काठमाडौं । २०७९ मा परम्परागत दलका गढ भत्काउँदै राष्ट्रिय राजनीतिमा ‘भूकम्प’ ल्याएको चितवन फेरि चुनावी परीक्षणमा छ । नयाँ राजनीतिक शक्तिको उदय, पुराना दलको प्रतिष्ठाको लडाइँ र हेभिवेट नेताहरूको प्रत्यक्ष भिडन्तबीच चितवन यसपटक पनि देशकै सबैभन्दा चासोको केन्द्र बनेको छ । फागुन २१ गते हुने चुनावमा चितवनका तीनै निर्वाचन क्षेत्रमा रास्वपाको लहर स्थायी राजनीतिक शक्ति बन्ने कि कांग्रेस–एमालेले नै फेरि पुरानै पकड फर्काउने ? मा केन्द्रीत छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवनका तीनवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी तीव्र बनेको छ । पूर्वमन्त्रीदेखि निवर्तमान सांसदसम्म उम्मेदवार बनेपछि चितवन यसपटक पनि राष्ट्रिय राजनीतिक चासोको केन्द्रमा परेको छ । विशेषगरी २०७९ को निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनलाई आफ्नो ‘किल्ला’ बनाएको दाबी गरिरहँदा परम्परागत दलहरू भने गुमेको विरासत फर्काउने प्रयासमा छन् ।
चितवन–१ः राजेन्द्र बुर्लाकोटीको तेस्रो प्रयास
चितवन निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक रोचक प्रतिस्पर्धा देखिएको छ । नेकपा एमालेबाट पूर्वकृषिमन्त्री दावा दोर्जे लामा, रास्वपाबाट निवर्तमान सांसद हरि ढकाल र नेपाली कांग्रेसबाट राजेन्द्र बुर्लाकोटी मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन् । कुनै समय एमालेको गढ मानिएको यस क्षेत्रमा सुरेन्द्र पाण्डेले लगातार दुईपटक जित निकालेका थिए । तर २०७९ को निर्वाचनमा रास्वपाका हरि ढकालले कांग्रेस र एमालेका हेभिवेट उम्मेदवारलाई पराजित गर्दै एमालेको गढ भत्काइदिए ।
२०७९ को मत परिणाम
– रास्वपाका हरि ढकालः ३४ हजार १ सय ८९ मत
– एमालेका सुरेन्द्र पाण्डेः २६ हजार ६ सय ८ मत
– कांग्रेसका विश्व पौडेलः २४ हजार ९ सय ९० मत
कांग्रेस उम्मेदवार बुर्लाकोटी भने यसअघि २०७० र २०७४ मा सुरेन्द्र पाण्डेसँग पराजित भएका नेता हुन् । दुईपटक उपविजेता बनेका बुर्लाकोटी तेस्रो प्रयासमा जित निकाल्ने दाबी गर्दै चुनावी मैदानमा छन् ।
चितवन–२ः लामिछाने मैदानमा नउत्रिँदा प्रश्न
चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने उम्मेदवार भए पनि उनी अहिलेसम्म आफ्नो निर्वाचन क्षेत्रमा प्रत्यक्ष रूपमा देखिएका छैनन् । उनले यस पटक उम्मेदवार दर्ता पनि वारेसमार्फत गराएका थिए ।
पार्टीको भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेसनामामार्फत उमेदवारी दर्ता गराएका उनी मैदानमा नदेखिँदा मतदातामा प्रश्न उठ्न थालेको छ । उता कांग्रेसकी उम्मेदवार मीना खरेल र एमालेका अस्मिन घिमिरे भने दैनिक घरदैलो कार्यक्रममार्फत मतदाता भेटघाटमा सक्रिय छन् ।
– यस क्षेत्रबाट लामिछाने दुईपटक निर्वाचित भइसकेका छन् ।
– २०७९ को निर्वाचनमा उनले ४९ हजार ३ सय मत ल्याएका थिए । तर रविको नागरिकता प्रकरणकै कारण उपचुनाव गर्नुपरेको थियो ।
– उपनिर्वाचनमा झनै बढी ५४ हजार २ सय ७६ मतसहित विजयी भएका थिए ।
चितवन–३ः सामाजिक सञ्जालको प्रभाव निर्णायक !
७९ सालको निर्वाचनमा राप्रपाका विक्रम पाण्डे निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ मा फागुन २१को निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रेनु दाहाल र रास्वपाकी सोविता गौतमबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । पाण्डे यस पटक प्रतिष्पर्धामा छैनन् । यो क्षेत्रमा अहिले रेणु र सोविताबीचको भिडन्तलाई मुख्य बहस बनाइएको भए पनि कांग्रेसका टेकप्रसाद गुरुङ, एमालेका शंकरराज थपलिया र राप्रपाका दीपक थापा पनि बलिया उम्मेदवार मानिन्छन् ।
रेनु दाहाल विगत १० वर्षदेखि भरतपुरमै बसेर विकास निर्माणको नेतृत्व गरिरहेकी नेतृ हुन् । उता सोविता गौतम भने काठमाडौं–३ बाट निर्वाचित सांसद भए पनि यसपटक चितवन–३ बाट उम्मेदवार बनेकी हुन् । विशेषगरी टिकटक, फेसबुक र ट्विटरमा भइरहेको मत सर्वेक्षण र बहसले चुनावी परिणामबारे पूर्वानुमान गर्न सकिएला तर वास्तविक परिणाम भने परम्परागत दलको संगठनात्मक शक्तिमा निर्भर हुनेछ ।
२०७९ को मत परिणाम
– एमालेको समर्थनमा राप्रपाका विक्रम पाण्डेः ३५ हजार ६० मत
– कांग्रेसको समर्थनमा तत्कालिन माओवादी उम्मेदवार भोजराज अधिकारीः २५ हजार ८ सय २४
– रास्वपाकी जिता बरालः १४ हजार ८ सय ४३
– कांग्रेसका विद्रोही उम्मेदवार दिनेश कोइरालाः १२ हजार २ सय ७५ मत
संगठित सदस्यमा कांग्रेस अगाडि, समानुपातिकका रास्वपा पहिलो
दलहरूको दाबी अनुसार चितवनमा सबैभन्दा ठूलो संगठन नेपाली कांग्रेसको छ ।
– कांग्रेससँग २८ हजार क्रियाशील सदस्य
– नेकपासँग २४ हजार
– एमालेसँग करिब २० हजार
– रास्वपासँग करिब १९ हजार ५ सय
तर २०७९ को समानुपातिक मत परिणामले भने फरक तस्वीर देखाएको छ ।
समानुपातिक मत परिणाम
– रास्वपा ९९ हजार ३८ मत
– एमाले ५५ हजार २ सय २३ मत
– कांग्रेस ३९ हजार ३ सय ५१ मत
– नेकपा करिब ३८ हजार ६ सय ८८ मत
बढ्दो मतदाता
हाल चितवनमा कुल मतदाता संख्या ४ लाख ४२ हजार ८२ पुगेको छ । जुन २०७९ को निर्वाचनको तुलनामा ३३ हजार ७ सय ४० ले बढी हो । बढ्दो मतदाता संख्या, नयाँ दलको प्रभाव, सामाजिक सञ्जालको भूमिका र परम्परागत दलको संगठनात्मक शक्तिले चितवनको आगामी निर्वाचनलाई यसपटक पनि अत्यन्तै प्रतिस्पर्धात्मक र निर्णायक बनाउने देखिन्छ ।
रास्वपाले आफ्नो विरासत जोगाउने कि कांग्रेस–एमालेले पुरानो राजनीतिक पकड फर्काउने भन्ने प्रश्नको उत्तर अब फागुन २१ को मत परिणामले दिनेछ ।
