News 24 Television
युवा आशा र यथार्थको कसीमा बालेन शाह : परिवर्तनको प्रतीक कि दूरीको राजनीति ?

काठमाडौँ । देश यतिखेर पूर्ण रूपमा राजनीतिकमय बनेको छ। सबै राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका छन् र मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्नो पक्षमा भोट मागिरहेका छन्। पुराना स्थापित दल र नयाँ उदाएका दलहरूबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। यस क्रममा नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न गाउँ–सहर दौडधुपमा व्यस्त देखिन्छन्।

यही राजनीतिक सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह (बालेन्द्र शाह) झापाबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनावी भिडन्तको तयारीमा रहेको चर्चा व्यापक छ। यसलाई समयले मागेको परिवर्तन र युवाले खोजेको नयाँ राजनीतिक विकल्पका रूपमा व्याख्या गरिएको छ।

तर यहाँ गम्भीर प्रश्नहरू उठ्छन्— बालेन शाह कति राजनीतिक व्यक्ति हुन् ? उनले साढे तीन वर्ष काठमाडौं महानगरपालिकाको नेतृत्व गर्दा जनप्रतिनिधिका रूपमा कस्तो व्यवहार देखाए ? उनले गरेका काम र उनले रोजेको कार्यशैलीले कति हदसम्म मतदाताको विश्वास जित्न सक्यो ?

महानगरका जनताले मत दिएर जिताएका नेतालाई धेरै नागरिकले एक पटक पनि प्रत्यक्ष भेट्न नपाएको गुनासो व्यापक छ। साढे तीन वर्षको कार्यकालमा उनले आफ्ना मतदातासँग नियमित अन्तरक्रिया नगरेको, जनसुनुवाइ र संवादप्रति रुचि नदेखाएको आरोप लाग्दै आएको छ। मिडियाबाट टाढा रहने, सार्वजनिक फोरममा उभिएर प्रश्न-उत्तरको सामना गर्न नचाहने उनको स्वभावले नेतृत्वप्रतिको दूरी झनै बढाएको देखिन्छ।

सधैं हतारो र दौडधुपमा देखिने, तर स्थिर भएर जनताको कुरा सुन्न नचाहने प्रवृत्ति, साथै आफूलाई ‘राजकीय ठाट’मा उभ्याइरहने शैली राजनीतिक नेतृत्व र मतदाताबीचको सम्बन्धसँग मेल खाँदैन भन्ने आलोचना बलियो हुँदै गएको छ। राजनीति अन्ततः संवाद र विश्वासमा टिक्ने प्रक्रिया हो, एकतर्फी निर्णय र मौनतामा होइन।

आजको चुनावी प्रचार–प्रसारको समयमा पनि यही प्रवृत्ति दोहोरिएको देखिन्छ। खुला सभाभन्दा कोठाभित्र बसेर सामाजिक सञ्जाल, विशेषगरी फेसबुक स्टाटसमा सक्रिय रहने बालेन शाह मतदातासामु प्रत्यक्ष रूपमा फेस गर्न नचाहने वा नसक्ने हुन् कि भन्ने प्रश्न उठेको छ। यही चरित्रलाई मतदाताले नजिकबाट नियालिरहेका छन् र यसले उनको राजनीतिक यात्रामा सकारात्मक कि नकारात्मक प्रभाव पार्ने हो, त्यसको मूल्यांकन हुँदैछ।

निस्सन्देह, सामाजिक सञ्जालको प्रभावले ठूलो युवा जमात बालेनतर्फ आकर्षित छ। अर्कोतर्फ, पुराना दलका नेताहरूले गरेको भ्रष्टाचार, सुशासनको कमजोरी र दशकौँदेखिको असफल नेतृत्वबाट आजित मतदाताको आक्रोश पनि बालेन र रास्वपातर्फ केन्द्रित भएको छ। तर केवल आक्रोश र भावनाको भरमा राजनीति दीर्घकालसम्म चल्न सक्दैन।

कुनै पनि नेतालाई आवश्यकता भन्दा बढी उचाल्नु वा पूर्ण रूपमा खारेज गर्नु दुवै गलत हुन्छ। बालेन शाहलाई ‘परिवर्तनका देवता’का रूपमा चित्रण गर्ने प्रवृत्तिले भोलि निराशा जन्माउन सक्छ। आजको आवश्यकता व्यक्तिपूजा होइन, स्पष्ट एजेन्डा, भिजन, कार्ययोजना र जवाफदेहिताको हो।

अन्ततः मुख्य प्रश्न यही रहन्छ—बालेन शाहसँग देश बनाउने ठोस योजना के छ ? सुशासन, अर्थतन्त्र, रोजगारी, संघीयता र राष्ट्रिय राजनीतिबारे उनको स्पष्ट भिजन र कार्यान्वयन क्षमता कति विश्वसनीय छ ? सामाजिक सञ्जालको लहरभन्दा माथि उठेर यिनै प्रश्नको उत्तर खोज्नु नै आजका सचेत मतदाताको सबैभन्दा ठूलो जिम्मेवारी हो।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update