News 24 Television
‘एभेरष्ट कफी बिन्स’को सातौं आउटलेट अनामनगरमा, थप पाँच वटा फ्रेन्चाइज निःशुल्क दिने

काठमाडौं । नेपाली कफी तथा हस्पिटालिटी क्षेत्रमा विस्तार हुँदै गएको ‘एभरेष्ट कफी बिन्स’ले आफ्नो सातौं आउटलेट काठमाडौंको अनामनगरमा सञ्चालनमा ल्याएको छ । नयाँ आउटलेट सिंहदरबार पूर्वीगेटस्मा अवस्थित छ ।

एभरेष्ट ग्रुप अफ कम्पनीजद्वारा सञ्चालित ‘एभरेष्ट कफी बिन्स’ले पहिलो पटक फ्रेन्चाइज मोडलमार्फत विस्तार सुरु गरेको हो । कम्पनीका अध्यक्ष प्रेम सेन सुनारका अनुसार नेपाली कफी बजारको सम्भावना ठूलो भएकाले कम्पनीले विस्तारलाई तीव्रता दिएको हो ।

‘नेपालमा कफी संस्कृतिको विकास निकै सकारात्मक रूपमा भइरहेको छ । युवापुस्ताले गुणस्तरीय कफी र राम्रो वातावरण खोज्न थालेका छन्,’ सुनारले भने, ‘हामी नेपाली कफी र हस्पिटालिटीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभवसँग जोड्ने लक्ष्यका साथ अघि बढिरहेका छौँ ।’

‘लगानीकर्तालाई हौसला प्रदान गर्न थप पाँच वटा फ्रेन्चाइज निःशुल्क दिनेछौँ । सञ्चालन तथा व्यवस्थापनको काम पनि हामीले गर्नेछौँ,’ उनले भने, ‘न्यूनतम २० लाख रुपैयाँको लगानीमा हाम्रो मापदण्डअनुसार एभरेष्ट कफी बिन्सको आउटलेट सञ्चालन गर्न सकिनेछ ।’

२०८० चैत १९ गते काठमाडौंको मैतीदेवीबाट पहिलो आउटलेट सुरु गरेको एभरेष्ट कफी बिन्सले तीन वर्षको अवधिमा सात वटा आउटलेट सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले अब आठौं आउटलेट कलंकीमा स्थापना गर्ने तयारी गरेको जनाएको छ ।

एभरेष्ट कफी बिन्समा कफीसँगै बेकरी आइटम तथा विभिन्न प्रकारका खाजा उपलब्ध छन् । एभरेष्ट ग्रुपले कफी, हस्पिटालिटी तथा तालिम क्षेत्रमा लगानी गर्दै आएको छ । साथै, रोस्टेड कफी बिन्सको व्यापारसमेत सञ्चालन गरिरहेको छ ।

यो आउटलेटमा मार्फत संकल्प इन्भेष्टमेन्ट प्रालिले आफ्नो पहिलो लगानीका रूपमा ‘एभरेष्ट कफी बिन्स’को फ्रेन्चाइज लिएको हो । संकल्प इन्भेष्टमेन्टका अध्यक्ष कृष्ण अर्यालले गुणस्तर र सेवाका कारण एभरेष्ट कफी बिन्समा लगानी गरेको बताए । उनले भने, ‘आगामी दिनमा पनि अन्य स्थानमा यसको विस्तार गर्ने योजना छ ।’

नेपालमा पछिल्ला वर्षहरूमा कफी संस्कृतिको विस्तार तीव्र रूपमा बढिरहेको छ । विशेषगरी युवापुस्तामाझ कफी भेटघाट, व्यवसायिक मिटिङ र सामाजिक जमघटका लागि कफी हाउसहरू लोकप्रिय बन्दै गएका छन् । स्वदेशमै उत्पादन हुने कफीको माग बढ्दै जाँदा नेपाली कफी उद्योग र हस्पिटालिटी क्षेत्रमा पनि नयाँ लगानी विस्तार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update