काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा ¥याली, भाषण, सभा, अन्तरक्रिया र पोस्टरजस्ता परम्परागत चुनावी अभियानहरू भन्दा सब्लिमिनल क्याम्पेनहरूले महत्वपूर्ण भूमिका खेल्न थालेका छन् । लोकप्रियावादलाई स्थापित गर्न समेत मान्छेको अवचेतन मनसँग खेलिने यस्ता सब्लिमिनल क्याम्पेनहरुले ठूलो भूमिका खेलिरहेका छन् ।
२०७९ को निर्वाचनयता बढ्दो क्रममा रहेको यो क्याम्पेन आशन्न निर्वाचनमा झन मौलाउने र यसले राजनीतिक परिदृश्यलाई नै नयाँ मोड दिने निश्चित देखिएको छ ।
प्रविधिको प्रयोग बढेसँगै राजनीतिमा पनि यसको व्यापक प्रयोग हुन थालेको छ । नेपाली राजनीति पनि पछिल्लो परम्परागत शैलीभन्दा प्रविधिको प्रयोगमा अभ्यस्त हुँदै गएको छ ।
नेताहरुले आफ्ना विचार, एजेण्डा र योजनाहरु भन्न सोसल मिडिया, एआई जेनेरेटेड कन्टेन्ट, भिडियो, ग्राफिक्स, अडियो र अल्गोरिदमहरुको प्रयोग बढि गर्न थालेका छन् । आज विश्व नै सव्लिमिनल क्याम्पेनको चपेटामा परिरहदाँ नेपाल पनि यसको प्रभावबाट बाहिर छैन । नेपाली राजनीतिमा पनि सब्लिमिनल क्यान्पेनको प्रयोग नजानिदो तरिकाले भित्रभित्रै भुसको आगोजस्तै सल्किरहेको छ ।
के हो सब्लिमिनल क्याम्पेन ?
सबैभन्दा सुरुमा सब्लिमिनल क्याम्पेन भनेको के हो, त्यो बुझौ । यो यस्तो क्याम्पेन हो जसले आम दर्शक वा उपभोक्ताको अवचेतन मनमा प्रहार गर्छ । यो त्यस्तो सञ्चार वा प्रचार रणनीति हो जसको प्रत्यक्ष सन्देश शुरुमै नबुझेपनि मानिसको मन र मस्तिष्कलाई भने नराम्रोसँग प्रभावित बनाउँछ । यो क्याम्पेनले सिधै यो गर, त्यो गर भन्दैन तर मनमा भने दरिलोसँग विचार छोड्दै जान्छ ।
यसको प्रयोग कसरी हुन्छ ?
छिटो देखिने, सुन्ने संकेतका फोटो वा आवाज
रङ, संगीत, प्रतिक, दृश्य संकेत
भावनासँग खेल्ने कथा वा इमेज
सब्लिमिनल क्याम्पेनमा यी कुराहरु यति सूक्ष्म तरिकाले गरिन्छन् कि मानिसले मलाई प्रभाव पार्न खोजिदैछ भन्ने थाहा नै पाउँदैन ।
नेपाली राजनीति र सब्लिमिनल क्याम्पेन !
नेपाली राजनीतिमा सब्लिमिनल क्याम्पेन शुरुवात सोसल मिडियाको विस्तारसँगै भएको हो । २०७९ को स्थानीय, प्रदेश र संघीय निर्वाचनमा फेसबुक, टिकटक र एक्स जस्ता प्लेटफर्महरूमार्फत् राजनीतिक दलहरूले स्पोन्सर्ड कन्टेन्ट मार्फत् सूक्ष्म रूपमा आफ्ना प्रतिद्वन्द्वीहरूलाई बदनाम गर्ने र आफ्नो छवि चम्काउने रणनीति अपनाए ।
जस्तै अघिल्लो निर्वाचन अगाडि चलेको बेला नो नट अगेन अभियानले सिधै दलहरुलाई बहिस्कार गर भनेन तर मतदाताहरूको अवचेतन मनमा पुराना नेतृत्वप्रति असन्तुष्टि जगायो । त्यस्तै जेनजी आन्दोलनमा टिकटक, इन्स्टाग्राम र डिस्कर्ड जस्ता प्लेटफर्महरूबाट भाइरल भएका भिडियोहरूले भ्रष्टाचारविरुद्ध युवाहरूलाई एकीकृत गरे तर कतिपय स्पोन्सर्ड पोस्टहरूले हिंसा भड्काउने र फेक न्यूज फैलाउने काम गरे ।
नेपाली राजनीतिमा सब्लिमिनल क्याम्पेन जनतासामु सिधै नाराबाजी गरेर होइन, भावनात्मक, सांस्कृतिक र मनोवैज्ञानिक संकेतमार्फत प्रभाव पार्ने रणनीतिका रुपमा विकसित हुँदै गएको छ ।
यस्तो क्याम्पेन गर्नमा नयाँदेखि पुराना सबै दलका नेताहरु पछि पर्दैनन् । जस्तै जेनजी आन्दोलनपछि नेकपा एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवाद र डरको संकेत फैलाइरहेका छन् । उनी जेनजी आन्दोलन बाहिरी शक्तिको खेल भन्दै देश संकटमा पुगेको व्याख्या बाराम्बार गरिरहन्छन् ।
चुनावी अभियनमा झापामा रहँदा उनले पटक–पटक देश जलाउनेलाई साथ दिने कि देश बनाउनेलाई भनिरहे । म नरहे देश नै बर्बाद हुन्छ भन्दै ओलीले दिने यस्तो अभिव्यक्ति पनि एकप्रकारले सब्लिमिनल क्याम्पेनकै हिस्सा हो ।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि सब्लिमिनल क्याम्पेनको प्रयोग गर्न खप्पिस नेता हुन् । उनले आफुले राजनीति छोड्दा देश नै गल्र्यामगुर्लुम्म हुने जस्तो लाग्छ भन्दै केही समय अघि अभिव्यक्ति दिएका थिए । उनले यस्ता अभिव्यक्तिहरुमार्फत् अप्रत्यक्षरुपमा देशको मुख्य शक्ति आफु भएको सन्देश प्रवाह गर्न खोज्छन् ।
सब्लिमिनल क्याम्पेन गर्नमा नयाँ दलहरु झन खप्पिस छन् । विशेषगरी नयाँ दलमध्ये रास्वपा सभापति आफ्ना शव्दबाणहरुबाट धेरै आकर्षित गरिरहेका हुन्छन् । सिद्धान्त र विचार लगायतका कुरामा रास्वपालाई अझै कच्चा नै मानिन्छ । तर सभापति लामिछाने पुराना दलका नेताहरुलाई विश्राम लिन आग्रह गर्दै अब देश हामी सम्हाल्छौ भन्दै पुरानाहरुको औचित्य सकिएको टिप्पणी गर्छन् ।
फागुन २१ को चुनाव र सब्लिमिनल क्याम्पेन
मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले पनि सब्लिमिनल क्याम्पेनको काम गर्छन् । अघिल्लो निर्वाचनमा फेसबुकमा सक्रिय रहेका ४१ प्रतिशत वयस्कलाई राजनीतिक दलहरूले सूक्ष्म रूपमा झुटा सूचना फैलाउँदै आफ्नो प्रभाव विस्तार गर्न सफल भए ।
आशन्न निर्वाचनमा यो क्रम झन डरलाग्दो गरी बढ्ने स्पष्ट छ । फागुन २१ को निर्वाचनम एआई जनरेटेड मिसइन्फर्मेसन, डीपफेक र सोसल मिडिया अल्गोरिदममार्फत सूक्ष्म प्रभाव पार्ने अभियानहरू नियन्त्रणभन्दा बाहिर हुनेछन् ।
यस्ता क्याम्पेनहरुले उम्मेदवारको छवि बिगार्ने, लोकतन्त्रप्रति अविश्वास जगाउने र चुनावी प्रक्रियालाई प्रदूषित गर्ने खतरा छ ।
