News 24 Television
एनपीएल विवादमा पाकिस्तानी फ्याक्टर, सुदूरपश्चिमका ५ कमजोरी, आईसीसी र क्यान !

काठमाडौं । बहुचर्चित नेपाल प्रिमियर लिग एनपीएल सिजन–३ जारी छ । भब्य रुपमा चलिरहेको प्रतियोगितामा शनिबार विराटनगर किङ्स र सुदुरपश्चिम रोयल्स विचको खेल निकै विवादित बन्यो । वर्षाका कारण मैदान भिजेको कारण मात्र ५ ओभरमा छोट्याउने निर्णय भयो । तर सुदूरपश्चिम तयार भएन । अन्ततः दबाब महशुस गर्दै सुदूर मैदानमा उत्रिएको सुदूरले पराजय ब्यहोर्यो । किन भएको थियो विवाद ? 
 विश्व चर्चित बनेको नेपाल प्रिमियर लिग एनपीएल विवादको भुमरीमा फसेको छ । शनिबार अवेर राति सम्पन्न विराटनगर किङ्स र सुदुरपश्चिम रोयल्स विचको खेल विवादित बन्यो ।

भएको के थियो ? 

एनपीएल सिजन–३–खेल नम्बर ८, प्रतियोगितकै सबैभन्दा ठुलो विवादित बन्यो । शनिबार त्रि.वि. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भोक, प्यास र हिलो नभनी मैदान उत्रिएका हजारौँ दर्शक अघि एउटा यस्तो घटना घट्यो जसले एनपीएलको विश्वसनीयता माथि नै प्रश्न उठाई दिएको छ । 

निर्धारित समय अनुसार सुदुरपश्चिम र विराटनगर विचको खेल साँझ पाँच बजे सुरु हुनु पर्ने थियो । तर भिजेको मैदान सुकाउन वर्षा खेल डिले भयो । वर्षा रोकिए पनि मैदान खेल्नका लागि योग्य थिएन । समयमै खेल हुन नसक्दा मैदानमा पुगेका दर्शक खेल हेर्न आतुर देखिन्थे ।

ढिलोगरी म्याच रेफ्री वेन्डल लाब्रोय र दुबै टोलीका कप्तान विच ५ ओभरको खेल खेल्न र ७ः२५ बजे टस गर्ने सहमति भयो । सहमति बमोजिम विराटनगर किङ्स मैदानमा वार्मअपमा निस्कियो । तोकिएको समयमा टस गर्न म्याच रेफ्री र विराटनगरका कप्तान सन्दीप लामिछाने अग्रसर थिए । तर सुदुरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरी अनुपस्थित भए । 

त्यसपछि हल्लाखल्ला सुरु भयो । सुदुरपश्चिमले मैदान खेल्नयोग्य नभएको ढिपी गर्न थाल्यो । त्यसपछिका झण्डै दुई घण्टा लाखौं नेपालीको मनमा बसेको एनपीएलकै जग हल्लिनेगरी घटनाक्रम विकसित हुन पुग्यो । 

मैदानमा यतिसम्म आपत पर्छ की क्यानका सचिव पारस खड्कालाई विवाद मिलाउन हम्मेहम्मे पर्यो । विराटनगरका खेलाडी क्रिकेट मैदानमा फुटवल खेलिरहेका देखिन्थे । त्यसपछि लामो रस्साकस्सीका विच ९ः५ मा टस भयो र ९ः१५ बजे खेल सुरु भयो । बेखुशी हुँदै मैदान छिरेको सुदूरपश्चिम विराटनगरसँग ३५ रनले पराजित भयो ।
   
एनपीएलमा आकर्षक फ्यान बेस भएको फ्रेन्जाइज टोली हो, सुदुरपश्चिम रोयल्स । सुदुरपश्चिमको भुगोलबाट मात्रै एनपीएल सिजन–३ खेल्ने तीन दर्जन खेलाडी छन् । टियु मैदानमा सुदुरपश्चिमको खेल हुँदा एल्लो जर्सीमा हजारौँ समर्थक उत्रिन्छन् । जुन सकारात्मक पक्ष हो । तर शनिबार राति विराटनगर विरुद्धको खेलमा देखाएको ब्यवहारले सिंगो क्रिकेट जगत नै आजित बन्यो ।

अझ बुहचर्चित एनपीएल विवादित र प्रश्नयोग्य बन्यो । कारण सहज छ, सुदुरपश्चिमले प्राविधिक कारण देखाउँदै खेल खेल्न आनाकानी र ढिपी गर्नु ।

सुदूरपश्चिम रोयल्सका ५ कमजोरी !

१. टसमा उपस्थित नहुनु

पहिलो कुरा सुदुरपश्चिम रोयल्सले टसमा उपस्थित भएन । पूर्वसहमती अनुसार ७ः२५ बजे टस गर्ने सहमति भएको थियो । सोहि अनुसार विराटनगर मैदान भित्र तयारी गरिरहेको थियो । तर सुदुरपश्चिमले निर्धारित टसलाई लत्याएर अनुपस्थित जनाउँदै विवादको जरा रोप्यो ।

त्यसपछि परिस्थिति केहि असहज बन्यो । जहाँ विराटनगरका कप्तान सन्दीप लामछिने र म्याच रेफ्री टसका तयार हुँदा सुदुरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरी अनुपस्थित बने । यहाँ प्रश्न उब्जिन्छ, उसो भए टस गर्ने सहमती किन गरेको ?

२. खेल खेल्न नमान्नु

निर्धारित समयमा टस लत्याएर सुदुरपश्चिमले मैदानको अवस्था ठिक नभएको र विदेशी खेलाडीले खेल्न आनकानी गरेको बाहाना बनायो । जबकी आइसीसी मान्यता प्राप्त म्याच रेफ्रीले मैदानको निरीक्षण गरेर खेल खेलाउने निर्णय गरेका थिए । यहाँनेर सुदूरपश्चिमले कि त म्याच रेफ्री र आइसीसीलाई च्यालेन्ज गर्नसक्नु पथ्र्यो  । नभए खेल्नुको विकल्प थिएन । 

सुदुरपश्चिम राजी नहुँदा झण्डै दुई घण्टासम्म मैदान भित्र र डगआउटमा असहज माहोल बन्यो । जबकी सोहि मैदानमा अर्काेटोली आफ्ना विदेशी खेलाडी कतिबेला खेल सुरु होला र खेलौला भन्नेमा थियो ।

३. प्लेइङ–११ भन्दा बाहिरको खेलाडी मैदानमा उतार्नु

अन्तिम समयमा खेल्न राजी भएको सुदुरपश्चिमले अर्का ठुलो बलण्डर कमजोरी ग¥यो । त्यो के हो भने खेल सुरु हुन काउनडाउन सुरु भइसेकेको थियो । तर प्लेइङ–११ मा रहेका सुदूरपश्चिमका विदेशी खेलाडी शेरफेन रदरफोर्ड मैदानमा नगई उनको स्थानमा टेक रावत फिल्डीङ गर्न मैदान पुगे । त्यसपछि एम्पाएर खेल रोकेर रदरफोर्डलाई नै मैदानमा बोलाउन परेको थियो । यस्ता घटना क्रिकेटमा विरलै देखिन्छन् । 

४. आधिकारिक प्रिजेन्टेसन बहिस्कार 

विराटनगरसँग खेल हारेको सुदुरपश्चिमले अदृश्य रुपमा खेल बहिस्कार ग¥यो । दुबै टोलीका कप्तान वा र कुनै एक खेलाडीसंग कुराकानी गर्ने परम्परा छ । तर सुदुरपश्चिका कुनै पनि खेलाडी देखा परेनन् । त्यतिमात्रै होइन, खेलपछिको पुरस्कार वितरणमा पनि सुदुरपश्चिमका खेलाडी अनुपस्थित रहे । जुन   खेलको नियमित प्रक्रिया थियो ।  

५. पत्रकार सम्मेलनमा उपस्थिति नहुनु

आधिकारिक प्रिजेन्टसन नै बहिस्कार गरेको सुदुरपश्चिमलाई खेलपछिको पत्रकार सम्मेलनमा पनि आफ्नो कुरा राख्ने अवसर थियो । तर त्यो अवसर पनि लत्याउँदै सुदुरपश्चिमले खेलको भावना देखाउन सकेन । 

जसको निर्मम समिक्षा हुनुपर्ने आवाज उठिरहेका छन् । विराटनगरका कप्तान सन्दीप भने पत्रकारसंग गफिदै खेल र जितबारे ब्रिफिङ गर्न पुगेका थिए । तर मुख्य प्रशिक्षक मिसवाहले कप्तानलाई प्रेजेन्टेसनमा नबोलाइएको र पोस्ट म्याच प्रेस मिटमा पनि अघि नबढाइएको धारणा अघि सारेका छन् । 

हुन त सुदुरपश्चिको अडानलाई सहज रुपमा लिनुपर्ने हुन्छ । किनकै मैदानको एक भाग खेल्न नसकिने हुँदा बाउन्ड्री घटाउनेदेखि, एक फ्लडलाइटको कमजोर लाइट र खेलाडी सुरक्षा जस्ता पक्ष निकै संवेदनशिल हुन् । 

क्यान के गर्छ ?

की त क्यानले आफ्नै ब्यवस्थापनको कमजोरी हो भनेर स्वीकार गर्नु प¥यो नभए सुदुरपश्चिमको टोलीले मैदानमा देखाएको ब्यबहारले सिंगो एनपीएलको विश्वसनियता माथि नै प्रश्न उठको छ । अझ यो घटनालाई सामान्य रुपमा लिने हो भने भोलिका दिन अरु टोलीले पनि यस्तै शैली नदो¥याउलान् भन्न सकिन्न । 

प्रतियोगितामै प्रश्न उठ्नेगरी घटेको यो घटनाबारे क्यान र फ्रेन्जाइज टोली जिम्मेवार बन्न जरुरी छ । क्यानले सामान्य घटनाका रुपमा लिए भोलिका दिनमा एनपीएलप्रतिको विश्वास र भरोसा डगमगाउने कुरामा दुई मत छैन । यसमा क्यानले के गर्छ भन्ने कुरा महत्वपूर्ण हो । 

के हो पाकिस्तानी फ्याक्टर ?

पाकिस्तान अदृश्य रुपमा एनपीएल सक्न लागि परेको कुरा लुकेको छैन । जसका केहि उदाहरण छन् । पहिलो हो, एनपीएल खेल्न अनुबन्ध भइसकेका खेलाडीलाई २५ हजार लडरको सिमा राखेर असहज वातावरण पैदा गर्नु । जसका कारण एनपीएल खेल्न नेपाल आएका खेलाडी बाध्य भएर स्वदेश फर्किएका छन् । 

ती खेलाडी हुन्, कर्णाली याक्समा अनुबन्ध भएका साहिबजादा फरहान र जनकपुर बोल्ट्समा अनुबन्ध भएका इफ्तिखार अहमद र हुनैन शाह । यो एक एनपीएलकै हाइट डाउन गर्ने पिसिबीको रणनीति बुझ्न कठिन छैन । दोस्रो हो, शनिबारको विवादित घटनाका रचनाकार पूर्व पाकिस्तानी खेलाडी सुदुरपश्चिम रोयल्सका मुख्यप्रशिक्षक मिसवाह उल हक । किनकी विराटनगर विरुद्धको त्यो खेल खेल्न नहुने विषयमा उनी नै अनिर्णित बनेका थिए । 

उनले चाहेको भए समयमै खेल हुन सक्थ्यो । एकातिर खेलाडीमाथि अनावश्यक नियम लागु गर्ने अर्कोतिर मिसबाहको त्यो शैलीले एनपीएल असफल होस् भन्ने चाहना प्रष्टै देखिन्छ । किनकी एनपीएलको लोकप्रियता विश्वब्यापी बढ्दै गएको छ । पाकिस्तानले आयोजना गर्ने पीएसएलको विश्वसनियता खस्किदै गएको छ । रणनीतिक रुपमा पाकिस्तान एनपीएल असफल होस् भनेर चाहेको कुरा नकार्न सकिदैन ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update