News 24 Television
रुपन्देहीमा राजश्व संकलन झण्डै लक्ष्य नजिक !

रुपन्देही । भैरहवा भन्सार कार्यालय, रुपन्देहीको राजस्व असुली दरमा सुधार आएको छ । मुलुकको दोस्रो ठूलो भन्सार समेत रहेको कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसके पनि विगतको वर्षमा भन्दा असुली दरमा भने सुधार आएको हो । 

मुलुकको दोस्रो ठूलो भन्सार नाका रहेको रुपन्देहीको बेलहियास्थित भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२\२०८३ मा १ खर्ब ५ अर्ब २ करोड राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ९२.४० प्रतिशत हुन्छ । 

भन्सार विभागले गत आर्थिक वर्ष कार्यालयलाई १ खर्ब १३ अर्ब ६६ करोड लक्ष्य तोकेको थियो । कार्यालयका अनुसार अघिल्लो वर्ष भन्दा असुली दरमा सुधार भई १०.३३ प्रतिशतले बृद्धि भएको छ । यद्यपि लक्ष्य भने पुग्न सकेन । भन्सारले गत वर्षको असोज महिना बाहेक अन्य महिनामा लक्ष्य पूरा गर्न नसकेको तथ्यांकले देखाउँछ । 

भन्सार कार्यालयका अनुसार चालु वर्षमा सबैभन्दा बढी मोटरसाइकलबाट राजस्व संकलन बढी भएको छ । कार्यालयका अनुसार सबै प्रकारका मोटरसाइकल आयात हुँदा २१ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

यस्तै, जीप, कार र भ्यानबाट १३ अर्ब ९६ करोड, सिंगल÷डबल क्याप पिकअप गाडीबाट ४ अर्ब १८ करोड, पेट्रोलबाट ४ अर्ब १२ करोड, शुद्ध फलामबाट २ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । 

यस्तै, एलपी ग्यासबाट १ अर्ब ६१ करोड, मोबाइल टेलिफोनबाट १ अर्ब ६० करोड, एमएस बिलेटबाट १ अर्ब ५७ करोड ९५ लाख, सुपारीबाट १ अर्ब ५७ करोड र कोइलाबाट १ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । भन्सार कार्यालयका अनुसार यी वस्तुले मात्रै राजस्व संकलनमा करिब ५२ प्रतिशत योगदान दिएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष टायल, विद्युतीय गाडी, चकलेट, चामल, विटुमिन, आलु, सुती कपडा लगायतको आयत घटेको भन्सारले जनाएको छ । 

कार्यालयका अनुसार २०८२\२०८३ मा ३ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ मूल्यका विभिन्न वस्तु भैरहवा नाका हुँदै आयात भएका छन् । यो मूल्य अघिल्लो आर्थिक वर्ष २०८१\२०८२ भन्दा १५.२८ प्रतिशतले बढी हो । बेलहिया नाका हुँदै आयात हुने ९९ प्रतिशत भन्दा बढी सामान भारतबाटै आयात हुन्छ । यसपटक चोरी पैठारीमा गरिएको कडाईले पनि राजस्व असुली दर केही सुधार भएको भन्सारले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update