News 24 Television
वालेन्द्रको विपक्षमा रवि पक्षका सांसद, विपक्षी खोज्दैछन– प्रधानमन्त्री

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहलाई खोजियो। प्रतिपक्षीले केहि समय संसदमा विरोध पनि गरे। विपक्षीले सरकारलाई खवरदारी गर्ने परम्परा सामान्य भएपनि सत्ता पक्षकै सांसदले घुमाउरो शैलीमा सरकारमाथि प्रश्न गरिरहेका छन्। सरकारको आलोचना गर्नेमा पार्टी सभापति रवि लामिछाने निकटका सांसदहरु रहेकाले पनि सत्ता सञ्चालन र पार्टी राजनीतिको प्रभाव संसदमा देखिन थालेको छ ।

रास्वपाका सांसद रमेश प्रसाई अधिकांश समय सरकारको पक्षमा कडा बचाउ गर्नेमा पर्छन्। उनले जस्तोसुकै स्थितिमा पनि सरकारको प्रतिरक्षा गरिरहेको सुनिन्थ्यो। तर, उनले संसदमा ग्यास अभावलाई देखाएर सरकारको चर्को आलोचना गरे। उनले किन यसरी सरकारप्रति रोष व्यक्त गरे ? त्यो विषय रोचक देखिन्छ। त्यसपछि रास्वपाकै सांसद टिका संग्रौला ’ज्वाला’ले पनि सरकारको आलोचना आफू रक्षात्मक बनेर गरिदिइन्। 

आफुलाई एकजनाको फोन आएको दाबी गरेकी उनले नागरिकले जीवनभर राज्यलाई कर तिर्ने र मर्दा संकट व्यहोर्ने विषयलाई सरकारले ध्यानमा राख्नुपर्नेमा उनको जोड थियो। जबकी पशुपति आर्यघाटमा हुने अन्त्येष्टीका निम्ति निश्वित कार्यविधि नै निर्माण गरेर गर्ने गरिन्छ। तर, उनले यो विषयलाई संसदमा रोचक ढंगल उठाइन् । 

बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको पक्का हो। जसमा रास्वपाकै सांसद इन्दिरा राना मगरले पनि जोडदार ढंगले सरकारलाई उचित व्यवस्था मिलाउन अपिल गरिन्।

यी रास्वपा सांसदहरुले गरिरहेका सांकेतिक आलोचना हुन्। रास्वपाकै सांसद अमरेशकुमार सिंहले शुरु गरेको सरकारी आलोचना बढ्न थालेको देखिन्छ। जसमा सरकारको आलोचना गर्नेमा प्राय पार्टी सभापति रवि लामिछाने पक्षका नेताहरु नै देखिन्छन्। संसदमा सरकारामाथि प्रश्न गर्ने सांसदहरु रमेश, ज्वाला र इन्दिरा रवि निकटकै हुन्। 

यसरी गरिरहेको आलोचनामा सरकारले भने आफ्नो प्रतिरक्षा गरिरहेको छ। उद्योगमन्त्री  गौरी कुमारीले ग्यास अभाव हुने गरि भ्रम र अफवाह नै फैलाइएको आरोप समेत लगाइन्। पर्याप्त ग्यास आपूर्ति भएको र कुनै समस्या नभएको दाबी गरेकी उनले अनावश्यक हल्लाका कारण यस्तो स्थिति आएको जिकिर गरेकी छन्।

प्रश्नहरु उठिरहेका छन्। राज्य प्रणाली सञ्चालनका ढंगहरु नमिलेकोमा शंका गर्न नसकिने नै भन्न थालिएको छ। रास्वपाकै सांसद मनिष झाले संसदमा उभिएर भनेका छन, नियत ठिक छ, सत्ता सञ्चालनको ढंग मिलेको छैन्। नजानेको कुरा स्वीकार गरेर सिक्नुपर्छ।

मनिषले गरिरहेका प्रश्न मधेसतर्फ पनि सोझिएका छन्। मधेस प्रकरणमा सरकारले गरिरहेको काम असामान्य रहेको जिकिर गरिरहेका छन्। मधेसका बोर्डर र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा किन फरक? मनिषको प्रश्न छ।

मनिषले सवारीमा कालो सिसा हटाएको स्मरण गर्दै अर्को भनेका छन्, कालो चस्मा पनि हटाउनुपर्छ। सत्ता पक्षका सांसदहरुले प्रश्नमात्रै गरिरहेका छैनन्, सरकारलाई जवाफदेही बन्न भन्दै चर्को दबाब सिर्जना गर्न थालेका छन्। यसले रास्वपाभित्रको आन्तरिक राजनीतिमा देखिएको तनावले थप मलजल पाउने खतरा बढ्दो देखिन्छ। 

आन्तरिक किचलोको संकेत

रास्वपाभित्र आन्तरिक तनाव देखिन्छ। रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहको टिमले चिट नै बाँडेर मतदान गर्न आह्वान गरेको आरोप रवि पक्षको छ भने विधानमा छेडखानी गरिएको आरोप वालेन्द्र पक्षको छ। 

यसरी अघि बढेको आन्तरिक संघर्षकाबीच सभापति रवि लामिछानेले भारत भ्रमणपछि गर्न लागेको चीन भ्रमणले पनि वालेन्द्र पक्षमा केहि शंकाहरु देखिन्छन्। सभापतिले चिनियाँ पार्टीको निमन्त्रणामा गर्ने भनेको भ्रमणमा पनि केहि आशंकाहरु देखिन्छन्। सरकारलाई पनि खास जानकारी नदिई रविले अन्तिम समयमा मात्रै जानकारी दिने गरेको भन्दै केहि शंकाहरु उब्जिनु स्वभाविक पनि देखिन्छ। तर, आन्तरिक राजनीति कसरी अघि बढ्छ भन्ने कुराले थप प्रष्ट हुनेछ।  

विपक्षी पनि आक्रामक

संसदमा प्रतिपक्षी सांसदहरुले प्रश्न तेस्र्याउनेमात्रै गरेका छैनन्, उनीहरुले सरकारको नियतमाथि गम्भीर शंका उठाइरहेका छन्। सरकार संसदप्रति जवाफदेही बन्नुपर्ने भनिरहेका छन्।

प्रतिपक्षीले संसदमा प्रधानमन्त्रीलाई जवाफदेही बनाउन रुलिङको माग गर्नेदेखि अनेक प्रश्नहरु गरिरहेका छन्। तर, सरकारले आफ्नो नियमित कामका साथै तीब्र गतिमा काम गरिरहेको दाबी गरेपनि प्रश्न र चासोहरु भने बढ्दै गएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update