News 24 Television
खरबुजाले हटायो गरिबी, माग भारतीय सहरसम्म

धनुषा । नीजि जग्गा नभएका धनुषा–सिरहाका विपन्न किसान कमला नदीको बगरमा लामो समयदेखि खरबुजाको खेती गर्दै आयआर्जन गरिरहेका छन्  । उत्पादन गरेको खरबुजा बिक्री गर्न किसानलाई बजारको अभाव पनि छैन । त्यसैले उनीहरुले खरबुजा बेचेर  तीन महिनामै लगानीको दोब्बर आम्दानी गर्ने गरेका छन् ।

कमला नदीको छेउछाउका वस्तीका स्थानीय किसानहरुको विगत दुई दशकदेखि खरबुजा खेतीतर्फ आकर्षण बढ्दै गइरहेको छ  । धनुषाको कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र सिरहाको कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका र सिरहा नगरपालिका अन्तर्गत कमला नदी किनाराका विपन्न किसानहरु खरबुजा खेतीतर्फ आकर्षित भएर केही वर्ष यतादेखि मनग्य आयआर्जन गर्दै घरपरिवारको गुजारा गर्दै आएका छन् । 

६ वर्षदेखि खरबुजा खेती गर्दै आएका धनुषाका स्थानीय किसान किसुन यादवले शुरुमा करिब ६ हजार रुपैयाँको लगानीमा शुरु गरे । लगानी गरेको तीन महिनापछि कम्तीमा १५ हजार रुपैयाँ लगानी बाहेक आम्दानी हुने गरेको किसान किसुन यादव बताउँछन् ।

विगतमा जग्गा जमिन नभएका केही स्थानीय किसानहरुले कमला नदीको बगरमा खरबुजासहित तरकारीवाली लगाएर व्यवसायी शुरु गरेका थिए । अहिले धनुषा–सिरहाको सीमावर्तीमा पर्ने कमला नदीको दुबै तर्फका स्थानीय किसानहरु खोलामै उच्च स्थान खोजेर खरबुजालगायतको वाली लगाएर व्यवसायी गरी आयआर्जन गरिरहेका छन् । 

हातमुख जोड्नसम्म धौँधौँ परिरहेका स्थानीय किसानहरु अहिले आयआर्जनसहित छोराछोरीलाई शिक्षादिक्षा र लालनपालनमा समस्या नरहेको उनीहरु बताउँछन् ।  करिब एक बिगाहमा यस वर्ष उत्पादन गरेको खरबुजा बिक्री गरेर किसानले दुई लाखभन्दा बढी कमाइ गर्दै आएका छन् । लगानी लगाएको रकमको दोब्बरभन्दा बढी आम्दानी भइरहेको छ । 

उनीहरु खोलाको बगरमै झुपडी बनाएर खरबुजा उत्पादनदेखि फल बिक्रीसमेत त्यहीँ बसोबास गरी गर्ने गरेका छन् । खरबुजासंगै फुँइट, काक्रो, लौका, फर्सीलगायतका तरकारी खेतीसमेत गरेर वर्षेनि उत्पादन र आम्दानी बढाउन किसान आकर्षित भइरहेका छन् । विगत दश वर्षदेखि खरबुजाको खेती गर्दै आएकी स्थानीय लक्ष्मीनियाँ मुखिया दिनको करिब ६ हजार रुपैयाँसम्म कमाउने गर्छिन् ।

अहिले दुबै जिल्लाका स्थानीय किसानले बगरमा उत्पादन गरेको खरबुजाको जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, सिरहाको लहान र सीमावर्ती भारतीय बजारमा समेत उच्च माग  रहेको छ । एउटा खरबुजा करिब ७ किलोग्रामसम्म हुने गरेको छ  । 

समयमा मलखाध उपलब्ध हुने र सुख्खा मौसममा बाढी नआउने हो भने तीन÷चार महिनामा राम्रो आयआर्जन हुने गर्छ । खरबुजा तथा तरकारी खेतीका लागि स्थानीय सरकारले कृषिसम्बन्धी तालिम, उत्पादनका लागि पूँजीको सुविधा र बजारसम्मको व्यवस्थापन गरिदिने हो भने निम्न वर्गीय किसानका लागि बगरको खरबुजा खेती मोहरका लागि भरपर्दो स्रोत हुने छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update