कैलाली । नयाँ बर्षको सुरुवातसंगै बैशाख पहिलो हप्तासम्म मनाईने बीसु पर्वको अवसरमा खेलिने पुलता नाचले यतिबेला सुदूरपश्चिममा रौनकता छाएको छ । बीसु तिहारमा महिलाहरुले प्रस्तुत गर्ने पुतला नाँचले केहिदिन पहिलेदेखि नै अछाम बाजुरा लगायतका जिल्लाका गाउँ गाउँमा चहलपहल बढेको हो ।
केही वर्षअगाडि सुदूरपश्चिमका पहाडी जिल्लामा मात्र मनाईने रनपुतला नाँच आजभोली तराईतिर पनि मनाईन थालेको छ । गाउँघरमा नारीले फरिया, रातो चौबन्दी र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा पंक्तिबद्ध बिरहका गीत गाउँदै नाच्दा सुदूरपहाडका बस्तीमा बेग्लै रौनकता छाउने गर्छ ।
यो नाँचसँग राजा घ्याम्पोकी छोरी रनमैयाको विवाह मधेसमा गर्दा सर्पको टोकाइबाट मृत्यु भएको किंवदन्ति जोडिन्छ । इच्छा विपरीत विवाह गराइएकी रनमैयाले मृत्युपूर्व मधेसमा हुने गर्मी, त्यहाँका सर्प–बिच्छीको डरबारे दुखेसो पोख्दै बुवालाई खबर पठाएकी थिइन । पछि त्यही कारणले मृत्यु भएको खबरले पुत्री शोकमा परेका राजाले छोरीको सम्झना स्वरूप पुतला खेल लगाएका थिए । कालान्तरमा उनै छोरीको नामबाट रनपुतला नाच शुरु भएका लोकविश्वास रहँदै आएको छ ।
पुतला बझाङ, बाजुरा र अछाममा विशेष रूपमा मनाइन्छ भने अछाम सीमाना जोडिएका डोटीका क्षेत्रमा पनि खेल्ने चलन छ । परम्परागत रूपमा चल्दै आएको पुतला पर्व पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वको रुपमा प्रचारप्रसार हुँदै आएको छ ।
पुरानो पुस्तासँगै यो नाच समेत हराउने चिन्ता पनि बढेको छ । पछिल्लो समय निकै कम गाउँमा मात्र यसलाई खेल्ने गरिन्छ । मेला महोत्सव तथा सार्वजनिक कार्यक्रममा छिटपुट रुपमा यो नाच प्रदर्शन गर्ने गरिएको छ । पछिल्लो समयमा भने नयाँ पुस्तामा यो संस्कृति हस्तान्तरण हुन सकेको छैन ।
यो नाचमा काल्पनिक दुलहा दुलहीको बिहे गराइ रमाइलो गरिन्छ । विशेष गरी महिलाले सानो कपडाको पुतला बनाई दुलाहा दुलहीको बिहे गर्ने प्रचलनमा रहेको छ । विशेषगरी सुदूरका पहाडी जिल्लाहरूमा यो पर्व मनाउँदा बसाई सरेर तराई गएका पहाडी समुदायले पनि यो पर्व मनाउँदै आएका छन् । कैलालीको धनगढी, चौमाला, टिकापुर, बौनिया र कञ्चनपुरको कृष्णपुर, गुलरिया, बेलौरी लगायतका क्षेत्रमा रनपुतला नाच खेलिने गरिन्छ ।
पछिल्लो पूस्तामा भने रनपुतला प्रति त्यति रुचि देखिएको छैन् । पश्चिमा संस्कृतिको प्रभावले नयाँ पुस्ता प्रभावित हुँदा अन्य संस्कृतिझैं रनपुतला पनि संकटमा पुगेको छ ।
