News 24 Television
१०औँ राष्ट्रिय खेलकुदः पाँच पटकको अन्योलपछि कर्णालीमा उत्साह

काठमाडौं । लामो पर्खाइ, पूर्वाधार निर्माणको चुनौती र पटक–पटक मिति सरेपछि अन्ततः कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीले तीव्रता पाएको छ । कुल ३२ खेलमध्ये मुख्य २३ खेल राजधानी सुर्खेतमै खेलाइने निश्चित भएको छ भने पूर्वाधार अभावका कारण  केही खेल लुम्बिनी प्रदेशमा समेत सारिएका छन् । पाँच पटकसम्म मिति सारिएको खेलकुद प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ ।

भौगोलिक विकटता र अभावका बीच कर्णाली प्रदेश देशकै सबैभन्दा ठूलो खेल महोत्सवको स्वागत गर्न तयार हुँदैछ । आगामी मंसिर १६ देखि २७ गतेसम्म सुर्खेतमा १०औँ राष्ट्रिय खेलकुदको औपचारिक आयोजना हुँदैछ । यद्यपि औपचारिक उद्घाटन अघि नै मंसिर ८ गतेदेखि केहि खेल खेलाईने भएको छ । विषेश गरि फाइनलका खेल बाहेक सबै खेल अगाडि गराउने उदेश्यले ८ गतेबाट सुरु गर्ने तयारी थालीएको मुख्यमन्त्री मंगल बहादुर शाहीले बताएका छन् । 

कर्णालीमा यो खेल महोत्सव आयोजना हुनु सहज यात्रा भने बनेन, विभिन्न कारण देखाउँदै प्रतियोगिताको मिति पाँच पटकसम्म सारिएको थियो । 

गण्डकीमा सम्पन्न ९औँ संस्करण लगत्तै पहिलोपटक २०८१ मंसिर २ देखि ९ गतेसम्म गर्ने मिति तोकिएको थियो । तर सुर्खेत रंगशाला निर्माणमा ढिलाइ भएपछि दोस्रोपटक मिति संशोधन गरी २०८१ फागुन पु¥याइयो । 

तेस्रो पटक आर्थिक अभाव र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बजेट व्यवस्थापनमा अन्योलता हुँदा २०८१ चैतका लागि प्रस्ताव गरियो  । तर यस मितिमा पनि प्रतियोगिता हुन सकेन । त्यस पछि  समयमै स्रोत र पूर्वाधार जुट्न नसकेपछि चौथो पटक प्रतियोगितालाई २०८२ को वैशाख,जेठमा लैजाने चर्चा चल्यो । 

अन्ततः लामो अन्योलता चिर्दै पाँचौँ पटकको निर्णयबाट आगामी मंसिर १६ देखि २७ गते प्रतियोगिता सम्पन्न गर्ने गरी मिति लक गरिएको हो । यसका लागि संघिय सरकार देखि प्रदेश स्थानिय सरकारसम्मले तयारि तिब्र पारेका छन् । यस प्रतियोगितामा प्राविधिक समितिले अनुमोदन गरेको तालिकाअनुसार कुल ३२ खेलमध्ये अधिकांश ठूला खेलहरू मुख्य आयोजक जिल्ला सुर्खेतमै हुनेछन् । 

एथ्लेटिक्स, फुटबल, भलिबल, क्रिकेटसहित मार्सल आट्र्सका कराँते, तेक्वान्दो, उसु, बक्सिङ तथा ब्याडमिन्टन, टेबलटेनिस र बास्केटबल गरी कुल २३ खेल सुर्खेत रंगशाला वरपर सञ्चालन हुनेछन् । 

कर्णालीका अन्य चार जिल्लामा ५ वटा खेल विभाजन गरिएको छ, जसअन्तर्गत दैलेखमा आईटीएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठन आयोजना गरिनेछ । प्रदेशका सबै जिल्लामा खेल खेलाउने उदेश्य भए पनि हिमाली जिल्लामा अत्याधिक चिसो हुने भएकाले नजिकका पहाडि जिल्लामा मात्रै खेलाईने कर्णाली प्रदेश सरकारले जनाएको छ । यस्तै कर्णालीले खेल आयोजनाको ऐतिहासिक अवसर पाए पनि पूर्वाधार अभावले पौडी र सुटिङका खेलहरू छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्जमा तथा टेनिस र खो–खो प्रतियोगिता बर्दियामा आयोजना गर्नुपर्ने बाध्यता बनेको छ ।

पाँच पटकसम्म मिति सर्दा खेलाडीहरूमा अन्योल र निराशा छाएको थियो । तर अब खेल तालिका र स्थान निश्चित भएसँगै कर्णालीमा खेलकुदको माहोल तात्दै गएको छ । आफ्नै भूमिमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने कर्णालीको सपना साकार हुँदै गर्दा, पूर्वाधार अभावका कारण केही खेल छिमेकी प्रदेशमा पठाउनुपर्ने बाध्यताले भने दीर्घकालीन खेल संरचना निर्माणको खाँचोलाई स्पष्ट पारेको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update