News 24 Television
बालेन–रवि, को शक्तिशाली ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रियाले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र दुई धार रहेको देखिएको छ । सुरुआतमा राप्रपालाई समर्थन गर्ने प्रतिबद्धता जनाएको पार्टीले केही मिनेटमै निर्णय उल्ट्याउँदै श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गरेपछि दुई धार स्पष्ट देखिएका हुन् । आकस्मिक निर्णय परिवर्तनले रास्वपामा संघर्षको संकेत गरेको छ भने पार्टीभित्र सभापति रवि लामिछाने कमजोर अवस्थामा त छैनन् भन्ने आशंका उत्पन्न भएको छ । 

प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र दुई धार स्पष्ट देखिएको छ । बिहीबार उपसभामुखको उम्मेदवारी दर्ता गर्दा पार्टीको आन्तरिक मतभेद बाहिरिएको हो । 

रास्वपाको झण्डै दुई तिहाई सांसदले जसलाई समर्थन गर्छन् उही उम्मेदवार स्वतः विजयी हुने अवस्थामा सभापति रवि लामिछानेले उपसभामुखका लागि सुरुमा राप्रपालाई समर्थन गर्ने वचन दिएका थिए । तर ३० मिनेटभित्रै निर्णय उल्ट्याएर श्रम संस्कृति पार्टीकी २५ वर्षीया सांसद रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने औपचारिक निर्णय गरियो । 

धनुषाकी सामान्य आर्थिक पृष्ठभूमिकी ठाकुर मधेशी महिला कोटाबाट श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बनेकी उनी प्रतिनिधिसभाकै कान्छी सदस्य हुन् । बाल्यकालदेखि सामाजिक भेदभाव र परिवारिक जिम्मेवारी बोकेकी उनलाई हर्क साम्पाङको श्रम संस्कृति पार्टीले जेनजी आन्दोलनको प्रतिनिधिको रुपमा उम्मेदवार बनाएको थियो । 

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीको उपस्थितिमा सांसद अशोक चौधरीले समर्थन गर्दै उनको उम्मेदवारी दर्ता भएको थियो । प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेद्वार दिइसकेपछि पार्टीले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको उनले बताइन् । 

रास्वपामा २ धार !

उपसभामुुको उम्मेदवारी दर्ता हुँदै गर्दा रास्वपाभित्र दुई धार प्रष्ट रुपमा देखिएको छ । रास्वपाभित्र प्रधानमन्त्री बालेन शाह, महामन्त्री बुर्लाकोटी र सांसद मनिष झा श्रम संस्कृतिको पक्षमा देखिए भने सभापति लामिछानेसहित केही नेता राप्रपाको पक्षमा । 

केही दिनअघि लामिछानेले राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीसँग भेटेर उपसभामुख राप्रपालाई दिने चाहना राखेका थिए । तर एक्कासी श्रम संस्कृतिलाई उपसभामुख दिने निर्णयमा पार्टी पुग्दा रास्वपाभित्र सभापति रविभन्दा प्रधानमन्त्री बालने पक्षधर शक्तिशाली भएको सन्देश गएको छ । 

यो आकस्मिक निर्णयले रास्वपामा दरार आउने त होइन भन्ने आशंका गरिएको छ । यद्यपी बिहिवार नै श्रममन्त्रीलाई बर्खास्त गर्न पार्टी सभापति लामिछानेले दिएको निर्देशनअनुसार प्रधानमन्त्रीले पालना गरेको सार्वजनिक हुँदा भने बाहिर आशंका गरेजस्तो पार्टीभित्र दुई गुट नरहेको पनि देखिन्छ । 

ज्ञानेन्द्रको दाबी 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामीछानले सहयोग गर्ने वचन दिएपछि मात्रै आफूहरुले उपसभामुखमा उम्मेद्वारी दिएको बताएका छन् । 

बिहीवार उपसभामुखको उम्मेद्वारी दर्तापछि सञ्चारकर्मीलाई उनले रास्वपा सभापति लामीछाने आफैँले फोन गरेर पार्टीको समर्थन रहेने वचन दिएको दाबी गरे । लामिछानेको फोनपछि आफूहरुले उपसभामुखमा सरस्वती लामालाई उम्मेद्वार बनाएको शाहीको भनाइ छ । 

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले पनि रास्वपाले समर्थनमा नै उम्मेदवारी दर्ता गराएको दाबी गरेकी थिइन् । रास्वपाभित्रको आकस्मिक हेरफेरले उपसभामुख पाउने आशामा रहेको राप्रपा अन्तत जिल्लिएको छ । राप्रपाबाट उपसभामुखमा सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । श्रम संस्कृतिकी रुबीलाई रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले समेत समर्थन गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update