News 24 Television
विसु पर्व मनाउन हजारौ सुदूरपश्चिमेली घर फर्कदैं, बढ्यो चहलपहल

कैलाली । सुदूरपश्चिमवासीले मनाउँदै आएको बिसुुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरु यतिबेला घर फर्कन थालेका छन् । सुदूरपश्चिम प्रदेशभर नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउन गाउँघरमा चहलपहल बढेको छ । चैतको सुरुआतदेखि बिसु मनाउन बाहिर रहेका आफन्तहरु घर फर्कने गर्दछन् । बिसुपर्वका लागि घर जाने तथा आउनेहरूको भारतीय सीमानाका र बसपार्क क्षेत्रमा दिनहुँ भीड लाग्ने गरेको छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ वर्षलाई बिसुपर्वका नामले धुमधामका साथ मनाउने प्रचलन रहेको छ । यो पर्व मनाउनकै लागी रोजगारी, अध्ययन लगायत विभिन्न कामले घरबाहिर गएका मानिसहरु यतिबेला घर फर्कने क्रम बढेको छ । 

त्यस्तै कैलालीको त्रिनगर भन्सार नाकामा घर फर्कदै गरेका प्रदेशबासीहरु वर्षभरि भारतमा मजदुरी गरेर परिवारसँग नयाँ वर्ष मनाउन पाउँदा निकै उत्साह देखिन्छन् ।

सुदुरपश्चिम प्रदेशमा रहेका कैलालीको त्रिनगर नाका, कञ्चनपुरको गड्डाचौकी नाकामा दिनहुँ हजारौँको संख्यामा नेपाली घर फर्किरहेका छन् । गाउँघरमा समेत चहलपहल बढेको छ भने लिपपोत गर्ने, मिठामसिना खानाका परिकार बनाउन थालिएको छ । बिसुपर्व आउनुपूर्व नै सुदूरपहाडका घरहरु रातो माटो र कमेरो माटोले रङ्गिन हुन थालेका छन् । 

नयाँ वर्ष आउनु भन्दापहिले नै घर लिपपोत गरेमा वर्षभरि नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको छ । मजदुरीका लागि भारतको दिल्ली पसेका अछामको नन्देगडाका देवराज साउँद नेपालमा रोजगारी नभएर बाध्यताले भारत गएको बताए । 

यतिबेला घर फर्किएका धेरैजसो असारमा खेतीपातीको काम सकेर फेरि भारततिरै फर्कने गरेका छन् । बिसुपर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायमा एकआपसमा सिस्नु लगाएर रमाइलो गर्ने प्रचलन रहेको छ ।

बिनाभिसा आवतजावत गर्न र सहजै रोजगारी प्राप्त हुने भएकाले पनि यस क्षेत्रका नेपालीहरुको प्रमुख रोजगारीको गन्तव्य छिमेकी राष्ट्र भारत बन्न पुगेको हो । 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update