News 24 Television
एचडिपी पाइपको मूल्य वृद्धिका समाचारप्रति उत्पादक संघको ध्यानाकर्षण

काठमाडौँ । एचडिपी पाइप उत्पादक संघले हालै केही सञ्चारमाध्यममा पाइपको मूल्यमा ३० देखि ४० प्रतिशतसम्म अस्वाभाविक वृद्धि भएको भनी प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वव्यापी आपूर्ति शृङ्खलामा देखिएको अस्थिरता र भू-राजनीतिक तनावका कारण कच्चा पदार्थको मूल्यमा भारी वृद्धि भएको स्पष्ट पारेको हो। मध्यपूर्व तथा पश्चिम एसियामा जारी द्वन्द्वले कच्चा तेलको आपूर्ति र ढुवानीमा गम्भीर असर पारेकाले पाइप उत्पादनमा प्रयोग हुने 'एचडिपी ग्रानुयल्स' को मूल्य बढेको संघको भनाइ छ।

कच्चा पदार्थको ढुवानी अवरुद्ध हुँदा केही उद्योगहरू बन्द भइसकेका र केही बन्द हुने संघारमा पुगेको संघले जनाएको छ। कच्चा पदार्थको नयाँ मूल्यमा करिब ६२ प्रतिशतको उच्च वृद्धि भएको दाबी गरिएको छ। इन्धनको मूल्यवृद्धि, ढुवानी खर्चमा भएको बढोत्तरी र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण उत्पादन लागतमा भारी चाप परेको विज्ञप्तिमा उल्लेख छ।

संघले विभिन्न सरकारी कार्यालय, गैरसरकारी संस्था, निर्माण व्यवसायी र उपभोक्ता समितिसँग गरिएका पाइप आपूर्ति सम्झौताका सर्त र मूल्यलाई आपसी समझदारीमा समायोजन गर्न अपिल गरेको छ। विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई समेत ऋण तथा ब्याज भुक्तानीमा लचकता अपनाइदिन संघले आग्रह गरेको छ।

संघले परिस्थितिको फाइदा उठाई अस्वाभाविक मूल्यवृद्धि गर्ने जो कोहीलाई पनि कानुन बमोजिम कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। मध्यपूर्वको तनाव समाधान नभएसम्म मूल्यवृद्धिको सीमा यकिन गर्न नसकिने भन्दै संघले व्यवसायीहरूलाई धैर्यता अपनाउन समेत अनुरोध गरेको छ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update