सिन्धुपाल्चोक । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्वर १ मा प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । गठबन्धनबिना हुन गइरहेको यस निर्वाचनमा मुख्य दलका उम्मेदवारहरू आ–आफ्नै रणनीतिसहित मतदाता भेटघाट र आन्तरिक छलफलमा सक्रिय बनेका छन् । कसले बाजी मार्ला भन्ने चासो बढ्दै जाँदा प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ ।
सिन्धुपाल्चोक–१ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा चुनावी माहोल तातिँदै गएको छ । उम्मेदवारहरू गाउँ–गाउँ पुगेर मतदाता भेटघाट, छलफल र संगठन विस्तारमा व्यस्त देखिन्छन् । यसपटक कुनै पनि दलबीच गठबन्धन नभएकाले चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको छ । यस निर्वाचन क्षेत्रमा नेकपाबाट माधव सापकोटा, नेकपा एमालेबाट सरेश नेपाल र नेपाली कांग्रेसबाट जंगबहादुर लामा उम्मेदवार छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरतप्रसाद पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राममणि न्यौपाने र जसपा नेपालबाट पासाङ शेर्पा चुनावी मैदानमा छन् । १५ राजनीतिक दलका उम्मेदवारसँगै तीनजना स्वतन्त्र उम्मेदवारले पनि चुनौती प्रस्तुत गरेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपाका माधव सापकोटाले एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५६ मतान्तरले पराजित गरेका थिए । त्यसबेला लोक–बाम गठबन्धनका कारण दुई नेताबीच मुख्य प्रतिस्पर्धा भएको थियो । तर यसपटक अवस्था फरक छ ।
यस निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत चुनावी दौडबाट बाहिरिएका छन् । टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनले टिकट पाउन सकेनन् । २०४८ सालपछि दोस्रोपटक बस्नेत प्रतिनिधिसभा उम्मेदवार बन्नबाट वञ्चित भएका हुन् । नेकपा उम्मेदवार माधव सापकोटाले अघिल्ला निर्वाचनमा अग्निप्रसाद सापकोटाले कायम गरेको जितलाई निरन्तरता दिने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
जनयुद्ध पृष्ठभूमिबाट आएका सापकोटा तार्किक वक्ताका रूपमा चिनिन्छन् । सांसद हुँदा उनले तातोपानी नाका खुलाउन, जुरे पहिरो पीडितको राहत वितरण र बाढी–पहिरोका बेला प्रत्यक्ष जनतामाझ पुगेर खेलेको भूमिकालाई आफ्नो मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरिरहेका छन् । कांग्रेस र एमालेभित्रको आन्तरिक असन्तुष्टिले आफूलाई फाइदा पुग्ने नेकपामा आँकलन गरिएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर लामा ग्रामीण सडक, पुल निर्माण, खानेपानी, सिँचाइ, शिक्षा र स्वास्थ्य क्षेत्रका अधुरा योजना पूरा गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा छन् । तर कांग्रेसभित्रकै आन्तरिक मतभेद उनको मुख्य चुनौती बनेको छ ।
पूर्वमन्त्री मोहनबहादुर बस्नेत पक्ष खुला रूपमा चुनावी अभियानमा नदेखिँदा कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । लामाले पार्टीको परम्परागत मत जोगाउने रणनीतिमा आफू केन्द्रित रहेको बताएका छन् ।
उता एमाले उम्मेदवार सरेश नेपाल अघिल्लो निर्वाचनको हारको बदला लिने तयारीमा छन् । पूर्व प्रदेशसभा सदस्य तथा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री समेत रहिसकेका नेपाल पार्टीभित्रको गुट–उपगुट र असन्तुष्टिका कारण चुनौतीपूर्ण अवस्थामा देखिन्छन् ।
पछिल्लो समय एमालेका केही स्थानीय नेताहरूले पार्टी परित्याग गरेपछि संगठन कमजोर बनेको विश्लेषण भइरहेको छ । यसबीच सरेश नेपाल कांग्रेसका मोहन बस्नेत पक्षसँग नजिकिँदै गएको चर्चा पनि चलिरहेको छ ।
यता लामो समय एमाले राजनीतिमा सक्रिय रहेका भरत पराजुली यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । जलविद्युत् व्यवसायी समेत रहेका पराजुलीको रास्वपामा प्रवेशसँगै यस क्षेत्रमा पार्टीको राजनीतिक उपस्थिती बढ्दै गएको देखिन्छ । उनी युवा मतदाता तथा पुराना दलप्रति असन्तुष्ट समूहलाई आफ्नो पक्षमा ल्याउने रणनीतिमा छन् । यद्यपि जलविद्युत् आयोजनासम्बन्धी स्थानीय असन्तुष्टि उनका लागि चुनौतीका रूपमा देखिएको छ ।
सिन्धुपाल्चोक–१ अन्तर्गत त्रिपुरासुन्दरी, भोटेकोशी, लिसंखु पाखर, बाह्रबिसे, जुगल, बलेफी र सुनकोशी गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नम्बर २, ३, ४, ९ र १० पर्दछन् ।
यस क्षेत्रमा ८३ मतदान स्थल र १ सय ७२ मतदान केन्द्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा कुल २ लाख ७४ हजार ९ सय ९८ मतदाता रहेका छन् ।
गठबन्धन बिनाको यो निर्वाचनमा कसले मतदाताको विश्वास जित्ला भन्ने चासोका बीच सिन्धुपाल्चोक–१ को चुनावी प्रतिस्पर्धा दिन प्रतिदिन थप रोचक बन्दै गएको छ ।
