काठमाडौं । फिफा विश्वकप सन् २०२६ आउन आउन ६ दिन मात्र बाँकी छ । अमेरिका, मेक्सिको र क्यानडाको संयूक्त आयोजनामा जुन ११ बाट प्रतियोगिता सुरु हुँदैछ । विश्वकप खेल्ने ४८ राष्ट्रले अन्तिम तयारी गरिरहेका छन् । विश्व फुटबलको सबैभन्दा सफल टोली हो, ब्राजिल । यो, राष्ट्रले पाँच पटक फिफा विश्वकपको उपाधी जित्दै इतिहास रचेको छ । पेले, रोनाल्डो, काका, रिभाल्डो र रोनाल्डीनोको लिगेसी बोकेको ब्राजिल २४ बर्ष यता भने उपाधीविहिन छ ।
पछिल्लो पटक सन् २००२ को विश्वकप ट्रफी उचालेको थियो । दुई दशक बढिको उपाधी भोक मेटाउन ब्राजिलका मुख्यप्रशिक्षक कार्लाे एन्सेलोटी २६ सदस्यीय तुफानी टोलीका साथ अमेरिका पुगिसकेका छन् । उनी र ब्राजिलको एउटै लक्ष्य हुनेछ, फिफा विश्कप सन् २०२६ को ट्रफी ।
सुरुमा ब्राजिलको टोली कस्तो छ ?
गोलरक्षक
एलिसन ब्रेकर, एडरसन र वेभरटन
डिफेण्डर
मार्कविन्होस (कप्तान), एलेक्स सान्ड्रो, ब्रेमर, डानिलो लुइस, डुगलास सान्तोस, गाब्रीए मागल्हाएस, रोजर इबानेज, लियो पेरेइरा र वेस्ले
मिडफिल्डर
कासेमिरो, फाबिन्हो, लुकास पाक्वेटा, बु्रनो गुइमारेज र डानिलो सान्तोस
फरवार्ड
नेयमार जुनियर, राफिन्हा, भिनिसियस जुनियर, एड्ड्रिक, गाब्रीएल मार्टिनेली, इगोर थियागो, लुइस हेनरिके, माथेउस कुन्हा र रायान
विश्वकपमा ब्राजिलकले समुह चरणमा खेल्ने खेलहरु
ब्राजिलको पहिलो खेलः मोरोक्कोविरुद्ध
मितिः२०८३ जेठ ३२ गते
समयस् बिहान ३ः४५ बजे
स्थानः न्यूयोर्क न्यूजर्सी स्टेडियम, न्यूजर्सी
ब्राजिलको दोस्रो खेलः हाइटीविरुद्ध
मितिः २०८३ असार ६ गते
समयः बिहान ६ः१५ बजे
स्थानः फिलाडेल्फिया स्टेडियम, पेन्सिलभेनिया
ब्राजिको तेस्रो खेलः स्कटल्याण्डविरुद्ध
मितिः २०८३ असार ११ गते
समयस् बिहान ३ः४५ बजे
स्थानः मियामी स्टेडियम, फ्लोरिडा
ब्राजिलको बलियो पक्ष के ?
स्टार र अनुभवी खेलाडी
ब्राजिलका लागि उपाधी खडेरी तोड्ने यो उत्तम समय हो । किनकी ब्राजिलको टोली अनुभवी र युवा खेलाडीले पूर्ण छ ।
अधिकांश खेलाडी विश्वभरीका उत्कृष्ट क्लवमा खेल्छन् । उनीहरुको क्षमता र कौशलतामा कुनै कमी छैन् । गोलरक्षक एलिसनदेखि फरवार्ड नेयमारसम्म सबै खेलाडी विश्वस्तरीय र नाम चलेका क्लबमा खेलिरहेका छन् ।
उत्कृष्ट फरवार्ड लाइन
सुपरस्टार नेयमार जुनियर स्टार भिनिसियस जुनियर, राफिन्हा जस्ता खेलाडीको कम्बोले विपक्षी टोलीको रक्षापंक्ती कमजोर हुनुसक्छ । विकल्पमा एड्ड्रिक, मार्टिनेली र रायान जस्ता युवा स्टार हुनेछन् । यसले ब्राजिलेको अट्याकिङ लाइनमा कुनै कमी हुनेछैन् ।
अनुभवी–भरपर्दाे मिडफिल्ड र रक्षापंक्ती
ब्राजिलको रक्षापंक्ती र मिडफिल्ड लाइन अनुभवी र निखारिएको भरपर्दाे देखिन्छ । गोलरक्षक एलिसन पर्खाल झैँ उभिदा मिडफिल्डमा कासेमिरो, लुकास र ब्रुनो गुइमारेजले अनुभवको भरपुर फाइदा उठाउनेछन् । अझ डिफेन्समा कप्तान मार्कविन्होस, एलेक्स सान्ड्रो, डानिलो लुइस र डुगलास सान्तोस हुँदा विपक्षी फरवार्ड लाइनलाई टेन्सन हुने देखिन्छ ।
कमजोर पक्ष के ?
नेयमार फिट नहुनु समस्या
आधुनिक विश्व फुटबलमा छुट्टै पहिचान बनाउन सफल नेयमार जुनियरलाई चोटको पिरालो छ । मांसपेशीमा समस्याका कारण नेयमारले पहिलो खेल गुमाउनेसम्मका चर्चा चलिरहेका छन् ।
टोलीले प्रमुख हतियार मानेका खेलडी हुन् उनी । नेयमारको ब्राजिलको राष्ट्रिय टोलीबाट सर्वाधिक ७९ गोल गरेका छन् । उनको जोट लम्बियो भने समस्या पैदा हुनसक्छ ।
उपाधीको मानसिक दबाब
ब्राजिलका खेलाडीलाई विश्वकप उपाधीको दबाब छ । पछिल्लो २४ बर्षमा उपाधी जित्न नसक्दा फुटबलको उर्बर भुमी मानिने ब्राजिलमाथि आलोचना बढ्दो छ । पुर्खाको विरताको गाथामा मात्रै रमाउन नसकिने भान गरेका खेलाडी जसरी पनि जित्ने रणनीतिमा उत्रिने छन् ।
यस्तो अवस्थामा ट्रफि जित्ने मानसिक दबाब खेलाडीमा पर्नसक्नेछ । यसैमा ब्राजिलको दुर्भाग्य हुन सक्छ । पछिल्लो पाँच विश्वकप सन् २०१४ मा घरेलु मैदानमा भएको विश्वकपमा सेमिफाइनल पुग्न बाहेक अन्यमा क्वाटरफाइनलबाटै बाहिरिएको इतिहास छ ।
ब्राजिलको पोस्टर ब्वाई नेयमार !
ब्राजिले नेयमारलाई पोस्टर ब्वाईका रुपमा अघि सारेको छ । ३४ बर्षीय नेयमार चोटका कारण फुटबल करियरको उत्तरार्धमा छन् । कतिपयले उनको यो अन्तिम विश्वकप पनि भनेका छन् । जटिल परिस्थिति हुँदाहुँदै पनि उनलाई विश्वकप खेल्ने टोलीमा राख्नुको अर्थ उनको स्टाडम नै हो । ब्राजिलको राष्ट्रिय टोलीबाट १२८ खेलमा ७९ गोल गरेका छन् ।
विश्वकपमा १३ खेलमा ८ गोल उनको नाममा छ । ब्राजिलका लागि पेले र रोनाल्डो नाजारियोपछि तीन फरक–फरक विश्वकप संस्करणमा गोल गर्ने तेस्रो ब्राजिलियन खेलाडी हुन् । उनको नाममा सन् २०१६ को ओलम्पिक पदक मेडल छ । फुटबल करियरमा युरोप हुँदै विश्वभरी छाएका उनी विश्वकप ट्रफी सहित सुखद विदाईको पर्खाईमा छन् ।
अन्तर्राष्ट्रिय उपाधीहरु र इतिहास
विश्व फुटबलकै सफल टोली ब्राजिलले किर्तिमानी ५ पटक फिफा विश्वकप ट्रफि उचालेको छ । सन् १९५८, १९६२, १९७०, १९९४, र २००२ गरी पाँच पटक विश्वकप जित्ने ब्राजिल फुटबल इतिहासको एक मात्रै राष्ट्र हो ।
अन्य अन्तर्राष्ट्रिय उपाधीमा ९ पटक कोपा अमेरिका, ४ पटक फिफा कन्फेडेरेसन कप, दुई पटक ओलिम्पिकमा स्वर्ण पदक जित्न सफल भएको इतिहास छ । रोचक कुरा के छ भने ब्राजिल एक मात्रै त्यस्तो राष्ट्र हो, जसले विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको छ । सन् १९३० मा सुरु भएको विश्वकप प्रतियोगिता सन् २०२६ मा २३ औँ संस्करणमा आइपुग्दा ब्राजिल हरेक विश्वकप खेल्ने सफल टोली हो ।
अन्त्यमा, ब्राजिल अनि पेलेको चर्चा नहुने कुरै भएन् । फुटबलमा कालो मोती उपानामले परिचित स्वर्गीय पेले फिफा विश्वकप फुटबल इतिहासमा तीनपटक ट्रफी जित्ने एकमात्रै खेलाडी हुन् र उनलाई ब्राजिल र विश्वले स्मरण गरिरहने छ ।