News 24 Television
एनआईसी एशिया बैंकको हकप्रद शेयर निष्काशनका लागि एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाउने क्रममा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बैंकले २:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँभन्दा बढीको आधारमा विद्यमान दुई कित्ता साधारण शेयर बराबर एक कित्ता नयाँ साधारण शेयर जारी गर्नेछ। यसअनुसार बैंकले ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्ने योजना बनाएको छ। हकप्रद शेयरको कुल मूल्य करिब ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबर हुनेछ।

बैंकका अनुसार हकप्रद निष्काशनबाट प्राप्त रकम पूँजी संरचना थप सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात मजबुत पार्न तथा दीर्घकालीन व्यावसायिक विस्तार र रणनीतिक योजनाहरू कार्यान्वयनमा उपयोग गरिनेछ। आवश्यक नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा भएपछि निष्काशन कार्य अगाडि बढाइने बैंकले जनाएको छ।

नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्। बैंकले उक्त हकप्रद निष्काशनमार्फत आफ्नो वित्तीय आधार अझ सुदृढ बनाउने अपेक्षा गरेको छ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update