काभ्रेपलाञ्चोक । आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मानव कल्याण समाजलाई सरसफाइ सामग्री सहयोग गरेको छ ।
फाइनान्सले धुलिखेल नगरपालिका वडा नं. १० मा सञ्चालित समाजको सेवा घरमा आश्रित असहाय वृद्धवृद्धाहरूका लागि आवश्यक चप्पल, साबुन, स्याम्पु, फिनेल, कुचो तथा झाडु लगायत दैनिक प्रयोग हुने सरसफाइका सामग्रीहरू प्रदान गरेको हो ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतमको प्रमुख आतिथ्यतामा सो सामग्री वितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा फाइनान्सका तर्फबाट मार्केटिङ विभाग प्रमुख सन्जोक गुरुङ, बनेपा शाखा प्रबन्धक निर्मल त्रिपाठी, कर्मचारीहरू नफिसा ताम्राकार र निर्माता रायमाझी लगायतको उपस्थिति रहेको थियो ।
हाल मुलुकभर २१ वटा शाखाहरू मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको आइसीएफसी फाइनान्सले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यहरू गर्दै आएको छ । फाइनान्सको यस सहयोगले धुलिखेल सेवा घरमा आश्रित ५५ जना असहाय वृद्धवृद्धाहरूको स्वास्थ्य र सरसफाइमा ठूलो सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
