News 24 Television
नयाँ दल बन्ने होडले राजनीतिक द्बन्द्धको खतराः किन सिंगौरी खेल्दैछन नेताहरु ?

काठमाडौं । जेनजी आन्दोलनपछि हुन लागेको प्रतिनिधिसभा चुनावमा को नयाँ दल ? नयाँ दल बन्ने मापदण्ड के ? तमाम विषयको बहसमा रोचक दाबी आउन थालेका छन्। भर्खरै खुलेकोलाई नयाँ दल भन्ने वा एजेण्डा, विचार र मार्गनिर्देशक सिद्धान्तका आधारमा ? बहस चर्किएको बेला नयाँ–पुरानाको भाष्यमाथि तानातान चल्न थालेको छ । 

नेपालको राजनीतिमा अनेकखाले विवाद देखिने गर्छन्। नेतृत्वको देवत्वकरणदेखि दानवीकरण कति बेला गरिन्छ भन्ने पत्तो नहुने नेपाली समाजले अहिले जेनजी आन्दोलनपछि नयाँ परिस्थिति निर्माणको चरणमा पुगेको भन्न थालिएको छ । नयाँ–पुराना दलको ट्याग लगाउने प्रचलन बढ्न थालेको बेला नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले आफ्नो दल किन नयाँ भन्ने रोचक तर्क पेश गरेका छन् ।

प्रचण्डले नेपालको संविधानले गणतन्त्र स्वीकार गर्दासम्म नेकपा नै नयाँ हुने दाबी राजनीतिक रुपमा समेत रोचक र परिपक्क देखिन्छ । 

नेकपाको यो दाबीभन्दा अन्य दलका दाबीहरु पनि प्रहारका निम्ति पर्याप्त देखिन्छन् । नयाँ दाबी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा विचार, सिद्धान्त र मुलुक निर्माणको कुनै धारणा नभएको र सत्ताका निम्ति चलिरहेको भेलाबाहेक हुन नसक्ने कांग्रेसको टिप्पणी छ । 

उसोतः नयाँ दाबी गर्नेमा रास्वपा एक्लै भने देखिन्न । यसमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि छन् । घिसिङले रास्वपासंग गरेको एकता १२ दिनमै भताभुङ्ग बनेपछि उनीपनि आफुलाई कामको आधारमा स्थापित सबैभन्दा नयाँ दल भन्न रुचाइरहेका छन् । 

उसोतः अहिलेको चुनाव देश बनाउने र जलाउनेबीचको प्रतिष्पर्धा भन्दै एमालेले पनि आक्रोश पोखिरहेको छ । यद्यपी एमाले अध्यक्ष केपी ओलीले भने नाि पुस्ता भन्दै रास्वपालाई राजनीति सिक्दै गरेको पार्टीको रुपमा अथ्र्याएका छन् । 

विभिन्न चर्चा र आरोप चलिरहेका बेला रास्वपाले भने मौनता साँधिरहेको देखिन्छ । अधिक बोल्ने रवि लामिछाने पनि चितवन ढिला गरेर पुगेका छन् । यता, वरिष्ठ नेता बालेन्द्र साह ’बालेन’ पनि पूर्व–पश्चिम यात्रामा निस्किएपनि खास सम्बोधन गरेको देखिन्न । 

जनकपुर पुगेर गरेको सार्वनिक सम्बोधनबाहेक छिटफुट बोलेका बालेनले जनतासंग साक्षात्कार गर्ने, दोहोरो सम्वाद गर्ने भने खास गरेको देखिन्न । तर, चितवन ओर्लिएका रवि भने अब बहुमत किन रास्वपालाई दिने भन्ने विषयमा आफुलाई नयाँ र देशको सच्चा पहरेदारको रुपमा अथ्र्याउन तम्सिएका छन् । 

अहिलेको संविधानलाई स्वीकार गर्दै आवश्यक परिमार्जनको एजेण्डामा नै दलहरुले आपसी सहमति र सहकार्यको ढोका खोल्न नसक्दा यसले ठूलो तनाव सिर्जना गर्ने अवस्था समेत जिवितै देखिन्छ । 

उसोतः पछिल्लो समय नेपालको राजनीतिमा नयाँ–पुरानाको भाष्यमाथिको बहस चर्किएको छ । तर, प्रविधिले पारेको प्रभाव, एलगोरिदमले निर्माण गर्ने भाष्य र मतदातामा पार्ने प्रभावको विषयमा गहन बहसको सट्टा नयाँ पुरानाको भाष्य खडा गर्दै राजनीतिक द्वन्द्धको खतरा बढाउन थालिएको देखिन्छ । 

आफूलाई नै नयाँ स्थापित गर्नुपर्ने बाध्यताका कारण पनि विवादहरु बढ्ने र सामाजिक रुपमै राजनीतिक द्वन्द्ध बढ्ने संकेतहरु देखिन थालेका छन् । जुन नेपाली समाजले थेग्न सक्ला ? प्रश्नहरु भने अनुत्तरित नै छन् ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update