News 24 Television
सिन्धुपाल्चोकमा चुनावी सरगर्मी, ४ दलबीच कडा प्रतिष्पर्धा !

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तात्दै गएको छ । विकास र नेतृत्वको खोजीमा रहेका मतदाताहरू यसपटक उम्मेदवारका योजना र विगतका कामको मूल्यांकन गरेर भोट हाल्ने तयारीमा देखिन्छन् । परम्परागत प्रचारशैली परिवर्तन गर्दै दलहरू घर–घर पुगिरहेका छन् भने प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ । 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–गौरातीकी मनमाया स्याङ्रबो केही वर्षदेखि राजधानी काठमाडौं बस्दै आएकी छिन् । गाउँमा चुनावी माहोल तातेको सुनेपछि उनी एक साताअघि मात्रै मतदान गर्न र उम्मेदवारको गतिविधि बुझ्न गाउँ फर्किएकी हुन् । विगतमा अनेक आश्वासन सुनेर भोट दिएको अनुभव स्मरण गर्दै स्याङ्रबो यसपटक भने छोरानातिको भविष्यका लागि विकासका स्पष्ट योजना भएका उम्मेदवारलाई मत दिने सोचमा छिन् । 

मतदान गर्न चार दिन बाँकी रहँदा सिन्धुपाल्चोकमा मतदाताको चासो बढ्दो छ । राजनीतिक चेतना भएका मतदाताहरू उम्मेदवारसँग योजना र प्राथमिकता सोधिरहेका छन् भने यसअघि पनि निर्वाचित भएका र पुन उम्म्देवार बनेकाहरुलाई ‘के काम गर्नुभयो?’ भनेर प्रश्न गर्न थालेका छन् । 
तर बाह्रविसे बजारमा भेटिएकी भोटेकोशी गाउँपालिकाकी चन्द्रकुमारी विक भने दलहरूको प्रचारप्रसारका कारण चुनाव आएको थाहा पाएपनि आफ्नो क्षेत्रमा को उम्मेदवार छन् भन्ने विषयमा अझै स्पष्ट जानकारी नभएको बताउँछिन् ।

साँगाचोक हर्रेका कृष्ण तामाङका अनुसार चेतनाको अभावमा विगतमा समुदायले खानपान र भोजभतेरकै आधारमा भोट हाल्ने प्रवृत्ति थियो । तर अहिले मतदाताले मताधिकारको मूल्य बुझ्न थालेकाले पैसा र भोज खाएका आधारमा भोट हाल्ने चलन क्रमशः हट्दै जाने उनको विश्वास छ 

दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा यसपटकको चुनाव प्रतिस्पर्धी र रोचक बन्ने देखिएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि दुवै क्षेत्रमा १८–१८ जना उम्मेदवार मैदानमा छन् । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ भने क्षेत्र नम्बर २ मा कांग्रेस, एमाले र नेकपामध्ये एक दलको जित हुने आँकलन गरिएको छ ।

२०७० सालयता गठबन्धनमार्फत् चुनाव जित्दै आएका दलहरूले यसपटक प्रचारशैली परिवर्तन गरेका छन् । ठूला चुनावी सभा कम गर्दै उम्मेदवारहरू घर–घर र खेत–खेतमै पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । आफ्नो एजेन्डा स्पष्ट राख्दै भोट माग्ने अभ्यास बढ्दै गएको छ ।

सिन्धुपाल्चोकमा यसअघिको निर्वाचनमा हार बेहोरेको एमाले विरासत फिर्ता गर्ने लक्ष्यमा छ भने नेकपा आफ्नो पकड जोगाउँदै निरन्तरता चाहन्छ ।

कांग्रेस अन्य दलको किल्ला भत्काउने रणनीतिमा सक्रिय छ भने रास्वपा परम्परागत दलप्रतिको असन्तुष्टिलाई मतमा रूपान्तरण गर्ने प्रयासमा देखिन्छ ।  चुनावी अभियान तीव्र बन्दै जाँदा मतदाताको अन्तिम निर्णयले नै कुन दलको रणनीति सफल हुन्छ भन्ने टुंगो लाग्नेछ ।


 

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update