News 24 Television
बझाङमा गृहमन्त्रीको चेतावनी : मृतकको नाममा भोट र बुथ कब्जा सह्य हुँदैन

बझाङ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनविरोधी गतिविधि सह्य नहुने र दोषीलाई कानुनको दायरामा ल्याउने बताएका छन् ।
आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङ पुगेका अर्यालले  जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तथा स्थलगत जानकारी लिए ।

त्यसलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले बझाङमा विगतका निर्वाचनमा देखिएका कमी–कमजोरी यसपटक दोहोरिन नदिने स्पष्ट पारेका छन् ।

‘विगतका निर्वाचनमा भएका गल्ती कमजोरी यसपटक दोहोरिन दिनुहुँदैन । जेजति जनशक्ति र स्रोत साधन उपलब्ध छन्, त्यसको अधिकतम उपयोग गरेर निष्पक्ष, पारदर्शी र विश्वसनीय तरिकाले निर्वाचन सम्पन्न गर्छौं,’ उनले भने ।

उनले प्रशासनिक संयन्त्र सक्षम, सजग र निष्पक्ष रहेको उल्लेख गर्दै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

विगतमा देखिएका धाँधलीजन्य गतिविधि प्रति संकेत गर्दै गृहमन्त्री अर्यालले यस्ता कार्य कदापि सह्य नहुने बताए ।

‘भौगोलिक विकटता वा अन्य कुनै बहानामा अर्काको नाममा मतदान गर्ने, मृत व्यक्तिको नाममा भोट हाल्ने तथा बुथ कब्जा गर्ने जस्ता गतिविधि यसपटक दोहोरिन दिँदैनौँ,’ उनले भने ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न जोकोहीलाई कानुनी कारबाही गरिने उनको भनाइ छ ।

‘त्यो चाहे राष्ट्रसेवक होस्, सर्वसाधारण, मतदाता वा दलका प्रतिनिधि, निर्वाचन विरोधी गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर कानुनको दायरामा ल्याउँछौँ । गैरकानुनी काम गर्नेलाई कारबाही हुन्छ,’ गृहमन्त्री अर्यालले भने ।

उनले सबै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सरोकारवालालाई स्वच्छ, स्वस्थ र प्रतिस्पर्धात्मक वातावरण कायम राख्न सहयोग गर्न आग्रह गरे । निर्वाचनमा गलत हर्कत गर्ने जो–कोहीलाई पनि कानुन अनुसार कारबाही हुनेमा उनले जोड दिए ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update