News 24 Television
अर्थमन्त्रीको जवाफः कम्युनिस्टको बजेट होइन, मध्यम वर्गमाथि ‘बायस’ छैन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै विपक्षी दलका सांसदहरुले करको दर हेरफेरदेखि बजेटले गरिव तथा विपन्न वर्गलाई छुन नसकेको टिप्पणी गरेका छन् । 

बजेटबारे संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले यो कम्युनिस्टहरुले ल्याएको बजेट जस्तो नभएको बताएका छन् । 

झण्डै दश दिनपछि विपक्षी आफैले गरेको अवरोध खुला भएपछि विहीबार भएको बजेटमाथिको छलफलमा भाग लिँदै विपक्षी दलका सांसदहरुले करको दर हेरफेर लगायतमा अर्थमन्त्री डा.स्वार्णिम वाग्ले माथि नै आशंका ब्यक्त गरेका छन् । 

विनियोजन विधेयकमाथिको छलफलमा भाग विपक्षी सांसदहरुले करको दर र आर्थिक विधेयकमा मनलाग्दी हेरफेर गरेर अर्थमन्त्री वाग्लेले अक्ष्यम्य गल्ती गरेको भन्दै आरोप लगाए । साथै विपक्षी सांसदहरुले बजेट निर्माण गर्दा दुर्गम गाउँका नागरिकलाई बिर्सिएकोदेखि बजेटले गरिवलाई छुन नसकेको टिप्पणी गरेका छन् । 

अर्थमन्त्री वाग्लेको जवाफः यो कम्युनिस्टको बजेट होइन 

आगामी आर्थिक वर्षको बिनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आफूले ल्याएको बजेट कम्युनिस्टको बजेट नभएको बताए । तर उनले चीनको  उदाहरण दिँदै निम्न वर्गलाई मध्यम वर्गमा उठाउने गरी बजेट ल्याएको दाबी गरेका छन् । 

समावेशी आर्थिक वृद्धिकै जगमा चीनले २०–२५ वर्षमा ८० करोड मानिसलाई गरिबीको रेखाबाट माथि उकासेको उनको भनाई थियो । 

पैसा बाड्न थाल्ने हो भने भेनेजुएला र जिम्बाबेजस्तो टाट पल्टिने वाग्लेले बताए । आफूले गरिबी घटाउने र श्रमिकलाई सुरक्षित रोजगारी सिर्जना गर्ने गरी बजेट ल्याएको र मध्यम वर्गसँग आफू बायस नहुने अर्थमन्त्री वाग्लेले स्पष्ट गरे । 

दुई रुपैयाँ मात्रै बदमासी भए मन्त्री छाड्छुः अर्थमन्त्री 

संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा आफूमाथि लागेको २ अर्बको बदमासी भएको कुरा अर्थमन्त्री वाग्लेले अस्वीकार गरे । उनले २ अर्ब होइन २ रुपैया मात्रै आफूबाट बदमासी भएको मन्त्री पद त्याग्ने घोषणा गरे । 

उनले आफूबाट बदमासी भएको पुष्टी भएमा सार्वजनिक जीवन नै त्याग्न तयार भएको बताए । मन्त्री वाग्लेले आफूमाथि औंला ठड्याउने सांसदहरुलाई पनि उनले चेतावनी दिए । 

दुई रुपैयाँको पनि बदमासी नगरेको दाबी गरेका अर्थमन्त्री वाग्लेले विनियोजनक विधेयकमा संशोधन गरेको स्वीकार गरेका छन् । अघिल्लो सरकारले ७३ वटा बुँदा संशोधन गरेको दावी गर्दै आफूले सामान्य ३\४ वटा बुँदा मात्रै संशोधन गरेको उनले स्पष्ट गरे । 

त्यो पनि प्राविधिक कारणले कर्मचारीहरुबाट गरिएको संशोधनलाई आफूले जसमात्रै लिएको मन्त्री वाग्लेको भनाई थियो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले समता र सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरेका छन् । आफ्नो पार्टीको एजेण्डाजस्तो बजेट नआएको भनेर गुनासो नगर्न मन्त्री वाग्लेले आग्रह गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update