रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा फागुन २१ का लागि तय गरिएको निर्वाचनको सरगर्मी बढ्दो छ । ३६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । तर, रोचक कुरा के छ भने, चुनावको यो राप र तापले सहरी क्षेत्रलाई तताउन थाले पनि ग्रामीण भेगका मतदातालाई भने अझै छुन सकेको छैन । कतिपय मतदाता त उम्मेदवार को हुन् भन्ने समेत अनभिज्ञ छन् । धेरै पटक भोट हाले पनि निर्वाचनपछि नेताहरूले गाउँ बिर्सने गरेको ग्रामिण भेगका मतदाताकोे गुनासो छ ।
रुपन्देहीको सियारी–३, हर्नेयाकी ४६ वर्षीया किशोर चौधरी अहिले दैनिक मजदुरीमा व्यस्त छन् । उनको घरआँगनमा चुनावको कुनै चर्चा पुगेको छैन । न त कुनै उम्मेदवारले उनको ढोका नै ढक्ढक्याएका छन् ।
यो अवस्था चौधरीको मात्र होइन । शुद्धोदन ३ घर भएका र दैनिक मजदुरी गरेर जिविका चलाउँदै आएका धनकुमारी थारु र विन्दु गुप्तालाई समेत चुनावले छोएको छैन । प्रत्येक पटक हुने चुनावमा उम्मेदवारले गर्ने वाचा र प्रतिवद्धताहरु कहिल्यै पुरा नहुने भएपछि रुपन्देहीको ग्रामिण भेगमा रहेका मतदातामा कुनै उत्साह देखिदैन ।
धेरै पटक भोट हाले पनि निर्वाचनपछि नेताहरूले गाउँ बिर्सने गरेको ग्रामिण भेगका मतदाताकोे तितो अनुभव छ । उम्मेदवारहरू अहिले सामाजिक सञ्जाल र सहरी भेटघाटमै सीमित हुँदा ग्रामीण क्षेत्रका मतदातामा निराशा छाएको छ ।
यस निर्वाचन क्षेत्रमा विभिन्न पेसामा संलग्न चिकित्सक, इन्जिनियर, अनुभवी राजनीतिज्ञसहित ३६ जना उम्मेदवार मैदानमा छन् । उम्मेदवारहरूले सामाजिक सञ्जाल तथा आन्तरिक भेटघाटलाई प्राथमिकता दिँदै सहरी क्षेत्रमा केन्द्रित अभियान चलाइरहेका छन् । तर ग्रामीण क्षेत्रसम्म अझै प्रभावकारी रूपमा पुग्न सकेका छैनन् ।
राजनीतिमा कम चासो राख्ने तल्लो वर्गका मतदातालाई अहिलेसम्म चुनावले छोएको देखिँदैन । रुपन्देही–३ मा शुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाका १ देखि ३, ६ र ७ वडा, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, मायादेवी गाउँपालिकाका ७ र ८ वडा, तिलोत्तमा नगरपालिकाका १३ र १४ वडा तथा बुटवल उपमहानगरपालिकाका १४ देखि १९ वडा समेटिएका छन् । तर, विकासका दृष्टिले पछि परेका मोतीपुर, पोखराबासी र अमुवा जस्ता ग्रामीण क्षेत्रमा अझै चुनावी माहौल बन्न सकेको छैन । बेलवास–बेथरी सडकको धुलो, सिँचाइ र मलखादको समस्या र सुकुम्बासी मुद्दा वर्षौँदेखि उस्तै छन् ।
रुपन्देही क्षेत्र नम्बर ३ नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–३ बाट राप्रपाका दीपक बोहरा विजयी भएका थिए । उनले नेपाली कांग्रेसका तत्कालीन गृहमन्त्री खाँणलाई पराजित गरेका थिए ।
त्यो बेला राप्रपालाई एमालेको समर्थन थियो र एमालेले प्रत्यक्षमा उम्मेदवारी दिएको थिएन । बोहराले ३६ हजार ६४८ मत प्राप्त गर्दा खाँणले ३४ हजार ६ मत पाएका थिए । यसपाली मैदानमा एमालेका वासुदेव घिमिरे, कांग्रेसका सुशील गुरुङ, रास्वपाका डा. लेखजंग थापा, राप्रपाका गौरव बोहरा लगायत ३६ उम्मेदवार छन् । गौरव बोहरा स्व. दिपक बोहराका छोरा हुन् । उम्मेदवारहरूले आफ्नो प्रचारलाई प्रविधि र सहर केन्द्रित बनाउँदा तल्लो वर्गका मतदाता भने उपेक्षित महसुस गरिरहेका छन् ।
गत निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले २० हजार २७८ मत पाएको थियो । एमालेले १६ हजार ९८६ मत, रास्वपाले १४ हजार १५४ मत प्राप्त गरेको थियो । प्रत्यक्षमा जितेको राप्रपाले समानुपातिकमा ९ हजार १८३ मत मात्रै पाएको थियो । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले ६ हजार, जसपा नेपालले ५ हजार, लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, माओवादी केन्द्रले २ हजार ६००, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टीले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ मत प्राप्त गरेका थिए ।
विगतको समानुपातिकलाई नियाल्दा नेपाली कांग्रेस र एमाले यस क्षेत्रमा बलिया पुराना दलहरु हुन् । तर यसपटकको निर्वाचनमा कांग्रेस, एमालेसँग रास्वपा र राप्रपाको पनि उत्तिकै प्रतिस्प्रर्धा हुने प्रारम्भिक आँकलन गरिएको छ । रुपन्देहीको क्षेत्र नम्बर ३ अन्य क्षेत्रको तुलनामा धेरै चासोका साथ हेरिएको निर्वाचन क्षेत्र हो । यहाँ तत्कालीन प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि सरकारले कात्तिकमा उपनिर्वाचन तोकेको थियो ।
पछि जेनजी आन्दोलनपछि प्रतिनिधिसभा नै भंग भएपछि फागुन २१ मा मतदान हुने तय भएको छ । यसपटक यस क्षेत्रमा युवा तथा विभिन्न पेसामा संलग्न उम्मेदवारहरू मैदानमा छन् ।
