काठमाडौं । एशियन पेन्ट्स नेपालले आयोजना गरेको अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता (Kaleidoscope २०८२–८३) को १३औँ संस्करणको पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न भएको छ।
गत २६ असार २०८३ मा काठमाडौंको ठमेलस्थित एलोफ्ट बाई मेरियटमा आयोजित उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इ. गोपाल प्रसाद सिग्देल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। युवा प्रतिभाहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच र व्यावसायिक क्षमतालाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको यस राष्ट्रिय मञ्चमा देशका प्रतिष्ठित आर्किटेक्ट, इन्जिनियर, सरकारी अधिकारी तथा प्राध्यापकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वरिष्ठ आर्किटेक्टहरू र सहरी विकास तथा भवन निर्माण विभाग (DUDBC) का पदाधिकारी सम्मिलित निष्पक्ष निर्णायक मण्डलको बहु-चरणीय मूल्याङ्कनबाट उत्कृष्ट प्रतिस्पर्धीहरू छनोट गरिएको थियो। जसअन्तर्गत प्रतियोगिताका शीर्ष १२ प्रतिस्पर्धीहरूलाई प्रमाणपत्र तथा शीर्ष ३ विजेताहरूलाई ट्रफी र नगद पुरस्कार प्रदान गरियो।
यस वर्षको प्रतियोगितामा आईओई, थापाथली क्याम्पसका पुरुषोत्तम घिमिरे विजेता (Winner) बन्न सफल हुनुभयो। त्यस्तै, आईओई पूर्वाञ्चल क्याम्पसका सुमन बि.के. प्रथम उपविजेता (1st Runner-Up) र हिमालय कलेज अफ इन्जिनियरिङकी अदिती रिजाल द्वितीय उपविजेता (2nd Runner-Up) घोषित घोषित भए ।
कार्यक्रमको विशेष आकर्षणको रूपमा विजेता डिजाइनको थ्रीडी (3D) मोडेल सार्वजनिक गरिएको थियो। शैक्षिक सिर्जनशीलतालाई वास्तविक विकाससँग जोड्ने एउटा महत्वपूर्ण कडीको रूपमा उक्त विजेता अवधारणात्मक डिजाइनलाई सहरी विकास तथा भवन निर्माण विभाग (DUDBC) समक्ष औपचारिक रूपमा हस्तान्तरण समेत गरियो।
एशियन पेन्ट्स नेपालले शैक्षिक संस्था र उद्योगबीचको सहकार्यलाई सुदृढ बनाउँदै युवा प्रतिभाहरूलाई सशक्त बनाउन यो अभियानलाई निरन्तरता दिँदै आएको छ।
