाराभन्दा अनुभूति र वाचाभन्दा इमानदार संवाद खोजिरहेका छन् ।
बालेनको मौन सुन्ने शैली होस् वा ओलीको विकासको दाबी, ऋषि धमलाको श्रम प्रदर्शन होस् वा हर्क साम्पाङको सरसफाइ अभियान यी सबै एउटै प्रतिस्पर्धामा छन् । त्यो हो, जनताको विश्वास जित्ने दौडमा । त्यसैले यो चुनावमा जित्ने को होला भन्नेभन्दा ठूलो प्रश्न कस्तो राजनीति जित्ने भन्ने हो । सत्ता टिकाउने कि जवाफदेही बनाउने, भाषण गर्ने कि सुन्ने, नारा बेच्ने कि जनजीवनसँग जोडिने ? फागुन २१ गते नेपाली मतदाताले केवल उम्मेदवार सांसद नभई राजनीतिक संस्कृतिको दिशा रोज्नेछन् ।
