काठमाडौँ । शुक्रबारको सदनमा रास्वपाकै सांसदहरूले सरकारमाथि खरो प्रश्न र आलोचना गरे । यसपछि प्रधानमन्त्री बालेन शाहले लगातारको स्टाटस र स्टाटस मार्फत नै आफू नेतृत्वको सरकारले गरेका प्रमुख ५ कामको व्याख्या गरेका थिए । शुक्रबार राति नै लेखेको स्टाटसमा ‘कहिलेकाहीँ एक्लै पनि लड्नुपर्छ’ भन्ने भाष्यले विभिन्न अड्कलबाजी पनि गरायो । केहीले सत्ता सञ्चालनमा प्रधानमन्त्री बालेनलाई रास्वपा र पार्टीकै सांसदहरूले असहयोग गरेको त होइनन ? भन्ने प्रश्न यो भाष्यले उठाएको थियो ।
यस्तैमा नेकपा एमाले महासचिव शंकर पोखरेलले तत्काल स्टाटस लेख्दै केही बुँदामा प्रधानमन्त्रीलाई अर्ति दिन भ्याए । जहाँ उनले भनेका थिए, ‘प्रधानमन्त्रीज्यू, एक्लो भएको चिन्ता छाड्नुहोस्, कार्यशैली बदल्नुहोस्। आफ्ना कमजोरीहरू स्वीकार गर्दै सच्याएर अघि बढ्नुस्। तपाईँले कहिल्यै एक्लो अनुभूति गर्नु पर्दैन ।’ बालेनको एक्लो भाष्यको प्रसंगलाई नै जोडेर एमाले उपमहासचिव योगेश भट्टराईले पनि ‘१८२ पार्टीका सांसद, दर्जनभन्दा बढी मन्त्री, लाखौँ सेना, प्रहरी तथा कर्मचारी, सल्लाहकार र सहयोगी हुँदा पनि किन एक्लो महसुस भयो ?’ भन्दै प्रश्न गरेका थिए ।
तर, बालेनको स्टाटसमा ‘एक्लो’ को अर्थ सरकारले राम्रै गर्न खोजेको तर केही प्राविधिक कारणले जनतामा उचित सेवा प्रवाह हुन नसकेको भन्ने बुझाउँछ । यद्यपि संसद्मा भने गलत ढंगले व्याख्या गर्न खोजिए कामको सत्यता प्रमाणित गर्न आफू एक्लै भएपनि लड्ने बालेनको आशय थियो । तर बालेनको उक्त भनाइका कारण रास्वपामा विवाद सृजना भएको हुनसक्ने आम अनुमान पनि स्वभाविक भने छैन । किनकी रास्वपाभित्रै सरकारको कमजोरी औँल्याउनेहरुको कमि छैन । जुन सदनमा समेत देखिसकेको छ ।
तर पनि रास्वपाभित्र बढ्दो कलहको अड्कललाई सभापति रवि लामिछानेले शनिबार दिएको प्रष्टिकरणले चिरिदिएको छ । शनिबार काठमाडौंमै आयोजित नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै रविले सरकार र पार्टीभित्र असझदारी भएको भन्ने हल्लाहरू तथ्यहीन भएको प्रष्ट पारेका छन् । उनले आफ्नो र दलको तर्फबाट सरकारलाई पूरापूर साथ रहेको बताएका छन् ।
रविले सरकारप्रति के–के भने ?
रविले आफूहरूले क्षणिक स्वार्थका लागि राजनीति नगरेको भन्दै अहिले सरकारले दीर्घकालीन योजनाको आधार तय गरिरहेको जिकिर गरे । उनले ४ महिनाकै नतिजालाई हेरेर आत्तिहाल्न नपर्ने भनेका छन् ।
निर्वाचनअघि बालेन शाहसँग समझदारी गरेको विषय स्मरण गर्दै रविले आफूहरूबीच भएको सम्झौता दुई व्यक्तिको मात्रै नभई, भविष्य र इतिहासका लागि समर्पित रहेको दावी गरे । यो सम्झौता सामान्य समस्या आउँदैमा नभुल्ने अठोट दोहोर्याएका रविले अहिलेसम्म सरकार र दलबीच कुनै तिक्तता नरहेको पनि प्रष्ट पारेका छन् ।
पार्टीले सरकारलाई सचेत गराउन जतिखेर पनि ल्याकत राख्ने भन्दै रविले यदि सरकार ट्र्याक बाहिर गए लयमा ल्याउने जिम्मा आफ्नोभएको पनि बताए । यद्यपि यो परिस्थिति अहिले नै आइनसकेको उनको भनाइ छ ।
प्रधानमन्त्रीको कार्यशैली, फितलो सुशासन र डेलिभरीमा देखिएका समस्याका कारण सरकारविरुद्ध सदन र सडकमा आलोचना बढेका छन् । यस्तैमा पार्टी संगठनको संरचनालाई पूर्णता दिने विषयमा पनि रास्वपाभित्र विमति रहेको दाबी गरिन्छ । मुख्यमतः पार्टीकै सांसदहरूबाट सदनमा सरकारको कडा आलोचना बढेपछि सरकार र रास्वपाबीच असझदारी बढ्दै गएको अनुमान गरिएको थियो । तर यो विभिन्न अनुमान र आशंकालाई रविको पछिल्लो प्रष्टिकरणले खारेज गरिदिएको छ ।
