काठमाडौं । नेपालको अग्रणी फुटवेयर उत्पादक गोल्डस्टार स्ट्राइड लिमिटेड र गोल्डस्टार जापान कम्पनी लिमिटेड बीच जापानी बजारमा गोल्डस्टार ब्रान्डको दीर्घकालीन विस्तार, बजार व्यवस्थापन तथा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि रणनीतिक साझेदारी सम्पन्न भएको छ।
सम्झौतामा गोल्डस्टार स्ट्राइड लिमिटेडका अध्यक्ष श्री अमिर प्रताप ज.ब. राणा तथा गोल्डस्टार जापान कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कावाशिमा मिजुकी ले हस्ताक्षर गर्नुभएको हो। कार्यक्रममा गोल्डस्टार जापान कम्पनी लिमिटेडका निर्देशक श्री कोबायाशी काजुयुकी लगायत दुवै कम्पनीका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यस रणनीतिक साझेदारीअघि गोल्डस्टार जापान कम्पनी लिमिटेडका प्रतिनिधिहरूले तीन पटक नेपाल भ्रमण गरी गोल्डस्टारका तीनवटै उत्पादन केन्द्रहरूको विस्तृत अवलोकन गरेका थिए। भ्रमणका क्रममा उनीहरूले उत्पादन प्रक्रिया, अत्याधुनिक मेसिनरी, गुणस्तर नियन्त्रण प्रणाली तथा दक्ष नेपाली जनशक्तिको सूक्ष्म मूल्याङ्कन गरेका थिए। गुणस्तरप्रति विश्वमै उच्च मापदण्ड अपनाउने जापानी बजारका आवश्यकताअनुरूप गोल्डस्टारका उत्पादन, उत्पादन प्रक्रिया र गुणस्तर व्यवस्थापन प्रणालीबाट पूर्ण रूपमा प्रभावित भएपछि मात्र यस दीर्घकालीन रणनीतिक साझेदारीमा सहमति भएको हो।
यस सहकार्यमार्फत जापानी बजारको आवश्यकता अनुरूप उच्च गुणस्तरका फुटवेयर उत्पादन, आधिकारिक वितरण प्रणाली, ब्रान्ड विकास, बजार विस्तार तथा ग्राहक सेवामा सहकार्य गरिनेछ। यसले गोल्डस्टारलाई जापानमा अझ सशक्त, विश्वसनीय तथा दीर्घकालीन अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
यस अवसरमा गोल्डस्टार स्ट्राइड लिमिटेडका अध्यक्ष श्री अमिर प्रताप ज.ब. राणा ले भन्नुभयो, “गोल्डस्टार केवल एउटा जुत्ताको ब्रान्ड मात्र होइन, यो नेपाली उद्योग, नेपाली सीप, श्रम, गुणस्तर र आत्मविश्वासको प्रतिनिधित्व गर्ने राष्ट्रिय पहिचान हो। जापानसँगको यो रणनीतिक साझेदारीले ‘Made in Nepal’ उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा अझ सशक्त रूपमा स्थापित गर्दै नेपाली उत्पादनको विश्वसनीयता र प्रतिस्पर्धात्मकतालाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएका छौँ।”
त्यसैगरी, गोल्डस्टार जापान कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कावाशिमा मिजुकी ले भन्नुभयो, “जापानी उपभोक्ताले गुणस्तर, विश्वास र दीर्घकालीन मूल्यलाई सर्वोच्च प्राथमिकता दिन्छन्। गोल्डस्टारसँगको यस सहकार्यमार्फत हामी जापानी बजारमा उत्कृष्ट गुणस्तरका उत्पादन उपलब्ध गराउनुका साथै नेपाल र जापानबीचको व्यावसायिक सम्बन्धलाई अझ सुदृढ र दीर्घकालीन बनाउनेछौँ।”
गोल्डस्टारले पाँच दशकभन्दा बढी समयदेखि नेपालको उत्पादनमूलक उद्योगको अग्रपङ्क्तिमा रही हजारौँ नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यो रणनीतिक साझेदारीले नेपालको निर्यात प्रवर्द्धन, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, प्रविधि तथा ज्ञान हस्तान्तरण र नेपाल–जापानबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
“Made in Nepal, Trusted Worldwide” भन्ने आफ्नो दीर्घकालीन दृष्टिकोणलाई आत्मसात् गर्दै गोल्डस्टार स्ट्राइड लिमिटेड र गोल्डस्टार जापान कम्पनी लिमिटेडले नेपाली उत्पादनलाई विश्व बजारमा अझ प्रतिष्ठित, प्रतिस्पर्धी र विश्वसनीय ब्रान्डका रूपमा स्थापित गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेका छन्। यो साझेदारी केवल दुई कम्पनीबीचको व्यावसायिक सहकार्य मात्र नभई नेपाल–जापानबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय विस्तारलाई नयाँ गति दिने तथा विश्व बजारमा नेपालको उत्पादन क्षमताको नयाँ परिचय स्थापित गर्ने दिशामा एक महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ।


