काठमाडौं । नवयुवा पुस्ताको आन्दोलनपछि आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा युवा आकर्षण बढी छ । त्यसैले यो चुनावलाई पुराना र नयाँबीचको चुनावको रुपमा भाष्य खडा गरिँदैछ । यो अवस्थामा पार्टी नेतृत्वमा रहेका पुराना नेताहरुलाई नै विस्थापित गरेर अगाडि आएको नेपाली कांग्रेसलाई पुरानो विरासत फर्काउन कति सहज छ ?
२०४६ सालको प्रजातन्त्र पुर्नस्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेस देशकै ठूलो पार्टी बन्न पुगेको थियो । २०५ सिटका लागि भएको त्यो चुनावमा कांग्रेस एक्लैले १ सय १० सिट हासिल गरेको थियो । जतिबेला कांग्रेसको मुख्य प्रतिष्पर्धी मानिएको नेकपा एमालेले सबै क्षेत्रमा उम्मेदवारसमेत खडा गर्न सकेको थिएन ।
१ सय ७७ सिटमा उम्मेदवार खडा गरेको एमालेले ६९ सिट जितेको थियो । समय सधैं एकनासले चल्दैन । प्रजातन्त्र पुनस्र्थापनापछि सबैभन्दा ठूलो पार्टी कांग्रेसले त्यसपछिका चुनावमा पार्टी भित्रैको जुँगाको लडाईले पार्टी फुटको समेत अवस्थामा पुग्यो । यद्यपी पार्टीमा पुनर्मिलन त भयो तर गुटगत मानसिकताले जरा गाड्यो ।
तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइराला र निवर्तमान सभापति शेरबहादुर देउवाबीचको टकाराव कहिल्यै सकिएन । जसका कारण कांग्रेस झनै कमजोर बन्दै गयो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको जस त गिरिजावाबुले पाए तर पहिलो संविधानसभामा कांग्रेसले ४८ सालको विरासत भने फर्काउन सकेन । ७० सालको दोस्रो संविधासभा निर्वाचनमा कांग्रेस पहिलो ठूलो पार्टी बने पनि एक्लै सरकार बनाउन सक्ने ल्याकत राखेन ।
७४ सालको निर्वाचनमा आइपुग्दा ३२ प्रतिशत मात्रै ल्याएर कांग्रेस दोस्रो पार्टीमा खुम्चियो । ७९ सालको निर्वाचनमा सिट संख्यामा संसदको ठूलो दल बने पनि समानुपातिक मतका आधारमा कांग्रेस दोस्रो पार्टीमै रह्यो ।
अन्ततः नेपालको सबै भन्दा पुरानो पार्टी कांग्रेस पाका पुस्ताका नागरिकको छहारी जस्तो देखियो । तर त्यसलाई कांग्रेस भित्रकै युवा पुस्ताले कहिल्यै चिर्न सकेन ।
जेनजी आन्दोलनले ल्याएको बहार
भदौ २३ को जेनजी आन्दोलनपछि नेपालको राजनीतिक परिस्थिति नै फरक हुन पुग्यो । नव युवा पुस्ताले कांग्रेसलाई मात्र होइन, एमाले र माओवादी केन्द्रलाई समेत परम्परावादी दलको दर्जा दियो ।
एमालेले तत्कालै पार्टीको महाधिवेशन गरेर केपी ओलीलाई नै बैधानिकता दिए भने साविक माओवादी केन्द्रले एकता र ध्रुवीकरणको प्रक्रिया अघि बढाएर पुरानै नेतृत्वकाबीच नयाँ रुप दिन खोज्यो । तर शेरबहादुर देउवाले पार्टीलाई नयाँ ढंगले अघि बढाउन मात्र होइन, नयाँ रंगसमेत दिन नसक्दा पार्टी भित्रैका युवाहरुले विद्रोह गरे ।
युवाहरुको विद्रोहबाट बढारिएका देउवा अझै पनि पार्टी नेतृत्व फिर्ता ल्याउन अदालतको प्रतिक्षा गरिरहँदा युवा विद्रोहबाट कांग्रेस नेतृत्वमा आएका गगन थापालाई भावी प्रधानमन्त्रीको घोषणा गर्दै कांग्रेसका युवा पुस्ता अघि बढेको छ । जसलाई बदलिएको कांग्रेसका रुपमा अघि बढाउन खोजिएको छ ।
कांग्रेसका नयाँ नेतृत्व कांग्रेसलाई ४८ सालकै विरासतमा फर्काउन चाहिरहेको छ । तर यिनै दलहरुको असफलताबाट ७९ सालमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी वैकल्पिक शक्तिका रुपमा अघि बढ्ने प्रयासमा छ ।
नयाँ र पुराना दलबीचको महाभिडन्त भन्ने भाष्य खडा भइरहेको अहिलेको परिवेशमा सिंगो कांग्रेसको पुरानो संरचना भत्काएर पार्टी नै कब्जा गरेको नयाँ नेतृत्वले आगामी निर्वाचनबाट पार्टीको ४८ सालकै विरासत फर्काउन सक्ला या नसक्ला फागुन २१को निर्वाचनको परिणाम पर्खिनुपर्नेछ ।
