काठमाडौँ । नेपालको लोकप्रिय रेस्टुरेन्ट चेन ‘सेकुवा बाई किलो’ ले राष्ट्रिय क्रिकेट खेलाडी लोकेश बमलाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच रेस्टुरेन्टका संस्थापक सञ्चालक सेफ गौचन र क्रिकेटर बमले एक वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
वि.सं. २०८१ वैशाख २५ गतेबाट व्यवसाय सुरु गरेको यस कम्पनीले छोटो समयमै आफ्नो ब्रान्डलाई स्थापित गर्न सफल भएको छ।दुई वर्षअघि काठमाडौँको कलंकीबाट सुरु भएको ‘सेकुवा बाई किलो’ को सञ्जाल अहिले उपत्यकाका ६ वटा मुख्य स्थानमा विस्तार भइसकेको छ।
कलंकीबाहेक ललितपुरको झम्सिखेल, दरबारमार्ग, सामाखुसी, लाजिम्पाट र बाँसबारीमा यसका शाखाहरू सञ्चालनमा रहेका छन्। यी शाखाहरूले करिब ३ सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन् भने ‘राम्रो स्वाद र उच्च गुणस्तरीय परिकार’ लाई आफ्नो मुख्य उद्देश्य बनाएका छन्।

संस्थापक सञ्चालक गौचनका अनुसार भारतमा सम्पन्न विश्व क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका लोकेस बमजस्ता युवा प्रतिभालाई ब्रान्डसँग जोड्दा नयाँ पुस्ताका खेलाडीलाई प्रोत्साहन मिल्नेछ।
यो सहकार्यले खेलप्रेमी र रेस्टुरेन्टबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ। रेस्टुरेन्टले अहिले दैनिक खाजा सेटमा विशेष छुट प्रदान गर्नुका साथै टि-२० खेलका दौरान ग्राहकलाई विभिन्न अफरहरू समेत उपलब्ध गराउँदै आएको छ।

ब्रान्ड एम्बेसडर नियुक्त भएपछि क्रिकेटर लोकेस बमले खुसी व्यक्त गर्दै यस सहकार्यले आफूलाई थप उत्साहित बनाएको बताए। सन् २०२२ को टि-२० टिमबाट अन्तर्राष्ट्रिय खेल जीवन सुरु गरेका बमले सुदूरपश्चिमको डोटेली माटोबाट आएर नेपाली क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउँदै आए। कम्पनीले आगामी दिनमा आफ्ना शाखाहरू अझ विस्तार गर्दै लैजाने योजना समेत सार्वजनिक गरेको छ।
