काठमाडौँ । सुधन गुरुङ र मिरज ढुङ्गाना गत भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’का दुई मुख्य अनुहार हुन् । एउटै आन्दोलनले उनीहरूलाई चिनाएको भएपनि त्यसपछि दुवैले रोजेको बाटो भने फरक रह्यो । सुधन गुरुङ आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरे, निर्वाचन जिते र अहिले गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । अर्कोतर्फ, मिरज ढुङ्गानाले भने कुनै राजनीतिक दल रोजेनन्, चुनाव पनि लडेनन् र स्वतन्त्र अभियन्ताकै रूपमा सरकार तथा राजनीतिक दलहरूमाथि निरन्तर खबरदारी गरिरहेका छन् ।
एउटै आन्दोलनबाट उदाएका यी दुई युवाबीच अहिले सार्वजनिक रूपमै वाक्युद्ध सुरु भएको छ । गृहमन्त्री गुरुङले केही जेन–जी अभियन्ताले आन्दोलनको रगत र बलिदानमाथि राजनीति गर्न खोजेको आरोप लगाएपछि मिरज ढुङ्गानाले त्यसको प्रतिवाद गरेका छन् । बिहीबार ‘घाइते जेन–जी नेपाल’को कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले तीन–चार जना जेन–जीहरूले आफूहरूको रगत र बलिदानमाथि राजनीति गर्न खोजेको बताएका थिए ।
त्यसपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मिरज ढुङ्गानाले १०–१२ बोतल पानी बाँडेर सांसद र मन्त्री पद पाउनेले अरूलाई राजनीति गर्न खोजेको भन्न नसुहाउने टिप्पणी गरे । उनले लेखेका छन्– “पानी बाँड्न आन्दोलनमा आएकाहरूले के बुझ्छन् र? आन्दोलन पानी बाँडेर होइन, विचारले हुन्छ । मिरजको त विचार नै काफी रहेछ । पानी नै खान नपाएर सायद कोही आन्दोलनमा आएका थिए र ? फेरि १०–१२ थान पानीका बोतल बाँडेर १–२ थान सांसद र मन्त्री पद पाउनेले अरूलाई राजनीति गर्न खोजेको भन्न सुहाउँदैन ।’
मिराजले आफूलाई पनि सुरुमै रास्वपाले अफर गरेको तर वस्तुस्थिति बुझेर नगएको दाबी गरेका छन् । उनले थप लेखेका छन्– ‘२–३ थान पदको मौका नआएको होइन, सायद यो कुरा पानी बाँड्ने दाइलाई मज्जाले थाहा छ, कसैले बुझ पचाउनु पर्दैन । बस, मैले पहिल्यै घण्टीलाई बुझेर चुपचाप घन्टी छाप मात्रै भन्न सकिनँ ।’
उनी यतिमा मात्रै रोकिएका छैनन् । मिराजले आफूलाई छोएर देखाउन गृहमन्त्री गुरुङलाई चुनौतीसमेत दिएका छन् । उनले लेखेका छन्– ‘कानुनी राज्यमा सरकारको लथालिङ्ग अवस्थालाई सुधार गर भन्दै सुझाव दिँदा चेतावनी दिनेलाई म के चेतावनी दिन चाहन्छु भने छोएर देखाए मानौँला ।’
लोकतान्त्रिक व्यवस्थामा आन्दोलनबाट सत्तामा पुगेका व्यक्तिहरू र आन्दोलनमै रहने अभियन्ताबीच मतभेद हुनु अस्वाभाविक होइन । सत्तामा पुगेपछि जिम्मेवारी फराकिलो हुन्छ । आन्दोलनका बेला गरिएका वाचा कार्यान्वयन गर्न प्रशासनिक प्रक्रिया, कानुनी सीमा र राजनीतिक दबाबको सामना गर्नुपर्छ ।
गृहमन्त्री गुरुङले पनि आफूले चार महिनादेखिको लगातारको आन्दोलनका कारण प्रभावकारी रूपमा काम गर्न नपाएको गुनसो गरेका छन् । उनको दृष्टिकोणबाट हेर्दा निरन्तरको आन्दोलनले नीति निर्माण र कार्यान्वयनमा अवरोध पुर्याएको हुन सक्छ ।
तर अर्कोतर्फ, लोकतन्त्रमा सरकारमाथि निरन्तर निगरानी राख्नु नागरिक समाज र अभियन्ताको दायित्व पनि हो । मिरजले त्यही भूमिकालाई निरन्तरता दिएको देखिन्छ । आन्दोलन सकिएपछि पनि सरकारलाई प्रश्न गर्ने अधिकार आन्दोलनकारीहरूले गुमाउँदैनन् ।
सुधन गुरुङ र मिरज ढुङ्गानाबीचको वाक्युद्ध दुई व्यक्तिको व्यक्तिगत प्रतिस्पर्धाभन्दा पनि ठूलो राजनीतिक सन्देश बोकेको विषय हो । यसले आन्दोलनबाट जन्मिएको पुस्ता अहिले दुई धारमा विभाजित भएको प्रस्ट पार्छ । एउटा धार राज्य सञ्चालनको जिम्मेवारीमा पुगेको छ भने अर्को धार सत्तामाथि निगरानी गर्ने नागरिक अभियानमै अडिएको छ ।
लोकतान्त्रिक व्यवस्थामा दुवै भूमिका उत्तिकै आवश्यक हुन्छन् । सरकारलाई काम गर्ने अनुकूल वातावरण चाहिन्छ भने नागरिकलाई सरकारमाथि प्रश्न गर्ने स्वतन्त्रता पनि हुनुपर्छ । त्यसैले यो विवादलाई व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा आन्दोलनको मूल्य, राजनीतिक उत्तरदायित्व र नयाँ पुस्ताको नेतृत्व कसरी परिपक्व बन्छ भन्ने बहसका रूपमा हेर्नुपर्नेछ । अन्ततः जेन–जी आन्दोलनको सफलता सत्ता प्राप्तिमा होइन, त्यसले उठाएका सुशासन, पारदर्शिता र उत्तरदायित्वका मूल्यहरू व्यवहारमा स्थापित गर्न सकिन्छ कि सकिँदैन भन्ने कुराले निर्धारण गर्नेछ । ०००
