News 24 Television
NPL S3 का ६ खेलको हिसाबकिताब, राहुलको उदय, बलर हाबी, कर्णाली शीर्ष, कुन टोली उत्कष्ट ?

काठमाडौं । कार्तिक ९ गतेबाट सुरु भएको एनपीएल सिजन–३ मा ८ फ्रेन्जाइज टोली उपाधी भिडन्तमा छन् । शुक्रबार कुनै पनि खेल भएनन् । शनिबार देखि पुनः खेल सुचारु हुनेछन् । अहिलेसम्म ६ खेल सकिदा प्रतियोगिताको रोमाञ्चकता बढ्दै गएको छ । राहुल यादव जस्ता युवा स्टारको उदय हुँदा सन्दीप लामिछानेको नेतृत्व कमजोर देखिएको छ । समग्रमा पहिलो राउन्डका खेल चलिरहँदा के के भयो त ? 

नेपाली क्रिकेटको कुम्भमेला नेपाल प्रिमियर लिग एनपीएल सिजन–३ जारी छ । ३२ खेलको प्रतियोगितामा ६ खेल सकिएका छन् । 

कर्णाली याक्स, सुदुरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र विराटनगर किङ्सले समान २÷२ खेल खेल्दा लुम्बिनी लायन्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्सले समान १÷१ खेल खेलेका छन् । सुरुवाती खेल सकिदा शुक्रबार कुनै पनि खेल भएनन् । अर्थात् रेस्ट डे । 

कस्तो बन्यो अंकतालिका ? 

तेस्रो संस्करणको एनपीएका पहिलो चरणका खेल सकिदा कर्णाली याक्स तालिकाको शिर्ष स्थानमा छ । जनकपुर माथि १९ रन र विराटनगरविरुद्ध ४ विकेटको स्पष्ट जितका साथ कर्णाली ४ अंक बटुलेर शीर्ष स्थान कब्जा गरिरहेको हो । 

एक खेल खेलको लुम्बिनी लायन्स दोस्रो स्थानमा छ । साविक विजेता लुम्बिनीले उद्घाटन खेलमा सुदुरपश्चिम रोयल्सलाई ७ विकेट पराजित गरेको हो । 

विराटनगर विरुद्ध ८ विकेटको जित निकालेको चितवन २ अंकका साथ तेस्रो स्थानमा छ । समान २ खेल खेलेका जनकपुर र सुदुरपश्चिम एक हार र एक जितका साथ चौथो र पाँचौ स्थानमा छन् । विराटनगर, काठमाडौँ र पोखरा अंकविहिन हुँदा क्रमश पुछारमा छन् । 

सर्वाधिक रन प्रहार गर्ने तीन खेलाडी 

एनपीएलको सुरुवाती खेल सकिदा नेपाली र विदेशी ब्याटरले मध्यम खेल पस्किएका छन् । तेस्रो सिजनमा ६ खेल सकिदा विराटनगरका लोकेश बलले कर्णाली विरुद्ध प्रहार गरेको ८७ रन सर्वाधिक सिंगल ठुलो पारी हो । अहिलेसम्म सर्वाधिक रन प्रहार गर्नेको उनी शिर्ष स्थानमा छन् ।

दुई खेलमा ११६ रन छ । दोस्रो नम्बरमा सुदुरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी छन् । दुई खेलमा कप्तान दिपेन्द्रले ७८ रन प्रहार गरेका छन् । तेस्रो नम्बरमा पोखरा एभेन्जर्सका मोइन अली छन् । २ खेलमा मोइनले ७७ रन बनाएका छन् । 

सर्वाधिक विकेट लिडर 

सर्वाधिक विकेट लिएर अग्रता कायम गर्नेमा १७ बर्षीय युवा बलर राहुल यादव शिर्ष स्थानमा छन् । जनकपुर बोल्ट्सका आइकोनिक खेलाडी राहुलले दुई खेलमा ६ विकेट लिएका छन् । एनपीएलमा सनसनी मच्चाइरहका राहुल विकेट लिडर बनेका छन् ।

दोस्रो र तेस्रो नम्बरमा सदुरपश्चिम रोयल्सका अनिल खरेल र कर्णाली याक्सका कप्तान सोमपाल कामी छन् । समान दुई खेलमा खरेल र सोमपालले ५÷५ विकेट लिएर सर्वाधिक विकेट लिएका छन् । सर्वाधिक विकेट लिने खेलाडी बन्ने रोचक दौड जारी छ ।  

अर्धशतक प्रहार गर्ने ५ खेलाडी 

टियु मैदानको पिचको विषयमा प्रश्न उठिरहँदा ५ खेलाडीले अर्धशतक बनाएका छन् । कुनै पनि खेलडीले शतक प्रहार गर्न सकेका छैनन् । अर्धशतक प्रहार गर्नेमा 

–चितवन राइनोजका डाविड मलानले विराटनगरविरुद्ध ७० रन

–पोखरा एभेन्जर्सविरुद्ध सुदुरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले ५१ रन 

–काठमाडौँ गोर्खाजविरुद्ध जनकपुरका मोइन अलीले ५८ रन

–कर्णाली याक्सविरुद्ध विराटनगरका लोकेश बमले ८७ रन

–विराटनगर किङ्सविरुद्ध कणालीका कप्तान सोमपाल कामीको ६२ रन 

६ खेलमा प्लेयर अफ द म्याच बन्ने खेलाडी को ? 

एनपीएल सिजन–३ का ६ खेल सकिदा सबै खेलमा नेपाली खेलाडी प्लेयर अफ दी म्याच बनेका छन् । स्मरण रहोस् ती सबै नेपाली खेलाडी नै हुन् । अघिल्ला संस्करणमा विदेशी खेलाडीको बर्चस्व हुन्थ्यो भने यसपटक नेपाली खेलाडी हाबी बनेका छन् । 

जुन नेपाली क्रिकेटका लागि महत्वपूर्ण पक्ष हो । पहिलो खेलमा लुम्बिनी लायन्सका बलर शेर मल्ल प्लेयर अफ दी म्या बने । शेरले ४ ओभर बलिङ गरेर ११ रन मात्रै खर्चिएर ३ विकेट लिँदा नायक बने । दोस्रो खेलमा चितवन राइनोजका बलर कमलसिंह ऐरी ४ ओभर बलिङ गर्दै २६ रन खर्चिएर ४ विकेटका साथ प्लेयर अफ दी म्याच बने । 

तेस्रो खेलमा कर्णाली याक्सका युनिस बिक्रम ठकुरी, ४ ओभर बलिङमा २२ रन खर्चिएर ३ विकेट । चौथो खेलमा सुदुरपश्चिम रोयल्सका दिपेन्द्रसिंह ऐरी, ५१ रनको अर्धशतक र एक विकेट, पाँचौ खेलमा जनकपुर बोल्ट्सका राहुल यादव, ४ ओभर बलिङ २१ रन खर्चिएर ४ विकेट र छैँटो खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी, ६२ रनको अविजित इनिङ र ४ विकेट । प्लेयर अफ दी म्याचको रेकर्डले टियु मैदानमा बलर हाबी भएको तथ्य देखाउँछ ।

राहुलको उदय

यस संस्करणको एनपीएलमा मैदान भित्र र बाहिर कसैको चर्चा छ भने त्यो नाम हो, राहुल यादव । १७ बर्षीय राहुलले सनसनी मच्चाएका छन् । 

जनकपुरले आइकोनिक खेलाडीका रुपमा टोलीमा भित्राएका राहुल म्याच विनर खेलाडी बनिरहेका छन् । डेब्यु खेलको पहिलो बलमै कर्णालीविरुद्ध दिपक डुम्म्रेलाई पेभिलियन्ट फर्काएर सबैको ध्यान खिच्न सफल भए । मांलिंगा स्टाइलको बलिङ शैलीमा उनले कर्णालीविरुद्ध २ विकेट लिएपछि सबैको नोटिसमा परे । उक्त खेल कर्णालीले जितेपनि उनलाई स्थापित हुन मदत पुग्यो । 

दोस्रो खेलमा काठमाडौँविरुद्ध पहिलो बलमै विकेट झार्दै राहुल सनसनी मच्चाउन पुगे । टोलीलाई जित दिलाउन महत्पूर्ण भुमिका खेलका राहुलले समग्रमा ४ विकेटर लिएर प्लेयर अफ दी म्याच बने । उनी अहिलेसम्म समग्रमा ६ विकेट लिएर सर्वाधिक विकेट लिनेको शिर्ष स्थानमा छन् । 

यहाँ सम्म पुग्दा टियु मैदान भित्र उनकै नाम गुञ्जिएको थियो भने बाहिर पनि उनकै चर्चा चुलिएको छ । उनलाई नेपाली क्रिकेटका उदाउँदा स्टारको रुपमा हेर्न थालिएको छ । उनी राष्ट्रिय क्रिकेट टोलीका परपुर फास्ट बलरको हिस्सा बन्न सक्ने सम्मका विश्लेषण भइरहेका छन् । यद्यपी प्रतियोगिताभर उनले कस्तो पर्दशन गर्छन् हेर्न बाँकी छ । 

ट्रफी कसले उचाल्ला ? 

एनपीएलको पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स बनेको थियो । दोस्रो संस्करणमा लुम्बिनी लायन्सले ट्रफी उचाल्यो । तेस्रो संस्करणको ट्रफी कसले उचाल्ला ? समर्थकले विभिन्न अड्कलबाजी गरिहरेका छन् । ८ वटै टोलीले सबै खेल खेल्दा कर्णाली याक्स अब्बल देखिएको छ । साविक विजेता लुम्बिनी र चितवनको टोली पनि परिपक्क देखिन्छन् । 

जनकपुर र सुदुरपश्चिमले खेलमा कमब्याक गरिरहेका छन् । विराटनगर, काठमाडौँ र पोखरा भने लय भेट्टाउन सकिरहेका छैनन् । नतिजा हेर्दा कर्णाली अब्बल देखिएको छ । 

अझ विश्वस्टार दक्षिण अफ्रिकी ब्याटर तथा फिनिसर डेभिड मिलर जोडिन बाँकी छ । यद्यपी प्रतियोगिताका एक चौथाई खेल पनि सकिएका छैनन् । अहिले नै विजेताको अड्कलबाजी गर्न हतारो हुन्छ । 

डिआरएस र टीयु पिचबारे प्रश्न ? 

नेपाली क्रिकेटमा पहिलो पटक डिसिजन रिभ्यु सिस्टम (डिआरएस) एनपीएल सिजन–३ मा लागु भयो । पहिलो रिभ्यु लुम्बिनीका शेर मल्लले लिएका थिए । 

त्यसयता हरेक जसो खेलमा डिआरएस प्रयोग भएको छ । खेलाडी र दर्शकले उक्त प्रविधिको मज्जा लिएका छन् । तर एम्पाएरको क्षमतामाथि भने गम्भिर प्रश्न कायमै छ । अर्काेकुरा टियु पिचको बारेमा प्रश्नहरु उब्जिरहेका छन् । 

मोइन अलीले आफुले क्रिकेट खेलेको मध्य कठिन पिच भनेका छन् । कतिपय खेल विश्लेषकले पनि प्रश्न उठाइरहका छन् । कारण हो, पिचमा रन बनिरहेको छैन् । ब्याटिङ नभई बलिङ फ्रेड्ली बनेको छ । ८ वटा पिचरहेको टियुमा विराटनगर र कणार्लीविचको खेल बाहेक अन्य पाँच खेलमा कमजोर रन बनेको पाइन्छ । पिच बारे प्रश्न कायमै छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update